प्रतीक्षारत नागरिक र उदासीन सरकार



सन् १९३९ देखि शुरु भएको दोस्रो विश्वयुद्ध चल्दै थियो । यसै बीच अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अणु बम खसालेर ती दुई शहरलाई ध्वस्त बनाइदियो । त्यस क्रममा त्यहाँ बसोबास गरेकामध्ये २ लाख १४ हजार मानिस मारिएको अनुमान छ । अङ्गभङ्ग भएर कष्टप्रद जीवन बिताउन बाध्य हुनेहरूको र भौतिक नोक्सानीको हिसाबकिताब छुट्टै ! आधुनिक मानव सभ्यतामै कलङ्क लगाउने गरी भएको त्यस्तो अत्यन्त क्रूर र अमानवीय कारबाहीका अगाडि जापानसँग आत्मसमर्पण गर्नुबाहेक अर्को उपाय थिएन । अमेरिकाका अगाडि जापान अब रक्तपिपासु सिंहद्वारा अधमरो बनाइएको मृगजस्तो– ‘शान्तिपे्रमी राष्ट्र’ बन्न बाध्य भयो । फलस्वरूप सन् १९४६ मा जापानमा अमेरिकी सेना तैनाथ भई जनरल डग्लस म्याकआर्थरको नेतृत्वमा जारी भएको संविधानमा स्थल सेना, जल सेना र वायु सेना राख्न नपाउने व्यवस्था गरियो । जापानमाथि गरिएको शब्दमा बयान गर्न नसकिने उक्त अमेरिकी अपराधलाई, अमेरिकी प्रवृत्ति एवं चरित्र पुष्टि गर्ने एउटा प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ ।

त्यसयताका दिनहरूमा पनि आफ्नो स्वार्थका लागि प्राकृतिक सम्पन्नता भएको देश कब्जा गर्न अघि सर्ने, विभिन्न देशमा युद्ध थोपरेर जनता मार्ने, विभिन्न देशका आफू विरोधी नेताहरूलाई सिध्याउने देशका रूपमा पनि अमेरिका संसारकै कुख्यात छ । त्यसैले कुनै पनि देशका सचेत र देशभक्त नागरिकले अमेरिकालाई ‘अत्याचारी’, ‘साम्राज्यवादी’, ‘आतङ्ककारी’ नाम दिएर घृणा र निन्दा गर्छन् । त्यो देशमा अझै पनि जातिभेद, रङ्गभेद छँदै छ । त्यहाँ हरेक दिन गोलीकाण्ड हुँदा धेरै निर्दोष मानिस मारिन्छन् । तर के गर्नु ! अवस्था यस्तो भए पनि संसारका धेरै मानिसका लागि प्यारो गन्तव्य स्थल अमेरिका नै बनेको छ । हाम्रै देशको सन्दर्भमा कुरा गर्ने हो भने पनि, बाहिर–बाहिर साम्राज्यवादी भनेर अमेरिकाको निन्दा गर्नेहरू पनि भित्रभित्र चाहिँ मौका मिलेसम्म उतै जान चाहन्छन् । आफ्ना सन्तानलाई उतै पठाएका छन् । अमेरिका जानका लागि भिसाको पर्खाइमा रहेकाहरूको लाइन धेरै लामो रहेको बताइन्छ । जे होस्, डिभी भरेर होस् वा अवैधरूपमै प्रवेश गरेर होस्, अमेरिका गएकाहरू धेरै छन् । जान चाहनेहरू पनि घटेका छैनन् । संसारका अन्य देशमा बस्ने तथा काम गर्नेहरूको पनि अन्तिम रोजाइ अमेरिका नै देखिन्छ । अमेरिकाको निन्दा गर्ने देशका नागरिकको सरकार, त्यही देशले विभिन्न क्षेत्रमा उपलब्ध गराएको सहयोग स्वीकार्छन् । निरुपाय जनता त्यही सहयोगबाट लाभान्वित हुन्छन् ।

