कालीगण्डकी करिडोर 

दुई वर्षमा पनि खुलेन फलेबास– अर्मादी खण्डको ट्रयाक, मोदीबेणीमा ढुंगा फोर्नै मुस्किल



पर्वत। 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा पर्ने फलेबास–अर्मादी खण्डको ट्रयाक दुई वर्षमा पनि खुल्न सकेको छैन ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नरपालिकाको अर्मादीसम्मको खण्डमा पर्ने मोदीबेणीमा पहाड काट्न कठिन भएपछि ट्दुई ट्रयाक खोल्न समेत कठिन भएको छ । दुई वर्षमा कालोपत्रे समेत गर्ने लक्ष्य लिइएको भएपनि मोदीबेणीमा ढुंगा फुटाउनमा संघर्ष गर्नु परेको छ ।

जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवादेखि कुश्मा नगरपालिकासम्मको विभिन्न भागमा ठाडो भिर त्यसमा पनि कडा चट्टान भएका कारण ट्रयाक खेल्न समेत कठिनाइ भोग्नुपरेको आयोजना कार्यालयले जनाएको छ ।

फलेबास–अर्मादी खण्डको करिब १५ किलोमिटर खण्डको ट्«याक खोल्न नै समस्या भइरहेको भए पनि उक्त खण्डको हालसम्मको भौतिक प्रगति ९० प्रतिशत पुगेको कालीगण्डकी करीडोर अन्तर्गत गैँडाकोट–रामदी–मालढुङ्गा खण्डको पाल्पामा रहेको कार्यालयका प्रमुख शंकर पौडेलले जानकारी दिनुभयो ।  ठेकेदारले निकै संंघर्षका साथ काम गरेर ट्रयाक ओपनको कामलाई अन्तिम अवस्थामा ल्याएको उहाँको भनाई छ ।

पर्वतको मुडिकुवादेखि अर्मादीसम्मको खण्डले निक्कै चुनौती दिएको उहाँको भनाई छ । ‘अर्मादी मुडिकुवाको ट्रयाक ओपनको काम अन्तिम अवस्थामा छ। यो ठेक्का सामान्य ट्रयाक बनाउनका लागि मात्रै हो। ओपनिङको काम सकिएपछि बाँकी कामदेखि कालोपत्रेसम्मको कामका लागि अर्को टेन्डर आह्वान गर्नुपर्छ। यो भागमा काम गर्न एकदम चुनौतीपूर्ण छ’, आयोजना प्रमुख पौडेलले भन्नुभयो, ‘मोदीबेणी धाममा रहेको नृसिंंहधाम मन्दिरदेखि अर्मादीतर्फ जाने कालीगण्डकी तिरको भागमा काम गर्न नै सकस भयो। कुश्मा कैया जोड्ने झोलुंगे पुलको सिधा तलको भागमा निकै दुःख भइरहेको छ। त्यहाँ ठाडो भिर छ, चट्टान कडा छ। अहिले पनि त्यही चट्टान काट्ने काम भइरहेको छ।’

चट्टान काट्न समस्या भइरहेको त्यही ठाउँमा नै काम गर्दा गर्दै दुई वर्षअघि ट्र्याक खुलाउने क्रममा कुश्मा–५ मोदीवेणीघाट नजिकै कालीगण्डकी नदी किनारमा एक्स्काभेटर खसेपछि ट्र्याक खोल्ने काम डेढ वर्ष रोकिएको थियो । भिरको चट्टान काट्ने क्रममा माथिबाट झर्ने ठूला ढुंगाले अहिलेसम्म पनि दुःख दिइरहेको बताए। मोदीबेणी धामदेखि अर्मादीतर्फको भागमा रहेका कठिन स्थानमा ट्रयाक खुलाउने काम लगभग सकिन लागेकाले आफ्नो जिम्माको काम पूरा गर्न धेरै समय नलाग्ने उहाँको भनाई छ।

दुई वर्षभित्रमा पर्वतबाट मुस्ताङ जान होस् वा पाल्पा हुँदै गैँडाकोट पुग्न दुःख झेल्नु नपर्ने कल्पना गरिएको भए पनि मुडिकुवादेखि अर्मादीसम्मको सडक खण्ड ट्रयाक खोल्नमा नै चुनौती देखिएको छ । सडक ९ मिटर चौडा हुनेछ । पर्वतको फलेबास देखि सेतीबेणी सम्मको खण्डमा भने कालोपत्रे भैरहेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फलेबास देखि बर्राचौर खण्ड कालोपत्रे गर्ने कामको शिलन्यास गर्नुभएको थियो । आयोजना कार्यालयले भने चालु वर्ष ढिक–अर्मादीको १४ किलोमिटरबाहेक पर्वत खण्डमा पर्ने २८ किलोमिटर सडक कालोपत्रे सकिने दाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्