गर्मी याममा कामपाको आग्रह- घरघरमा फायर ‘फायर स्टिङगुइसर’ राखौं



काठमाडौं । काठमाडौं महानगरपालिकाले गर्मीयाम शुरू भएसँगै आगलागीको घटनाबाट जोगिन घरघरमा फायर स्टिङगुइसर राख्न आग्रह गरेको छ । विशेष गरी भान्सामा प्रयोग हुने एलपी ग्यास चुहेर र विद्युत् सर्ट भएर आगलागीका घटना हुने गरेका छन् । यस्ता आगलागीका घटनालाई नियन्त्रण गर्न कामपाले महानगरवासीलाई फायर स्टिङगुइसर राख्न आग्रह गरेको हो ।

कामपा विपद् व्यवस्थापन विभागका निर्देशक नवराज थापाले सामान्य आगलागीका घटनालाई नियन्त्रण गर्न घरघरमा फायर स्टिङगुइसर राख्नुपर्नेमा जोड दिनुभयो ।

विभागले गएको वर्षदेखि वडाको सिफासिरमा महानगरवासीलाई निःशुल्क रूपमा फायर इस्टिङगुइसर वितरण गरिरहेको छ । अघिल्लो विभागीय प्रमुख रविनमान श्रेष्ठले दुई महिना अघिसम्म करिब ३ सयको हाराहारीमा फायर स्टिङगुइसर वितरण गरिएको जानकारी दिनुभयो ।

विभागले विद्यालय, समुदाय, क्लब, टोल र व्यक्तिलाई समेत फायर स्टिङगुइसर दिने गरेको छ । पछिल्लो एक महिनामा थप सय वटा फायर स्टिङगुइसर वितरण गरेको विभागीय प्रमुख थापाको भनाइ छ । उहाँका अनुसार विभागले दुई महिना अभियानकै रूपमा सबै वडामा जनचेतनामूलक तालिम सञ्चालन गरी फायर इस्टिङगुइसर वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

महानगरभित्र वडास्तरमा रहेको विपद व्यवस्थापन समितिले वडावासीलाई तालिम दिने व्यवस्था गरेको छ । समितिका अधिकारीलाई दमकल शाखाका फायर फाइटरले तालिम दिने व्यवस्था गरेको छ । विभागले साना घटना फायर इस्टिङगुइसरले नियन्त्रण गरे पनि ठूला घटनाको लागि दमकल परिचालन गर्ने गरेको जनाएको छ ।

अघिल्लो सातादेखि धेरैजसो जङ्गलमा आगलागी भएको थियो । उपत्यका नजिकैको जंगलमा भएको आगलागी नियन्त्रण गर्न कामपा र ललितपुर महानगरपालिकाको दमकल परिचालन भएका थिए । पछिल्लो समय सातामा करिब ४ वटा सानाठूला आगलागीका घटना हुने गरेका छन् ।

मानवीय त्रुटि, विद्युतीय उपकरण सर्ट भएर र ग्यास चुहिएर अधिकांश आगालागीका घटना हुने गरेको जिकिर गर्दै कामपा दमकल शाखा प्रमुख प्रकाश पण्डितले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जङ्गलमा चुरोटको ठुटा फाल्ने, सलाई, लाइटर सल्काएर आगो लगाउने, नयाँ पालुवाको लागि जङ्गलमा आगो लगाउने घटनाको कारण आगलागी बढ्न थालेको छ ।’

घरमा ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रूपले जाँच गर्ने र काम सकिएपछि बन्द गर्ने, आफ्नो घर, होटल, कारखाना, मिनिमार्केट, ग्यास पसलहरूमा आकस्मिक सुरक्षाका लागि अनिवार्य रूपमा फायर स्टिङगुइसर राख्ने, सार्वजनिक स्थलमा जथाभावी धुम्रपान गर्ने बानी हटाउने गरे आगलागीका घटनामा नियन्त्रण हुने पण्डितको भनाइ छ । उहाँले चुरोट बिँडीका ठुटाहरू निभाएर मात्र डस्टबिनमा राख्ने बानी बसाले मात्रै पनि आगलागीका धेरै घटना नियन्त्रण हुने बताउनुभयो ।

अबको दुई महिना आगलागी हुने महिना हो । यसपटक हिउँदमा पानी नपरेका कारण अबको दुई महिना डडेलो, चट्याङ र हावापानीको उच्च जोखिम छ । चट्याङबाट समेत आगलागी हुनसक्ने भएपछि विशेष सावधानी अपनाउनु आवश्यक छ ।

पछिल्लो समय आगलागी नियन्त्रण गर्न कामपालाई विगतमा जस्तो समस्या नभएको जानकारी दिँदै दमकल प्रमुख पण्डितले भन्नुभयो– ‘पानीको प्रशस्त व्यवस्था गरेका छौं । ३० फिट अग्लो स्थानमा आगलागी भए नियन्त्रण गर्नसक्ने ल्याडरको व्यवस्था गरेको छ । कामपासँग हाल १० वटा दमकल, २५ र ३० फिटको दुईवटा ल्याडर, १० वटा फाइटर बाइक र ३ वटा रेस्क्यु जिप छन् ।’

पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास चुहिएर १ सय ८१ र अन्य ७३ वटा आगलागीका घटना भएका थिए । यो वर्ष करिब २ सयभन्दा बढी आगलागी र विपद्जन्य घटना भइसकेका छन् ।

आगलागी हुन नदिन

ग्यास चुल्हो र ग्यास चुल्होको पाइप र रेगुलेटरलाई नियमित रूपले परीक्षण गरौं ।
खाना पकाइसकेपछि ग्यास सिलिन्डरको रेगुलेटर अनिवार्य बन्द गरौं ।
विद्युतीय उपकण, पानी तान्ने मेसिन सही ढंगले सञ्चालन गरौं, सञ्चालन गरेपछि बन्द गर्न नबिर्सौं ।
नाङ्गो तारलाई तत्काल व्यवस्थापन गरौं ।
जथाभावी रूपमा फोहोर नबालौं ।
विद्युतीय उपकरण प्रयोग गरेपछि बन्द गर्ने बानी बसालौं ।
सलाइ, लाइटर, मट्टितेल जस्ता प्रज्ज्वलनशील पदार्थहरू घरभित्र नराखौं ।
घर, होटल, पसल, सुपरमार्केट, सामुदायिक भवन, क्लब, ग्यास पसलहरूमा फायर स्टिङगुइसर राखौं ।

प्रतिक्रिया दिनुहोस्