संयुक्त राज्य अमेरिका आज समृद्ध छ । जानकारहरू भन्छन्– त्यसको कारण एकातिर अफ्रिकी दासहरूको शोषण र अर्कोतिर दक्षिण अमेरिका र विश्वका विभिन्न देशका स्रोत–साधनको दोहनको परिणाम हो । तर आज संसारकै शक्तिशाली र आकर्षणको केन्द्र बनेको अमेरिकाको अवस्था, ंसय वर्षअघिसम्म ज्यादै दयनीय थियो । त्यहाँका मानिसले धेरै दुःख पाएका थिए । तिनीहरू माटो र घाँसले बनेका घरमा बस्थे । त्यस्ता घरहरू अहिले पनि क्यान्सस, आयोवा, कोलोराडो, साउथ डकोटा, मिनेसोटा, विस्कनसिन, नेब्रास्काजस्ता राज्यमा संरक्षण गरेर राखिएका छँदै छन् । तर आफ्नो प्रगतिका लागि अमेरिकीहरूले स्रोतको प्रचुरतालाई ध्यान दिई समय र श्रमलाई विशेष महत्व दिन थाले । हरेस नखाईकन आफ्नो जीवन सुखमय बनाउन प्रयासरत रहे । बिस्तारै नयाँ–नयाँ वस्तुको आविष्कार भयो । प्रविधिको व्यापक प्रयोग गर्न थालियो । यसरी आजको सम्पन्न अमेरिका छिट्टै र सजिलै बनेको होइन । यस क्रममा उनीहरूले एक से एक श्रमका पूजारी नेताको नेतृत्व पाए । तीमध्ये एकजना उल्लेख्य नेता हुन् अब्राहम लिङ्कन । एकैछिन् उनकै कुरा गर्दा असान्दर्भिक नहोला ।

अत्यन्त गरिब परिवारमा जन्मेका लिङ्कनले बाल्यकालमा धेरै दुःख पाएका थिए । खेतबारीमा काम गर्नुपर्ने बाध्यताका कारण उनले नियमित विद्यालय जान पनि पाएनन् । अति नै श्रम गर्दा पनि हरेक काममा उनी असफलता प्राप्त गर्थे । तर कोशिश जारी राख्न उनले कहिल्यै छोडेछन् । बढी श्रम, असफलता र दुःखबाट उनी झन्–झन् बलिया, परिश्रमी र आत्मविश्वासी बन्दै गए । उनको श्रमप्रतिको लगाव, इमानदारी, अध्ययनशील बानी, कठोर सङ्घर्ष र सादा जीवनका बारेमा धेरै त्यस्ता प्रसङ्गहरू छन् जसले हामीलाई प्रेरणा दिन्छन् । पढ्न पाइने लोभमा एकताका उनी धेरै किताब भएको वकिलका घरमा घरेलु कामदारका रूपमा बसेका थिए । उनले सडकको पोलबत्तीका माध्यमबाट पढेको कुरा सम्झँदा धेरैको आँखामा आँसु आउन सक्छ । सानैदेखि उनमा भएका यस्तै गुणका कारण उनी पछि गएर अमेरिकाका सोह्रौँ राष्ट्रपति बन्न सफल भए ।

कतिलाई थाहा नहुन पनि सक्छ, लिङ्कनका पिता जुत्ता बनाउने गर्थे । लिङ्कन राष्ट्रपतिमा चुनिएपछि अमेरिकी कुलीन वर्गलाई पीडादायी ठेस लागेझैँ भयो । सिनेटसमक्ष राष्ट्रपतिका रूपमा जब उनी पहिलो भाषण दिन उभिए, एकजना सिनेटरले उनलाई बोल्नै नदिई ठूलो स्वरले भने, ‘मिस्टर लिङ्कन ! राम्ररी सम्झ, तिम्रा पिताले मेरो र मेरा परिवारका सबै सदस्यको जुत्ता बनाउने काम गर्थे ।’

