कर्जा लिँदा ब्याज मात्रै होइन शुल्कबारे पनि सचेत हुनुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ । कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो ।

शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेकाको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंकको भनाइ छ ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाले तोकिएको बाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । साथै कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे जानकारी हासिल गरेरमात्र कर्जा लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् ।

सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए ।

बैंकले जनताको पैसा उठाएर जनतामा परिचालन नगर्दा विभिन्न समस्या आइरहेको बताउँदै उनले सुदखोर र लघुवित्तले जनताको जमिन पास गरेर लिएको र अझै ऋण तिरिनसकेको भन्दै मिटरब्याज लिइरहेकाले गम्भीर हुनुपर्ने दोहो¥याए । अर्का सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सिरहाबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरे ।

‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह छु,’ उनले भने, ‘मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुप¥यो ।’ जारी बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्