डाँडातिर हेर्दाहेर्दै यो वर्ष हिउँ नपरी बित्यो



स्थानीय कार्यक्रमको व्यस्तताबीच दिउँसो ३ बजेतिर जीवनजी (पत्रकार जीवन लामा) को फोन आयो । यो ०७९ फागुन १३ गतेको कुरा हो । उक्त दिन कालिञ्चोकमा हिमपात भएको थियो । र, हामी होटल व्यवसायी हरि ओली (कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका सञ्चालक) को निमन्त्रणामा कालिञ्चोक जाँदै थियौँ ।

गतवर्षहरुमा पुसको पहिलो हप्ताबाटै दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, चेर्दुङजस्ता उच्च पहाडी भेगमा हिमपात हुने गरेकोमा यो वर्ष फागुनको दोस्रो हप्ता लाग्दै गर्दा पनि हिमपात त के वर्षाको सम्भावनासमेत देखिएको थिएन । गुगलको अनुमानमा हिमपात र वर्षाको प्रतीक्षा गरिरहेका दोलखाका कृषक, होटल व्यवसायी र हामी सञ्चारकर्मीहरु पटक–पटक निराश भैरहेका थियौँ ।

फागुन १३ गते दिउँसो कालिञ्चोक र शैलुङमा हिमपात भएको खबरले हामी खबरकर्मी साँच्चै उत्साहित बनेका थियौँ । हाम्रो उत्साह, चञ्चलता र कालिञ्चोक पुग्ने व्यग्रताले हामीभित्र पलाएको हिउँको रहर प्रस्फुटित भैरहेको थियो । विडम्बना के भैदियो भने, चरिकोटबाट हतारिँदै देउराली उक्लिएका हामीलाई त्यो दिन कालिञ्चोक पुग्ने सौभाग्य जुर्दै जुरेन । मत्यार तमाङले चलाएको बोलेरोले हिलाम्य सडक छिचोल्न नसकेपछि हामी देउरालीबाटै फर्कन बाध्य भयौँ ।

मनमा हिउँको रहरले डेरा जमाइसकेकोले हाम्रो गन्तव्य भोलिपल्ट (फागुन १४ गते) सखारै उनै मत्यार तमाङको बोलेरोले पहिल्याउन सक्योे । हरेक वर्ष पुसमाघदेखि नै हिउँले छपक्कै छोप्ने कालिञ्चोक, कुरीको आसपास देखिएका हिउँका केही रास र छानामा पग्लिन ठिक्क परेका हिउँका थुप्रा देख्दा पनि यति बेला हाम्रो मनमा उत्साह र उमंगको चक्लेटी मिठासको अनुभूति भैरहेको थियो । किनभने यो वर्षकै पहिलो हिमपात थियो कालिञ्चोकमा । त्यो पनि पृथ्वीको फन्को सूर्यको निकट पुगेर तापको वृद्धि हुने फागुन अन्त्यतिर ।

०००

माघ १ गते जन्मिएको म, भनौं भने हिउँको थुप्रोमा लुटपुटिँदै, हिउँकै बाफले सेकिएर हुर्किएको हो । किनभने आधा शताब्दीअघि कालिञ्चोकमा मात्र हैन चरिकोटमै हिउँको पहाड हप्तौं ठडिइरहेको हुन्थ्यो । गौरीशङ्कर हिमालको आडमा फल्याकको छाना भएको घरका धुरीबाट सखारै हिउँका तप्केनी बलेसीमा खस्दै गर्दा सूर्यका सप्तरङ्गी इन्द्रेणीले सानो तर सुन्दर चरिकोटलाई हिमाली गाउँको एउटा बस्तीजस्तै बनाइदिन्थ्यो ।

०३८÷०४० सालतिर पुसमाघमा रातभरि हिमपात हुँदा भोलिपल्ट बिहान ढोका खोलेर बाहिर निस्कन मुस्किल हुने गथ्र्यो । एक फिटभन्दा बढी हिउँ पर्ने भएकोले ढोका खोल्न सूर्यले पूर्वबाट पश्चिमको लागि प्रस्थान गरेको रफ्तारसँग उक्लँदै गर्ने गर्मीको पारो कुर्नै पर्ने । घरको आँगन र बलेसीमा त हप्तौँ हिउँ देख्न सकिन्थ्यो । चिसो यति धेरै कि पोखरी र खोला–खोल्सीमा हिउँ जमेर सिसाजस्तै हुन्थ्यो । चरिकोटको बीच बजार र पशुपति डाँडामा रहेको एकाध घरले गौरीशङ्कर हिमाललाई छेक्ने सम्भावना नभएकैले पुसमाघको समयमा झट्ट चरिकोट उत्रने पर्यटकलाई यो त हिमालसँगै जोडिएको गाउँ पो रहेछ भन्ने भ्रम पथ्र्यो । सिमिगाउँबाट ना, बेदिङ र च्छोरोल्पा उक्लने पैदलमार्गीले नजिकबाट फेरो मार्दै गन्तव्य पहिल्याउन सहजता महसुस गर्न ऊर्जा दिने गौरीशङ्कर हिमाललाई चरिकोटको सम्मुख प्राप्त गर्नु जीवनको एउटा सुन्दर अवसर नै भन्नुपर्छ । जुन अवसर हामी चरिकोटेले हरेक पल प्राप्त गरिरहेका हुन्थ्यौँ ।

