मौसम परिवर्तनसँगै कोरोना संक्रमित बढे, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल



काठमाडौं । 

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसले विश्व व्यापी रूपमा महामारी नै फैलायो । अझै पनि कोरोनाको त्रास हटेको छैन ।

सुरुदेखि नै कोरोनाले रूप परिवर्तन गर्दै आएको छ । विश्वमै स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, मानसिक रूपमा ठुलो क्षति पुर्‍याउने गरी फैलिएको कोभिडबाट कुनै पनि देश अछुतो रहन सकेन ।

नेपाल पनि कोभिड १९ को महामारीका कारण चरम आर्थिक संकटमा परेको छ । नेपालमा पहिलो पटक विक्रम संवत् २०७६ माघ ९ गते चीनबाट नेपाल आएका एक युवा विद्यार्थीमा देखिएको कोभिड १९ बाट पहिलो व्यक्ति अन्योलको अवस्थामा अस्पताल बस्दा अस्पतालबाटै भागेका थिए । कोभिड १९ विश्वकै लागि नयाँ प्रकृतिको रोग भएको र नेपालमा थप त्रासको अवस्था सृजना हुँदा सुरु सुरुमा कोभिडको आसंका लागेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अन्योलको अवस्था थियो ।

चीनमा कोभिड १९ सुरु हुँदा नेपाल लगायत थुप्रै मुलुकले आफ्ना मुलुकमा त्यो रोग फैलन सक्ने विषयमा सोचेका सम्म थिएनन् । एकाएक विभिन्न देशमा कोभिड १९ को भाइरस फैलिएसँगै नेपाल पनि अछुतो रहन सकेन । चीन र भारतमा कोभिड १९ का बिरामी बढेसँगै नेपालमा पनि भारतीय भूमिमा रोजगारीका लागि गएका व्यक्तिहरू धमाधम काम छोडेर घर फर्किए । अन्य मुलुकबाट पनि नेपाल फर्किए । भारतले लकडाउनको घोषणा गरेसँगै २०७६ चैत्र ११ गते देखि नेपालमा पनि अनिश्चित कालीन लकडाउन (घर बाहिर सम्म निस्कन नपाउने) गरी बन्द भयो ।

पहिलो लकडाउनको आम नेपालीले पूर्ण रूपमा पालना गरे । विना पूर्व तयारी लकडाउन गर्दा सहर बजारमा काम गर्ने नेपालीहरूले आफ्ना घर, गाउँ फर्कन नै कठिन अवस्था सृजना भयो । धेरै नेपालीले हप्तौँ पैदल यात्रा गरेर गाउँ फर्किए । केही महिना गाउँघरमा बाझिएका खेतबारीमा काम गरे, घरमा जो भएको खाना खाए केही दुःख र केही रमाइलो नै भयो । जब घरको जगेडा खाद्यान्न र पैसा सकियो गाउँ फर्किएका नेपाली कामका लागि सहर आउन बाध्य भए ।

यो अवधिमा स्वास्थ्य समस्या भन्दा बढी सामाजिक, आर्थिक र मानसिक समस्याको मार खेप्न नेपाली नागरिक बाध्य भए । स्वास्थ्यकर्मीहरुले घर  तथा डेरामा फर्कनै कठिन भयो । अन्य कर्मचारीहरूको पनि हालत त्यस्तै भयो । सरकारले राजश्व उठाउनका लागि केही दिन लकडाउन खोलेको मौका छोपी गाउँ पुगेका व्यक्तिहरू काठमाडौँ लगायतका सहर फर्किए । दोस्रो लहरको कोभिड यति नै बेला फैलियो ।

यति बेला फेरि लकडाउन गर्ने निर्णयमा सरकार पुग्यो । कोभिडका बिरामी बढ्दै गए । झन्डै एक वर्षको दौरानमा २०७७ माघ १४ गते भारत सरकारको सहयोगमा कोरोना विरुद्धको खोप नेपालमा भित्रियो । खोप लगाउने पहिलो चरणमा स्वास्थ्यकर्मी, राजनीतिज्ञ, पत्रकार, कुटनैनिक नियोग, जेष्ट नागरिक तोकिए ।

