शुक्रले डंकन टेलर ब्ल्याक बुल खेल्ने



काठमाडौं । नेपालका नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्र बहादुर राईले डंकन टेलर ब्ल्याक बुल च्यालेन्जमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

भारतीय गल्फ टुर (पीजीटीआई) र च्यालेन्ज टुरको सम्युक्त मान्यता रहेको चार दिनको प्रतियोगिता बंगलुरुस्थित कर्नाटक गल्फ संघको कोर्षमा बिहिवारदेखि सञ्चालन हुनेछ । प्रतियोगिताको कूल पुरस्कार राशी तीन लाख अमेरिकी डलर रहेको छ । च्यालेन्ज टुर युरोपको दोस्रो तहको व्यवसायिक गल्फ प्रतियोगिता हो । पीजीए युरोपीयन टुरले आयोजना गर्ने च्यालेन्ज टुरका केहि प्रतियोगिता युरोप बाहिर पनि सञ्चालन गर्ने गरिन्छ ।

गत हप्ता गोकर्ण गल्फ क्लबमा सम्पन्न सूर्य नेपाल सेन्ट्रल ओपन जितेका शुक्रले भारतीय गल्फ टुरको क्वालिफाईङ्ग स्कूलबाट फुल कार्ड प्राप्त गर्ने मध्ये चार जना खेलाडीलाई प्रदान गरिएको कोटा अन्तर्गत मौका पाएका हुन् । शुक्र सहित दुई भारतीय खेलाडी र एक श्रीलंकाका गल्फरले यो मौका प्राप्त गरेका हुन् ।

पीजीटीआईको दोस्रो सिजनमा प्रतिस्पर्धा गरिरहेका धराने गल्फर शुक्रले यसअघि खेलेका दुवै प्रतियोगितामा कट बनाएका थिए । १ लाख ९४ हजार ५ सय ६७ भारतीय रुपियां सहित उनी हाल अर्डर अफ मेरिटमा ४१औं स्थानमा रहेका छन् । मार्च २३ देखि २६ सम्म सञ्चालन हुने प्रतियोगितामा कूल ६० जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्