सिनेटरहरूमध्ये धेरैजसो सम्पन्न परिवारका थिए । उक्त कुराले सिनेटमा निकैबेरसम्म उपहासको हाँसो गुञ्जियो । तर लिङ्कनले एकरत्ति पनि नहडबडाईकन तत्काल भने, ‘तपाईंले एकदम सही भन्नुभयो माननीयज्यू ! हो त, मेरा पिता जुत्ता बनाउनुहुन्थ्यो । तपाईं र तपाईंका परिवारका सदस्यहरूको मात्र होइन, यहाँ बस्नुभएकाहरूमध्ये धेरै माननीयहरूको जुत्ता उहाँले नै बनाउनुभएको होला ! उहाँ साह्रै ध्यान दिएर जुत्ता बनाउनुहुन्थ्यो । उहाँले तयार गर्नुभएको जुत्तालाई लिएर अहिलेसम्म कसैले पनि गुनासो गरेको मलाई थाहा छैन । के तपाईंहरूमध्ये कसैलाई केही गुनासो छ उहाँको कामप्रति ? म उहाँको छोरा हुँ । म पनि जुत्ता बनाउन जान्दछु । मेरा बुबाले बनाएका जुत्तामा कुनै कमजोरी भए मलाई भन्नुस् ! ती उध्रेफाटेका भए म मर्मत गरिदिउँला । तपाईंहरूले खिल्ली उडाउनुभए पनि मलाई उहाँको कामप्रति अति नै गर्व छ । के काम कुनै ठूलो र सानो हुन्छ ?

लिङ्कनको एकदमै सही र तार्किक कुराले सिनेट स्तब्ध भयो । उनको त्यो भाषण अमेरिकी सिनेटको इतिहासमा सबैभन्दा उत्कृष्ट मानिन्छ । सोही ओजपूर्ण भाषणबाट एउटा ‘थ्योरी’ नै बनाइयो– ‘डिग्निटी अभ लेबर’ अर्थात् ‘श्रमको मर्यादा’ । उक्त कुराको यस्तो असर भयो कि, अमेरिकामा जति पनि मजदुर थिए, उनीहरूले श्रमलाई उच्च महत्व दिँदै आफ्नो पेसालाई ‘सरनेम’ (थर) नै बनाए । जस्तै– कोब्लर, सुमेकर, बुचर, टेलर, स्मिथ, कारपेन्टर आदि ।

लिङ्कन राष्ट्रपति भएको बेला उनले आफ्नो छोरा पढ्ने विद्यालयका शिक्षकलाई विशेष गरी आफ्नो छोराले श्रमको महत्व बुझोस् भन्ने विषयमा लेखेको पत्र अहिले पनि विश्वव्यापी प्रेरणाको स्रोत बनेको छ । त्यस्तै उनी राष्ट्रपति भएकै बेलामा कुनै ठाउँमा चारजना मजदुरहरूलाई एउटा मेसिन उचालेर गाडीमा राख्न सकस भइरहेको देखेर उनी गएर मद्दत गरेको अनि त्यस कामबाट त्यहाँका उच्च कर्मचारीहरू लज्जित र नतमस्तक भएको प्रसङ्ग पनि उल्लेखनीय छ ।

अमेरिकामा आज पनि श्रमलाई ज्यादै महत्व दिइन्छ । त्यहाँको जीवनलाई घडीको सुईसँग तुलना गरिन्छ । उमेरमा बूढो भए पनि त्यहाँ काम गर्नै पर्छ । काम नगरी कोही पनि टिक्न सक्दैनन् । उच्च ओहदामा रहेर काम गरेकाहरू पनि पदमुक्त भएपछि काममा फर्कन्छन् । उनीहरूको जीवनशैली सादा हुन्छ । हरेक नेताले देशको हितमा राखेर काम गर्छन् । देशलाई कसरी राम्रो र आकर्षक बनाउने उनीहरूको चिन्तन हुन्छ । सन् १९८१ देखि १९८९ सम्म चालीसौं राष्ट्रपतिको रूपमा दुई कार्यकाल सम्हालेका रोनाल्ड रेगनले एउटा भाषणमा भनेका रहेछन्– ‘हामीले अमेरिकालाई त्यस्तो जून बनाउनुपर्ने छ, जुन जूनलाई हेर्नका लागि संसारभरिका मानिसहरू जहिले पनि एकटक उभिनेछन् ।’

