अन्तर्वार्ता : काममा पारदर्शिता र सुशासन कायम गरेका छौं- प्रमुख प्रशासकीय अधिकृत लम्साल



बलराम लम्साल
प्रमुख प्रशासकीय अधिकृत
सिद्धिचरण नगरपालिका
ओखलढुंगा, कोशी प्रदेश

२०६७ सालदेखि निजामती सेवामा लागेका शाखा अधिकृत बलराम लम्साल हाल सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग जिल्ला संवाददाता लीला सुनुवारले पालिकाको सेरोफेरोमा रहेर गरेको कुराकानीको सम्पादित अंश :

सिद्धिचरणले विकास निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?

हामीले यस चालू आर्थिक वर्षको योजना असारमा निर्माण ग¥यौं । त्यो एक वर्षको योजनाले सिद्धिचरणका जनताले पाउने विकासका आधारशिला के–के हुने र त्यसलाई कसरी अगाडि बढाउने भन्ने एउटा खाका तयार पारेको छ । ती योजनाहरुलाई कार्यान्वयन गर्नका लागि हामीले कार्ययोजना बनायर अगाडि बढेका छौं । कुन योजनालाई कुन समयमा कार्यान्वयन गर्ने । त्यो योजनाबाट जनतालाई के–कस्तो प्रतिफल प्राप्त हुन्छ र त्यो प्रतिफल जनतालाई छिटो डेलिभरी गर्ने हिसाबले हामी अहिले अघि बढिरहेका छौं ।

चालू आर्थिक वर्षको योजना छनोटमा पालिकाले कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ ?

हामीले ६ वटा प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेका छौं । त्यसमा पूर्वाधार विकासमा बजेट धेरै छुट्याएका छौं । कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटनमा हामीले विशेष प्राथमिकताका साथ बजेट बिनियोजन गरेका छौं ।

छनोट भएका योजनाहरूको कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ?

आर्थिक वर्षको शुरुआती असार मसान्तमा बनेका योजनाको ६० प्रतिशत योजना कार्यान्वयन प्रक्रियामा रहेका छन् भने ४० प्रतिशतकोे योजना सम्पन्न भएर भुक्तानी समेत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनाहरुको सम्झौता यही १० गतेभित्र गरेर काम अघि बढाउने प्रक्रियामा छ । बहुवर्षीय ठेक्काका योजनाहरुको निरन्तर काम भइरहेका छन् । यो वर्षमा लागेका दुईवटा ठेक्काका काम सम्पन्न भएर भुक्तानी समेत गरिएको छ । केही योजना सम्पन्न हुने चरणमा छन् ।

ठेक्कामार्फत काम गर्ने क्रममा ठेकेदारबाट समस्या हुने गरेको देखिन्छ । सिद्धिचरणको हकमा यस्तो समस्या आएको छ कि छैन ?

हाम्रा धेरैवटा योजना ठेक्कामा छैनन् । १२÷१३ वटा योजना मात्रै ठेक्कामार्फत गरिएको छ । त्यसमा हाम्रो मिश्रित अनुभव छ । केही ठेक्का समयमै काम सम्पन्न भएर हस्तान्तरण भएका छन् । जस्तै नगरपालिकाको भवन समयमै काम सम्पन्न भएको छ । एक वर्षीय योजनाहरुमा भने केही समस्या आएका छन् । स–साना बाटोमा विनियोजन भएका योजनाहरु समयमा सम्पन्न हुनसकेका छैनन् । त्यस्ता योजनालाई समय थप गरेर योजना सम्पन्न गर्ने गर्नुपरेको छ । हाम्रा केही वडा कार्यालयका भवन निर्माणमा ठेकेदारबाट ढिलासुस्ती चाहिँ भएको छ ।

समयमा योजना सम्पन्न नगर्ने ठेकेदारीलाई के–कस्ता कारबाही गर्ने गर्नुभएको छ ?

सबै ठेकेदार एकै प्रकृतिका छैनन् । केही ठेकेदारमा समस्या आएका हुन् । केही ठेकेदारले समयमा सम्पन्न गरेका छन् भने केहीले ढिलासुस्ती गरेका छन् । काममा ढिला गर्ने ठेकेदारलाई ताकेता गरेर काम सम्पन्न गराउने, समयमा काम सम्पन्न गर्न नसक्नुका कारणसहित उपस्थितिका लागि पत्रचार गर्ने र यत्ति गरिसकेपछि पनि काम सम्पन्न भएन भने बाँकी अवधिको जरिवाना काटेर मात्रै भुक्तानी गर्ने गरेका छौं ।

सुशासनका लागि कत्तिको ध्यान दिने गर्नुभएको छ ?