त्रिपुरासुन्दरीको बहिनी कालिञ्चोक भगवती दोलखाबाट चरिकोटको हिउँ–बाटो पहिल्याउँदै कालिञ्चोक टापु उक्लिएको किंवदन्ति सुन्दा हामीलाई उतिबेला खासै आश्चर्य लागेन । किनभने पुसमाघमा हिउँको लेकै त थियो चरिकोट । हिउँको भुवादार कार्पेटमा कोमल पाउले स्पर्श गर्दै कालिञ्चोक भगवतीले चरिकोटबाट कालिञ्चोक टापु उक्लँदाको साक्षी त्यति बेला पैदलमार्गको दायाँ–बायाँ हिउँले नै थिचिएर पुड्का देखिने घँगारु, चोत्रो, ऐँसेलु र बनमारेको बुट्यान मात्र त थियो ।

मलगायत केही साथीहरुले पत्रकारिता गरेको शुरुका दिनहरुमा पनि केही वर्षको अन्तरालमा चरिकोटलाई हिउँले झपक्क छोपेको हुन्थ्यो । कालिञ्चोक, सिन्धुपाल्चोकसँगको सिमाना मुडे– खरीढुङ्गा, ऋषिहरुको तपोभूमि सय थुक्काको शैलुङ, चेर्दुङलगायतका उच्च पहाडी भेगमा त पछिल्लो वर्षसम्म पनि हिउँले यातायात र मानिसको आवत–जावतमा समस्या पारेको समाचार हामीले लेखेकै हाँै । यी उच्च पहाडी भेगमा हिउँ सिजनमा रिपोटिँङ गर्न जाँदा भोक, प्यास र ठण्डीले सताएको पल रोमाञ्चक पीडादायी हुने गथ्र्यो ।

मलाई सम्झना छ– राजेन्द्र, केदार, रमेशलगायत हामी केही पत्रकारहरु खरीढुङ्गामा यातायातसमेत अवरुद्ध हुने गरी हिमपात भएको रिपोर्टिङको लागि पुगेका थियौँ । राति अबेर चरिकोट फर्कँदा बिजुली नभएर समाचार पठाउन पाइएन । त्यो दिन चरिकोटमा समेत हिमपात भएकोले खरीढुङ्गा नपुगेका पत्रकार साथीहरुले काम गर्ने पत्रिकामा फोटोसहित समाचार आयो, हामीचाहिँ चिल्लै ! यो केही वर्ष अघिको मात्र कुरा हो । ऐठन हुन्छ, काउकुती लाग्ने गरी त्यो पल सम्झँदा अहिले ।

०००

खै समय फेरियो कसरी भनौं । सूर्यले अहिले पनि पूर्वबाटै पृथ्वीको फेरो शुरु गरेर पश्चिम पुगेर केही घण्टाको लागि अलप हुने नियमितता छोडेको छैन । चरिकोटबाट गौरीशङ्कर हिमाल अहिले पनि देखिन्छ र गौरीशङ्कर हिमशृङ्खलाको अन्तिम विन्दुमा रहेको नुम्बुर हिमाल (यो स्वीट्जरल्यान्डको माताहाङ हिमालजस्तै भएकोले यसलाई कतिले माताहाङसमेत भन्ने गरेको राजेश उप्रेती भाइले सुनाउँदै थिए) बाट सखारै सूर्य उदाउने क्रम उस्तै छ । २४ घण्टाको दिन–रातमा पनि तल–माथि भएको थाहा छैन । तामाकोशी उही रफ्तारमा बगिरहेको छ । कालिञ्चोकको टापुमा रहेको कुण्डमा अहिले पनि उस्तै गरी पानी चिहाउन सकिन्छ । मुलुकमा हुने परिवर्तन या विपतको सङ्केत दिन अहिले पनि भीमेश्वरको शिलाबाट पसिना बगेकै छ । शैलुङका सय थुम्का अहिले पनि उसै गरी उभिएका छन् । देउलाङ्गेश्वर महादेव थान रहेको स्थानमा शिवले सतीदेवीलाई ल्याएर कैलाशको दर्शन गराएको स्वस्थानी कथा माघशुक्ल पूर्णिमाबाट एक महिनाको लागि अहिले पनि धेरै घरहरुमा बाचन भएकै छन् । महाङ्काल भगवती मन्दिरभित्र पसेर महिलाले दर्शन गर्न नहुने नियम अहिले पनि परिवर्तन भएको छैन । ठण्डी मौसममा च्छोरोल्पा हिमताल जमेर मानिस दौडन मिल्ने भूमि बन्ने कुरा अहिले पनि रोकिएको छैन । जिरी बजारबीचको खोल्सी अहिले पनि उसै गरी सुसाइरहेको छ ।

