देशले के खोजेको छ ?



संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । नयाँ प्रधानमन्त्री चुनिए, उपप्रधानमन्त्री चुनिए, मुख्यमन्त्री छानिए, प्रदेश मन्त्री छानिए । नयाँ सभामुख र उपसभामुख निर्वाचित भए । राष्ट्रपतिको निर्वाचन भयो, उपराष्ट्रपतिको निर्वाचन भयो । निर्वाचन भएका सबै पदमा कोही न कोही व्यक्ति पदासीन भए । कतिपय पदमा अझै पनि पदासीन हुन बाँकी छन् । निकट भविष्यमा ती खाली पदमा पनि कोही न कोही पदासीन होलान् ।

पदासीन भएका सबैलाई लाग्दो हो– ‘देशले यो पदमा मलाई नै खोजिरहेथ्यो ।’ प्रधानमन्त्रीलाई लाग्दो हो– ‘देशले खोजेको प्रधानमन्त्री म नै हँु ।’ राष्ट्रपतिलाई लाग्दो हो– ‘यो देशले म नै राष्ट्रपति हुने दिनको प्रतीक्षा गरेको थियो, आज त्यो दिन आयो ।’ सभामुख ठान्दा हुन्– ‘मबाहेक अर्को सभामुख हुने त देशको अपेक्षा नै थिएन ।’ उपप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री, उपसभामुख, सांसद, मेयर, उपमेयर सबैलाई त्यही नै लाग्दो हो– ‘देशले म आइपुगेको पदमा मलाई नै खोजेको थियो । देशले रोजेको उपयुक्त व्यक्ति म नै हुँ ।’
कोही व्यक्ति कुनै पदमा आसीन हुनु, नहुनु वा कोही हार्नु र जित्नुसँग देशको इतिहासलाई केही फरक पर्दैन । कोही हार्नु वा जित्नु नियमित प्रक्रिया हो । कोही व्यक्ति हारोस् वा जितोस् तर देशले हार्नु भएन । देशले जित्नुप¥यो । तर देशले कसरी जित्छ ? देशले जित्नलाई केही

कदम आवश्यक छन् :

सुशासन कायम गर्नु देश आजको अवस्थामा आइपुग्नुमा सबैभन्दा प्रमुख कारण नै सुशासनको अभाव हो । हरेक सरकारले सुशासनको नारा दिने गरेका छन्, तर जसले सबैभन्दा बढी सुशासनका नारा दिन्छन्, उसैले सुशासनलाई बिरामी बनाएका छन् । भ्रष्टाचारका कारण विकास निर्माणका कामले गति लिन सक्दैन । गुणस्तरीय काम हुँदैनन् । सेवा प्रभावहमा लापर्वाही छ । जनतामा वितृष्णा छ, योे अवस्थामा सुधार पहिलो आवश्यकता हो ।

बिग्रँदो अर्थतन्त्रमा सुधार

देशको अर्थतन्त्र बिरामी छ । अर्थतन्त्रको बारेमा जताततै नकारात्मक आवाजहरु सुनिन थालेका छन् । अर्थतन्त्रप्रति चासो र चिन्ता गर्नेको संख्या त गण्य छ, तर सुधारको उपाय निकाल्ने र जिम्मेवारी लिनेको संख्या भने नगण्य छ । चासो र चिन्ताले मात्र त सुधार हुन्न, सुधार हुने त प्रयासले हो । सुधारको ठोस उपाय कोहीसँग पनि देखिँदैन । अर्थतन्त्र ढल्न लाग्यो भन्दै भ्रम फैलाएर त्रास सिर्जना गर्नेको मात्र लर्को छ । देशले त यो सङ्कटबाट उद्धार गर्ने व्यक्ति खोजको छ, नीति खोजेको छ, नेतृत्व खोजेको छ । कुनै व्यक्तिको मुहार खोजेको छैन । देशकै मुहार फेर्ने नेता खोजको छ ।