विश्वका वैज्ञानिकहरूले यति छोटो समयमा कोरोना विरुद्धको खोप पत्ता लगाई चरणबद्ध रूपमा परीक्षण गरी मानवमा लगाउन स्वीकृति पायो । नेपालमा यसरी खोप लगाउने बाटो खोल्नका लागि नेपाल सरकारले आपतकालिन अवस्थामा मानव जीवनको अस्तित्व बचाउनका लागि खोप लगाउने निर्णय मन्त्री परिषद्बाट गरेर खोप भित्र्यायो ।

यो ऐतिहासिक र कठिन घडीमा निकास निकाल्दै नागरिक सामु कोरोना विरुद्धको खोप निःशुल्क र शःशुल्क भित्र्याई आम नागरिकलाई निःशुल्क लगाउने निर्णय गर्‍यो । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरेको यो निकै महत्पूर्ण निर्णय थियो ।

  झन्डै ४ वर्षको कोभिडको महामारी र  राजनैतिक उतार चढावले गर्दा देशमा यति बेला चरम आर्थिक मन्दी सृजना भएको छ । यो अवधिमा सरकारले धेरै आलोचना पनि खेप्नु परेको थियो । यता देशमा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनका साथै तेस्रो राष्ट्रपति तथा उपराष्ट्रपति समेत  गरी ३ वटा प्रत्यक्ष निर्वाचन सम्पन्न गर्दा सम्म देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको छ ।

यति नै बेला पुनः कोभिड १९ का सङ्क्रमितको संख्या बढ्नुले आम नेपालीमा फेरि पहिलाकै अवस्था आउने त हैन भन्ने त्रासको स्थिति सृजना भएको छ । यता सरकारले यस विषयमा खासै चासो दिएर जनस्वास्थ्यका विषयमा नयाँ सचेतना मूलक सन्देशहरू प्रवाह गर्न सकेको पाइन्न । नागरिकहरू स्वास्थ्य सुरक्षा अपनाउने विषयमा त्यति सचेत भएको पाइन्न । यसले हिजोका दिनमा जस्तै कोभिड १९ को महामारी पुनः नफैलियोस् ।

चीनमा सन् २०१९ मा पहिलो पटक देखा परेको कोभिड १९ नेपालमा सन् २०२० फेब्रुवरीमा पहिलो केश हुँदै मार्चमा पुग्दा लकडाउनकै स्थिति आयो । क्रमश सन् २०२१ मा पुग्दा गम्भीर प्रकृतिका रोग लागेका व्यक्ति र स्वेच्छा खोप लगाउन नचाहने व्यक्ति बाहेक १२ वर्ष माथिका नागरिकलाई कोभिड विरुद्धको पूर्ण खोप लगाउने कार्य सम्पन्न भयो ।

खोप लगाएका कारण कोभिड भए पनि गम्भीर प्रकृतिका समस्यामा कमी आयो । सन् २०२२ मा पुग्दा ५ वर्ष माथिका सबै बालबालिकामा पनि कोभिड विरुद्धको खोप लगाइयो र थप सुरक्षाको नीति अपनाउने कार्य भयो ।  तर कोभिड १९ भने निभूर्ल भै नसकेको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनले अपिल गरिनै रहेको अवस्था छ । यो वर्ष पनि पछिल्लो एक साता देखि कोभिड सङ्क्रमितको संख्या वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको जस्तो लक्षण मिल्ने समस्या भएमा नागरिकले साधारण रुघाखोकी भनेर नबस्न र समयमै परीक्षण गराउन अपिल गरेको छ ।  कोभिड १९ को पूर्ण खोप लगाएका तर अतिरिक्त (बुस्टर डोज ) खोप नलगाएका जेष्ठ नागरिकलाई पुन: बुस्टर डोज खोप लगाउन पनि सरकारले आव्हान गरेको छ ।

गत बर्ष स्थानीय चुनावको समयमा धेरै मानिसले स्वास्थ्य परीक्षण नगरेका कारण कोभिड सङ्क्रमितको संख्या देखिएको थिएन भने यो वर्ष कोभिड संक्रमित कमै भएकोमा एक साता देखि पुनः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । सुरुका दिन देखिनै गर्मी मौसमसँगै बढ्दै गएको कोभिड यो वर्ष पनि मौसम परिवर्तनसँगै बढेको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्