बुलाकीको लिरिकल गीत



अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बुलाकीको दोस्रो गीत सार्वजनिक गरिएको छ।

दुनियाँलाई सम्झाइदेऊ न बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज विष्टबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर रहेको छ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका छन्। आगामी वैशाख १ गते रिलिज हुने फिल्ममा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोह प्रस्तुत गरिएको छ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्ममा राजबहादुर सानेको कथा तथा राजबहादुर साने, निर्मल पौडेल, निर्देशक सुनार र अभिनेता विष्टको पटकथा र संवाद शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको फिल्ममा नरेन र सुरक्षाका साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायत प्रमुख भूमिकामा छन् भने प्रकाश कंडेल र सरस्वती खत्रीले यही फिल्मबाट डेब्यु पाएका छन्।

प्रतिक्रिया दिनुहोस्