विकास निर्माणमा तीव्रता

विकास निर्माणका काममा अवरोध देशको ठूलो समस्या हो । चाहे कानुनी कमजोरी हुन् वा ठेकेदारका बदमासी हुन् वा नेताका स्वार्थ जोडिएका हुन् वा कर्मचारीका उदासीनता, सबैतिर विकास निर्माणका काममा कुनै न कुनै समस्या छ । हरेक विकास निर्माणका काममा कतै न कतै भ्रष्टाचार जोडिएको छ । सरकारको पूँजीगत खर्च न्यून छ । खर्च भए पनि वर्षको अन्त्यमा गएर जथाभावी खर्च भएको छ । बिल असारमा मिलान हुन्छ, काम श्रावण–भाद्रतिर हुन्छ । बिल मिलानपछि गरिने विकास निर्माणको कामको गुणस्तर कस्तो हुन्छ ? यो समस्या तत्कालको समस्या होइन, लामो समयदेखि हाम्रो राजनीति, प्रशासन र निजी क्षेत्रको समेत संयुक्त सहभागितामा बनाएको विकृति हो । यो गति र प्रक्रियालाई सुधार नगरे देश विकासको पथमा अगाडि बढ्दैन ।

रोजगारी सिर्जना

देशमा रोजगारी छैन, त्यसैले रोजगारीको खोजीमा दिनहुँ हजारौँको संख्यामा देशको युवा जनशक्ति खाडी मुलुकतिर गैरहेका छन् । हाम्रो देशको श्रमशक्ति अरुको देश बनाउनमा लगानी भैरहेको छ । त्यो पनि अत्यन्तै सस्तोमा । कौडीको भाउमा श्रम बेच्नुपरेको छ । कतिपय अवस्थामा महिला श्रमिक यौन शोषणको सिकारसमेत बनेका छन् । देशको श्रमशक्ति बाहिर पठाएर देश निर्माणको सपना देख्नु भ्रम मात्र हो । देशलाई यो स्थितिबाट त्राण दिने व्यक्तिको खोजीमा देश छ ।

राजनीतिक संस्कारको विकास

राजनीतिमा इमानदारिता छैन । राजनीति संस्कारविहीन बन्दै गएको छ । जति विपक्षीलाई धेरै गाली गर्न सक्यो त्यो सबैभन्दा गतिलो नेता भन्ने मनोविज्ञानको विकास भैरहेको छ । राजनीति भनेकै चतु¥याइँ र धुत्र्याइँ हो भन्ने भाष्यको विकास भैरहेको छ । आफ्नो पार्टीको नेताले जे गरे पनि ठीक अरु पार्टीको नेताले जे भने पनि बेठिक भन्ने विवेकहीन कार्यकर्ता स्वयम् पार्टीले नै उत्पादन गरिरहेछन् । अन्धभक्तहरुको बीचमा बसेर नेता आत्मरतिमा रमाइरहेछन् । यस्तो संस्कारहीन राजनीतिक मैदानमा जन्मे, हुर्के, बढेको नेताले चलाएको सरकारले आमनागरिकका समस्या कसरी सम्बोधन गर्न सक्छ ? त्यसैले राजनीतिक संस्कारको खँडेरीबाट देशलाई मुक्ति दिनु आवश्यक छ ।

