गोल्डेन गेटलाई अन्तर कलेज क्रिकेट उपाधि



काठमाडौं।

गोल्डेन गेट कलेजले दोस्रो संस्करणको प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा ब्लूबर्ड कलेजलाई २७ रनले हराउँदै गोल्डेन गेटले उपाधि हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । गोल्डेन गेटका आशुतोष घिरैयाले सर्वाधिक ६६ रन बनाए । तृतराज दास र साहिल पटेल १९–१९ रनमा आउट भए । रवि साहले १० रन जोडे । ब्लूबर्डका मेहुल श्रेष्ठ र कौशल रुपाखेतीले समान दुई दुई विकेट लिए ।

जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको ब्लूबर्ड १८.५ ओभरमा १ सय २१ रनमा अल आउट भयो । टोलीका लागि दीपक प्रसाद डुम्रेले सर्वाधिक ३२ रन बनाए । अन्यमा सन्दीप सिंह विष्ट २०, रोनिम तिवारी १९ र निर्भिक पाठकले १० रन जोडे । गोल्डेन गेटका रवि साह र आशुतोष घिरैयाले समान दुई विकेट लिए ।

उपाधि विजेता टोली गोल्डेन गेटले १ हजार र उपविजेता बनेको ब्लुबर्डले ५० हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याटर, ब्लुबर्डका दिपकप्रसाद डुम्रे, उत्कृष्ट बलर गोल्डेन गेटका रवि साह भए । उनीहरुले जनही १५ हजार नगद प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी गोल्डेन गेटका आशुतोष भए । उनले २५ हजार नगद हात पारे ।

प्रतिक्रिया दिनुहोस्