राम्रो कर्म, सुन्दर भविष्य र मानिसको आचरण



अहिले हाम्रो मुलुकमा मानिसको जीवनचर्या भनेको चाकडी गर्ने, धेरै कमाउने, खाने÷पिउने नै हो । जसका भाग्यमा यी कुराहरु छैनन् तिनीहरु ¥याल चुहाएर बस्ने गर्दछन् वा कन्चट दुख्ने गरी नेतालाई गाली गरेर बसेका हुन्छन् । तथ्य कुरा के छ भने, केही सीमित व्यक्तिले लुेटर, ढाँटेर, ठगेर सम्पत्ति कमाएका हुन्छन् । सम्पत्ति कमाए भन्दैमा उनीहरुलाई भाग्यमानी भन्न मिल्दैन । जब सरकार राम्रो भएर प्रत्येक नागरिकको जीवनस्तर राम्रो बनाउँछ तब हामीले नेपालीलाई स्वाभिमानी र भाग्यमानी मान्न सक्छौँ । तर अहिलेसम्मको अवस्थालाई हेर्दा थाहा छैन, हामी कुन दुनियाँमा छौँ ?

यो देशको ठूलो विडम्बना भनेको नै हामी एक–अर्काको खुट्टा तानेर समय बिताइराखेका हुन्छौँ । उदाहरणका लागि यो देशमा बाहुनले क्षत्री–बाहुनलाई सराप्ने, नेवारले नेवारलाई नरुचाउने, मगुराली (मगर, गुरुङ, राई, लिम्बु) ले मगुरालीलाई घृणा गर्ने र मधेसीले मधेसीलाई हेप्ने ! अनि यसरी देश सप्रन्छ ? हामी अरु मुलुकको तुलनामा पछि परिराखेको कारण यसलाई पनि मान्न सक्छौँ । त्यसमाथि प्रायः घरमा महिला–महिलाबीच वैमनस्यता र अंशले गर्दा दाजुभाइमा कलह भएको देखिन्छ । यस कारणले गर्दा उनीहरु एक–अर्काको मुख हेर्न नरुचाउने भइराखेका छन् । यस्ता हर्कतले यिनीहरु पनि पशुपतिको महादेवको मुकुटजस्तै भइराखेका छन् । जे होस्, यसलाई राम्रो संस्कार मानिदैन । सकिन्छ भने मिलेर, आ–आफ्नो स्वभावलाई बदलेर रमाइलो जीवन बिताउने हो । कारण मानिसको जीवन एकपल्ट मात्र पाउने हो । बाँकी मरेपछि जेसुकै होस् । मानिसले कलह, अहंता, देखावा आदिको पछि नलाग्ने हो भने एउटा राम्रो परम्परा बस्दै जानेछ । एकपल्ट देशको परिस्थितिलाई हेर्ने हो भने अहिलेको अवस्थामा राज्यले जनतालाई सुख–सुविधा दिनुभन्दा ठगिराखेको हामीले पाइराखेका छौं । यसैको देखासिकी भनौं वा प्रेरणा भनौं, व्यक्तिले व्यक्तिलाई ठग्ने संस्कारको विकास भएको छ । जस्तै– प्रशासन, दोकान, सवारी, हस्पिटल, स्कुल, कलेज आदि ठाउँमा मानिसहरु पाइला–पाइलामा ठगिइराखेका हामीले पाइराखेका छौं । तैपनि चलिराखेको नै छ । यो देशमा हामी सधैँ देश चलाउनेहरुलाई मात्र आक्षेप लगाउँछौँ तर हामीमा पनि केही अवगुणहरु छन्, जसलाई देश नसप्रनुका कारण मान्न सकिन्छ ।

समाजमा यस्ता मानिस पनि धेरै छन् जो आफ्नो स्वार्थसिद्धका लागि सधैँ नेताहरुको झोले, चम्चे, हनुमान् आदिको भूमिका निभाइराखेका हुन्छन् । अब मुलुक र आफ्ना पुस्ताको भविष्य उज्ज्वल चाहने हो भने यस्ता व्यक्तिहरु नै सर्वप्रथम बदल्नु जरुरी छ ।

हाम्रो देशमा जतिसुकै महँगी बढोस्, शुल्क वृद्धि होस्, यहाँका जनतामा दम छैन । यिनीहरुको प्रतिकार गर्न सकेका छैनन् । बरु टाउको झुकाएर, सहेर आफ्नो जीवन निर्वाह गरिराखेका छन् । यो मामलामा केही भए पनि कराउने र सामना गर्ने व्यक्तिहरु पनि नभएका भने होइनन् तर औसतमा यी कुरामा वास्ता नगरेर योगदान गर्न नचाहने व्यक्तिहरु धेरै छन् । यही कारणले गर्दा अन्याय गर्नेहरुको हौसला बढेको मान्न सकिन्छ ।