राष्ट्रप्रेम, श्रम र समयको महत्व दिने व्यवस्था भएकै कारण अमेरिका, ‘अमेरिका’ बनेको हो ! साम्राज्यवादी राष्ट्र वा पूँजीवादी मुलुक भनिए पनि त्यहाँ राष्ट्रपतिदेखि सामान्य नागरिकसम्म सबैका लागि समान नियम–कानुन लागू हुन्छ । कामलाई सानो–ठूलो भनेर भेदभाव गरिँदैन । हरेक कुरा सिस्टममा चल्छ । अमेरिकामा यस्तै राम्रा कुरा भएर नै त्यहाँको खटाइ–दुःख पनि सहेर बसेका हुन सक्छन् नेपालीलगायत अन्य देशका नागरिकहरू ।

अमेरिकापछि दोस्रो, तेस्रो धनी राष्ट्रका रूपमा आउने चीन र जापानमा पनि समय र श्रमलाई ज्यादै महत्व दिइन्छ । ती देशका विद्यालयमा सानै कक्षादेखि प्राविधिक र व्यावसायिक शिक्षा प्रणाली लागू गरिएको छ । तर यो कुरा हाम्रो राजनीति र शिक्षा प्रणालीले राम्ररी बुझेजस्तो लाग्दैन । बुझोस् पनि कसरी ? यहाँ संविधानमै, ‘…समतामूलक समाजको निर्माण गर्ने …’, ‘…समाजवादप्रति प्रतिबद्ध रही…’ जस्ता मीठा–मीठा वाक्यांश लेखिए पनि राज्य सञ्चालन गर्ने नीति, ‘राजनीति’ नै बिग्रिएर संस्थागत भ्रष्टाचार र ‘सबभन्दा आकर्षक कमाउ पेसा’मा रूपान्तरण भएको छ । नेता हुन् वा कर्मचारी, ठूलो पदमा पुग्नासाथ टन्न मोटाएर शानमानमा सजिने, ऐसआराममा देखिने र सुविधामा डुब्ने चलन छ ।

हाम्रो शैक्षिक नीतिमै श्रमलाई उच्च महत्व दिन सकिएको छैन । शैक्षिक पाठ्यक्रममै, व्यावहारिक ज्ञान दिलाउने स्थलगत सक्रियताभन्दा सैद्धान्तिक ज्ञानको भारी बोकाउने कक्षाकोठे ज्ञानमा जोड दिइएको पाइन्छ । माटो नछोईकन कृषिविज्ञ बन्ने, वर्कसपमा काम नगरीकनै इन्जिनियर बन्ने, शहरमा पढेर ग्रामीण विकास विषयमा उच्च शिक्षा हासिल गर्नेहरू प्रशस्त पाइन्छन् यहाँ । यस्तो शैक्षिक प्रणालीले देश कसरी उँभो लाग्छ ? त्यसैले प्राकृतिकरूपमा सम्पन्न भईकन पनि विकासमा पछि परेको यो देशलाई अगाडि लैजान व्यावहारिक शिक्षामा जोड दिइनुपर्छ । विद्यालयमा पढाइ हुने हरेक विषयका लागि कक्षाकोठामा दिइने समयभन्दा श्रम र माटोको कार्यस्थलमा दिइने समय बढी हुने गरी व्यवस्था मिलाइनुपर्छ । अन्य देशमा जनशक्ति पठाउनका लागि श्रम सम्झौता गर्दै जाने होइन, कठोर आत्मनिर्भर नीति ल्याएर यहीँको माटोमा श्रम पोख्ने र यहीँका स्रोत–साधनको उपयोग गर्ने वातावरण बनाउन कसैले पनि रोकेको छैन । तर यसतर्फ सोच्न हाम्रो सरकारले कहिले समय पाउला ? कहिले बुद्धि आउला ? हामीले कतिन्जेल प्रतीक्षा गर्ने ?

प्रतिक्रिया दिनुहोस्