तर, समाज फेरिएको छ । बस्ती विस्तार र धुँवा–धूलोको दादागिरीले पुथ्वीका केही नियमहरु परिवर्तन भएका छन् । र, त अब पुसमाघमा हिउँ झर्न छोडेको छ चरिकोटमा । चरिकोटमा मात्र हैन, यो वर्ष त कालिञ्चोक, शैलुङ, चेर्दुङ, मुडे–खरीढुङ्गातिर पनि हिउँ झर्न सकेन । फागुनको अन्तिममा एकाध दिन आकाशमा बादल मडारिएर हिउँको छिर्का झर्दा पनि हामी दौडिएर कालिञ्चोक पुग्न आतुर हुनुपर्ने दिन आयो । हिउँमै लुटपुटिएर जन्मिएको हामीलाई हिउँको रहर भयो ।

हिउँ झर्नु पनि कसरी । कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, चरिकोट उहिलेको जस्तो भर्जिन कहाँ रह्यो र ? ऐँसेलु, चोथ्रो, घँगारुहरुको पोथ्रा भएका चरिकोटको डाँडा–चौरहरुमा अहिले रड, सिमेन्ट र बालुवाको कङ्क्रिट भवनहरु ठडिएका छन् । हिउँमा चिप्लँदै अघि बढ्ने कालिञ्चोकको दुबेचौरमा अहिले जस्ताका छाना टल्कने आकार–आकारका टहरा देखिन्छन् । खरीढुङ्गाको उचाइमा धुवाँ फाल्दै सवारीसाधन मात्र हुइँकिँदैन, घरहरुसमेत थपिँदै गएका छन् । शैलुङको थुम्का मासेर भ्यु–टावर बनेको छ ।

बढ्दो शहरीकरणले अमेरिका, बेलायत, जापानतिरका ठूला–ठूला शहरको झझल्को त मेटाउला तर नेपालको पहाडी थातथलोलाई भौगोलिक तथा वातावरणीय सुन्दरताबाट क्रमशः खण्डित गरिदिएको छ । आधुनिक विकासको रफ्तारमा विगतको भर्जिन भूगोल मात्र खोज्नु त ठीक नहोला तर आधुनिकतालाई इतिहासको तथ्य परिधि ननाघ्ने गरी व्यवस्थापन गर्न सकिँदैन थियो होला र ?

हिउँ नझरे पनि कालिञ्चोकको सुन्दरता घटेको छैन, शैलुङको सय थुम्का ठडिएकै छन्, खरीढुङ्गा र मुडेको महत्व उस्तै लाग्छ, तर हिउँको रहर समुद्रमा मडारिएको छालजसरी मनभित्र मडारिरहेको छ ।

०००

हिउँको रहर ! हामी त आउँदा वर्षहरुमा पनि हिउँको रहर पूरा गरौँला, किनभने यो वर्ष हिमपात नभए पनि आउँदा कुनै न कुनै वर्ष पक्कै हिमपात हुने नै छ । हाम्रो एउटा सहकर्मी, लेखक एवं पत्रकार शेरबहादुर भुजेलको चाहना भने उनको शरीरसँगै धुवाँ बनेर तामाकोशीकिनार आसपास विलीन भएको छ ।

शेरबहादुर भुजेललाई हिउँको रहर थियो कि थिएन, थाहा छैन । दोलखाबाट चरिकोटको हिउँ–बाटो हुँदै कालिञ्चोक टापु उक्लिएको शक्तिमाता कालिञ्चोक भगवतीको दर्शन गर्ने चाह भने रहेछ । उनको मृत्युपछि जीवन लामाले भन्दै थिए– मेरो मनमा एउटै खुट्को रह्यो, शेरबहादुरलाई कालिञ्चोक लैजान सकिन । किनभने शेरबहादुरले उसलार्ई कालिञ्चोक लैजाऊ है भनेका रहेछन् ।

फागुन १४ गते हामी कालिञ्चोक पुगेर फर्कंदा शेरबहादुर भुजेलसँग चरिकोटको सातदोबाटो चोकमा भेट भएको थियो । त्यति बेला उनले जीवनलाई गाली गर्दै थिए, मलाई किन नलगेको भनेर । विडम्बना, शेरबहादुर भुजेलको फागुन २३ गते बिहान सुतेकै ठाउँमा निधन भयो । जीवन लामा अहिले पनि थकथकाउँदै भन्छन्– शेरबहादुरलाई कालिञ्चोक लान पाएको भए अरु केही वर्ष बाँच्ने पो थिए कि ! मेरो मनको खुट्को यही छ ।

प्रतिक्रिया दिनुहोस्