कानुनको प्रभावकारी कार्यान्वयन

देशको समस्या कानुन नहुनु होइन, कानुनको प्रभावकारी कार्यान्वयन नहुनु हो । स्रोत र साधन नहुनु होइन, स्रोत र साधनको सही सदुपयोग नहुनु हो । नेता नहुनु होइन, नीति नहुनु हो । काम नहुनु होइन, प्रभावकारी काम नहुनु हो । प्रशासन नहुनु होइन, सुशासन नहुुनु हो । प्रतिबद्धता नुहुनु होइन, प्रतिबद्धताको कार्यान्वयन नुहुुनु हो । समग्रमा कामको परिणाम नहुनु होइन, परिणाम कागजमा मात्र सीमित हुनु हो । त्यसैले अमूर्त परिणाम होइन, व्यवहारमा र मूर्त देखिने परिणाम दिन सक्ने व्यक्ति देशले खोजेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध न सन्तुलित छ, न त स्थिर नै । पार्टी र नेता नै पिच्छेका परराष्ट्र नीति छन् । व्यक्ति र पार्टी नै पिच्छेको नीति हुनु भनेको देश नीतिविहीन हुनु हो । नेताजीहरु अर्को मुलुकसँग आफ्नो बराबरको हैसियत कायम राख्न होइन, बरु अरुसामु झुक्न सक्नु र पराइको आशिर्वाद प्राप्त गर्नुुलाई नै आफ्नोे सफलता ठान्छन् । देशको नेतृत्व पराइसामु झुक्नु भनेको व्यक्ति मात्र झुक्नु होइन, देशलाई पनि झुकाउनु हो । यो नियति देशलाई नेताहरुले भोगाइरहेका छन् । यो देशले अब झुक्ने र भुक्ने नेता होइन, सन्तुलित कूटनीति स्थापना गर्न सक्ने नेतृत्व खोजेको छ ।

त्यसैले कुनै व्यक्ति कुन पदमा पुग्यो, पुगेन भन्ने कुरा त्यो व्यक्तिका लागि सफलता र असफलताको कथा होला । उसलाई गर्वको विषय पनि बन्ला । बुढेसकालमा आफ्नो आत्मकथामा सफलताको कथा बुन्न काम पनि देला । तर कोही व्यक्ति पदासीन हुनु देश र जनताका लागि त्यति महत्वपूर्ण हुँदैन, जबसम्म उसले जनताका लागि प्रभाव पार्ने र देशको लागि उल्लेखनीय केही काम गर्दैन ।

हुन त हरेक व्यक्तिले आफूले गरेको कामको बखान गर्ने नै भए । यो संसारमा कुनै एउटा त्यस्तो मान्छे भेट्न सकिँदैन, जसले आफूले गरेको खराब काम इमानदारपूर्वक भनोस् । कसैले आफ्ना कमजोरी भनी नै हालेछन् भने पनि आदर्शवादी देखिन फूलबुट्टा हालेर भन्छन् । वास्तविकता त लुकाउँछन् । कसैले आफ्नो कमजोरीको वास्तविकता नै भनेछ भने त्योे समाजमा पागल गनिन्छ । फूलबुट्टा भरेर आफ्ना कथा भन्नेचाहिँ यो समाजमा विद्वान् ठहरिन्छ । समाजको यही उल्टो बुझाइको फाइदा राजनीतिका चतुरेहरुले उठाइरहेका छन् ।

राजनीतिमा चतुरे नेताहरु कार्यकर्ताले खोज्लान्, तर देशले चाहिँ कुनै चतुरे नेता खोजको होइन, देशको संकटमोचन गर्ने राजनेता खोजेको हो । देशले आफ्नो उद्धारक खोजेको हो, र त्यो जो पनि हुन सक्छ । पद्धति खोजेको हो, चाहेमा त्यो जसले पनि बसाल्न सक्छ । नाम चलेका नेताबाट मात्र देश चल्छ, अरुबाट देश चल्दैन भन्ने भ्रमबाट हामी अब मुक्त हुनुपर्छ । दलका कार्यकर्ताहरुले आफ्नो दलको नेताको पूजा गर्ने र अर्को दलको नेतालाई सत्तोसराप गर्ने राजनीतिक कुसंस्कार बन्द गर्नुपर्छ । देश बनाउने अभियान सबैको साझा हो । त्यो साझा अभियानको नेतृत्व गर्ने राजनेता देशले खोजिरहेछ । देशलाई हराएर आफू जित्ने धेरै देखिए, अब आफू हारेर भए पनि देशलाई जिताउने नेतृत्व आवश्यक छ । जो देशका लागि आफू हार्न तयार छ, जसले आफू हारेर पनि देशलाई जिताउँछ, त्यो नै यो देशको सबैभन्दा ठूलो विजेता बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्