छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं । 

छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । मिथिला नगरपालिका-३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१-०२-००१ ख ९२९२ नम्बरको  ट्रक एक-आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह-चालक २ जनासमेत गरी ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.१-०२-००१ ख ९२९२ नम्बरको ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा, कर्जन्हा नगरपालिका-२ कमला पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा.५७ प ७२० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बडरामाल बस्ने ४२ वर्षीय ठाकुरनाथ खतिवडाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५ भलखाडामा बा.प्र.०३-००५ प ३८६७ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१३ प ३४४६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा बा.प्र ०३-००५ प ३८६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका-६ चौघडा बस्ने २१ वर्षीय प्रनिस चौलागाईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-०३-०१३ प ३४४६ नम्बरको मोटरसाइकल चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट हुँदै थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-७ घर भएका ४७ वर्षीय चन्दर गोसाईको बिहीबार मृत्यु भएको छ ।

गाडीको ठक्कर गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका गाडीका सह-चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्