हामीले सुशासनका लागि सबै प्रक्रिया अगाडि बढाएका छौं । हाम्रा हरेक क्रियाकलापलाई वेभसाइटमा सार्वजानिक गर्ने गरेका छौं । सेवाग्राहीलाई सहजताका लागि सिद्धिचरण चार्टको व्यवस्था गरेका छौं । काममा पारदर्शिता, सेवाग्राहीलाई गुनासो गर्न सहज र सेवाग्राहीको काममा सहजताका लागि एक जना कर्मचारीसहितको हेल्प डेस्कको व्यवस्था गरेका छौं । हामीले गरेका हरेक क्रियाकलापलाई जनतामाझ पु¥याउन वेभसाइट र फेसबुक पेजमा राख्ने, नगरपालिकाका कार्यक्रमको जानकारी पत्र–पत्रिका तथा रेडियोहरुबाट प्रसारण गराउने गरेका छांै ।

विकास निर्माण तथा सुशासनमा जनप्रतिनिधिहरु कत्तिको संवेदनशील रहेको पाउनुभएको छ ?

नगरपालिकामा जनप्रतिनिधिहरु विकासकै एजेन्डा बोकेरै आउनुभएको छ । विकासकै लागि आएकाले उहाँहरु इमानदारपूर्वक तथा तदारुकताका साथ जनतालाई कसरी सेवा सहज दिन सकिन्छ, विकासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, जनताका माग र चाहना अनुसार हामीले कसरी बजेट व्यवस्थापन गरेर सुन्दर सिद्धिचरण बनाउन सकिन्छ भनेर काम गरिरहनुभएको मैले पाएको छु ।

सुन्दर पालिका निर्माणका लागि कुनै विशेष कार्यक्रम छनोट गर्नुभएको छ कि ?

सुन्दर सिद्धिचरण निर्माणका लागि हामीले विभिन्न किसिमका मार्गचित्र निर्माण गरेका छौं । अहिले हामीले आवधिक योजना निर्माण गरिरहेका छौं । कस्ता–कस्ता ठाउँमा कस्ता योजना निर्माण गर्दा खास जनताले खोजेको विकास दिन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल गरिसकेका छांै । शैक्षिक प्रणाली सुधारका लागि शिक्षा सुधारकार्य योजना तयार गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौं ।

शिक्षा सुधार कार्ययोजनामा कस्तो योजना बनाउनुभएको छ ?

शैक्षिक सुधारका लागि नगरपालिकाभित्र रहेका विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था गर्ने योजना बनाएका छौं । विद्यार्थीका लागि विद्यार्थी डायरीको व्यवस्था र शिक्षकका लागि शिक्षक डायरीको व्यवस्था गर्ने योजना बनाएका छौं । प्रत्येक विद्यालयमा सीसीटिभीको व्यवस्था पनि गर्ने योजना छ ।

प्रायःजसो स्थानीय तहमा बेरुजुको समस्या निक्कै देखिने गरेको छ । तपाईंको पालिकाको अवस्था कस्तो छ ?

हाम्रो पालिकामा बेरुजु मुख्य समस्याका रूपमा छैन । स्थानीय तहहरु भर्खर निर्माण भएका र त्यहाँ सबै किसिमका ऐन कानुन निर्माण भइनसकेको अवस्था छ । जसले गर्दा स्थानीय सरकारले आफ्ना कार्यसम्पादन गर्नुपर्ने पाटो एकातिर छ भने अर्काेतिर सबै कानुन निर्माण भइसकेको अवस्था छैन । कानुनको अभावमा बेरुजु पूर्णरूपमा नियमन गर्न सकिएको छैन । गाविस हुँदादेखिका बेरुजुहरु जोडिएकाले पनि बेरुजुको भोलुम ठूलो देखिएको हो । हामीले भइराखेका नियम कानुनको परिपालना गर्ने तथा नभएका ऐन कानुनको निर्माण गर्ने र त्यसका आधारमा कार्यक्रमको कार्यान्वयन गर्ने गरेका छौं । सुशासन र पारदर्शिताका आधारमा काम गर्ने, औचित्यका आधारमा काम गर्ने गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्