अतिवादी एवं पृथकतावादी सोचले गम्भीर सुरक्षा चुनौती खडा : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकार गर्नुभएको छ । नेपाली सेनाले शिवपुरीमा सञ्चालन गरेको राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामथ्र्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नुपरिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामथ्र्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोचले गम्भीर सुरक्षा चुनौती खडा गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिलगायतका चुनौतीको एकसाथ सामना गर्नुपरेको बताउनुभयो ।

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा स्थिति महाशक्ति राष्ट्रको सुरक्षा स्वार्थ एवं टकरावका कारण थप अनिश्चित, जटिल र तरल हुँदै गएको उल्लेख गर्दै यस प्रकारका टकरावले साना विकासशील राष्ट्रको सुरक्षा तथा समुन्नतिमा असर पर्ने बताउनुभयो ।

राष्ट्रिय सुरक्षालाई प्रतिकूल असल पर्ने सम्भावित खतराको पहिचान र उक्त खतराबाट हुन सक्ने चुनौतीलाई यथोचित ढंगबाट सम्बोधन गर्न यस प्रकारका तालिमले सहयोग पु¥याउने उहाँले बताउनुभयो । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम मंगलबार समापन भएको हो ।

तालिममा मन्त्रालय, सुरक्षा निकाय, सार्वजनिक संस्था र गैरसरकारी संस्थाबाट २७ जना सहभागी भएका थिए । तालिममा परराष्ट्र, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिको सहभागिता थियो ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको चुनौतीलाई सूक्ष्मरूपमा अध्ययन गरी सामूहिक रूपमा समस्या समाधान पहिचान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सेनाले जनाएको छ । तालिमका क्रममा विभिन्न विषयका विज्ञलाई विषयगत रूपमा कक्षा सञ्चालन र छलफलमार्फत ज्ञानको दायरा विस्तार गरिएको छ ।

परम्परागत चुनौतीको अलवा वातावरण, ऊर्जा, खाद्यान्न, साइबर तथा मानव सभ्यताका सुरक्षासम्बन्धी विषय पनि थप चुनौतीका रूपमा प्रस्तुत भइरहेको परिस्थितिमा यस्ता खतराको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा दीर्घकालीन प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सुरक्षाका विविध आयामबारे छलफल गरी राष्ट्रिय स्वार्थ तथा अन्तरनिहीत हितलाई प्रवद्र्धन गर्न ताजा अवधारणा तय गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष उपरथि सन्तोषकुमार ढकालले तालिमबाट सहभागीबीच राष्ट्रिय सुरक्षाको विषयमा साझा बुझाइको विकास हुनाका साथै नयाँ शिराबाट सोच तथा विचार गरी सोसम्बन्धी तथ्यपरक दृष्टिकोण विकास गर्ने अवसर मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्