खेलाडीलाई नगद र सम्मानको ओइरो



विराटनगर/गुल्मी । खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसके भने कैयौँ विदेसिने तयारीमा छन् । एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका बेला यतिखेर केन्द्रदेखि स्थानीय तहसम्म खेलाडीको हौसला दिन लागिपरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिनुभएको छ ।

नेपालले विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल क्रिकेट टिम र खेलाडीलाई नगदसहित सम्मान घोषणा गर्ने क्रम बढेको छ । प्रधानमन्त्रीले बालुवाटार बोलाएर खेलाडीलाई बधाई दिँदै जनही ३ लाख पुरस्कार घोषणा गर्नुभयो । बाग्मती प्रदेश सरकारले खेलाडीलाई जनही १ लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो । पछिल्लो समय मोरङको विराटनगर महानगरपालिकाले नेपाली क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेटरलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले भीमदत्तका बासिन्दा दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रूपैयाँ दिने घोषणा गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले पनि दीपेन्द्र र भीमसहित सन्दीप जोरा, कमल सिंह ऐरी र अर्जुन साउदलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम र दीपेन्द्रलाई जनही २ लाख, सन्दीपलाई १ लाख तथा टोलीको अन्तिम १८ मा परेका कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

यस्तै, मधेस सरकारले पनि आरिफ शेख र गुल्सन झालाई २÷२ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । वीरगञ्ज महानगरपालिकाले आरिफ र आशिफ शेखलाई एक–एक वटा मोटरसाइकल दिने घोषणा गरेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुशल भूर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।

अर्जुनलाई छत्रकोटमा सम्मान

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगद सहित सम्मान गरेको हो । उनलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कुबेत विरुद्ध सतक समेत प्रहार गरेका थिए । क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोटगाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

सोमपाललाई चन्द्रकोटमा सम्मान गरिनने

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ । आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको हो ।

सोमपाल चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ भुर्ममा जन्मिएका हुन् । उनको परिवार हाल भारतमा बसोबास गदै आईरहेको छ । अहिलेसम्म बसाइँसराइँ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालले बताए ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जिल्ला र पालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । अहिले सोमपाल प्रशिक्षणमा रहेकाले सम्मानमा उपस्थित हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्