अझै हामी गरिबीको रेखामुनि डुबिराखेका छौँ जस्तो लाग्छ । हामी सधैँ ऋणमा डुबिराख्नु, युवापुस्ता निरन्तर विदेश पलायन हुनु, विकास कार्य अधुरो हुनुजस्ता कुरालाई नियाल्दा देश चलाउनेहरु नै कडा हुन नसकेको मान्न सकिन्छ ।

अहिलेको परिप्रेक्ष्यमा धेरै जनसंख्या, बेरोजगार समस्या आदिका कारण मान्छेले मान्छेलाई ठग्ने, लुट्ने, पैसा पचाउने, यहाँसम्म कि मान्छेले मान्छेलाई मार्नेजस्ता कुरा पनि साधारण भएर गएका छन् । तैपनि सरकारी प्रशासन तथा कानुनको अगाडि यिनीहरुको नै जित हुन्छ । कारण यो देशमा स्वार्थी, लालची, बिकाउहरु धेरै छन् । हाम्रो मुलुकमा विकासका शत्रु भनेका अन्धविश्वास, रुढिवादी, देखावा आदि हुन् । यहाँ पैसा तथा इज्जतको सवाल आउँछ । त्यसैले पैसाका लागि यहाँ अनेक नचाहिने कुकर्म गर्ने गरेको पाइन्छ ।

यहाँ नेपालीहरुमा अझै ज्ञान, शिक्षाको कमी त छँदै छ, यसबाहेक धैर्यधारण गर्ने बानी पनि छैन । शायद यही कारणले गर्दा व्यापारमा घाटा हुने, दुर्घटनामा मानिसको मृत्यु हुने, वैदेशिक रोजगारका कारण दुःख पाउने यो देशको ज्वलन्त उदाहरण हुन् । एउटा सत्यतथ्य यो पनि हो कि यहाँ एकले अरुलाई हेप्ने, धनको अहं भावना प्रकट गर्नेको पनि कमी छैन । यस्ता मानिसलाई ठीक गर्ने बेला आएको छ । जसलाई पछि गएर यिनीहरुले स्वीकार गर्नै पर्दछ । हाम्रो समाजमा अझै पनि असभ्य संस्कार मन पराउने मानिसको कमी छैन । जथाभावी बोल्ने, बाटोमा थुक्ने, फोहोर मिल्काउने, अरुको अगाडि दाँत, नाक, कान कोट्याइराख्ने, पसलमा पुगेर पनि पैताला सुमसुम्याइराख्ने मानिसहरु पनि छन् । थाहा छैन, यस्ता मानिस कहिले सुध्रने हो ? राम्रा व्यक्तिले मानवताको नाताले यस्ता व्यक्तिको आचरण बदल्न सक्छन् । घरपरिवार, टोल, समाज र देशको मुहार फेर्ने हो भने प्रत्येक नागरिकले स्वार्थी भावना त्यागेर आफ्नो दायित्वबाट नमोडिई सक्दो कर्तव्य निभाउनु पर्छ, अनि मात्र मुलुकको समस्या हल हुँदै जानेछ ।

अन्त्यमा एउटा कुरा थप्न चाहन्छु, त्यो हो राष्ट्रिय परिचय–पत्रको कुरा । अहिले फेरि पुरानो नागरिकता प्रमाणपत्रलाई छोडेर राष्ट्रिय परिचय–पत्रको शुरुवात हुन लागेको छ । थाहा छैन, यो किन हुन लागेको हो ? अहिले यहाँ पनि झमेला र समस्या थपिएका छन् । नाम, थर, जन्ममिति, विवाह दर्ता तथा बसाइँ सराइको कारण समस्या थपिएको छ । यसमा पहिला सरकारी कर्मचारी र व्यक्ति दुवै पक्षको गल्ती देखिन्छ । उदाहरणका लागि जन्ममितिको कुरा गर्ने हो भने पुराना सरकारी कर्मचारीहरुले पूरा जन्ममिति नलेखी नागरिकतामा उमेर मात्र लेखेको पाइन्छ । अर्को कुरा, व्यक्तिहरुले गल्ती गर्दा पनि नसच्याएको पाइन्छ । जे होस्, सरकारले यसलाई सहजीकरण गर्नुपर्दछ । यति मात्र होइन कि हरेक कार्य सरकारी कार्यालयमा सर्वसाधारणका लागि सहज हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्