राजनीतिमा सक्रियता केका लागि ?



विद्वान्हरूले सबै नीतिहरूको राजा ‘राजनीति’ भनेका छन् । भनिन्छ– राजनीति दर्शनलक्षित हुनुपर्छ । संसारमा अझै राजनीति दर्शनमा आधारित भएर अगाडि जाँदो छ । संसारमा जहिल्यै पनि तीनवटा विषयले लिड गरिरहन्छ । एक– राजनीति, दुई– खेलकुद र तीन– सिनेमा । बाद बाँकी विषयवस्तु कहिलेकाहीँ विशेष सन्दर्भ, दिवस र सांस्कृतिक पर्वका बेला चर्चायोग्य भई उठ्ने÷उठाइने गरिन्छन् । माथिका तीन विषयवस्तुले नै जनसामान्य मानिसदेखि मै हुँ भन्ने ठूल्ठूला मानिसलाई समेत रिङ्ग्याइरहेका देखिन्छन् ।

जन्मेपछि हरेक प्राणीले आफूजस्तै स्वरूपको सन्तान संसारमा छाडेर जान चाहन्छ । त्यसका लागि ऊ जीवनमा हरसम्भव आफ्नो वृद्धिमा लाग्छ । प्रकृतिको सन्तान भएर ऊ मुक भाषामा वातावरणसँग सङ्घर्ष गर्दै खाना, वंशवृद्धि, जीवन, बासस्थान र आनन्दका लागि अहोरात्र परिश्रम गर्छ । मानिस हो भने पहिले आफ्नो व्यक्तित्व विकासका लागि अध्ययनको बाटो तय गर्छ । सीप सिकेर जीवन जिउन योग्य हुन्छ । जीव वैज्ञानिक चाल्र्स डार्बिनको अभिमत ‘योग्य प्राणीहरू मात्र बाँच्ने र अयोग्य प्राणीहरू प्रकृतिले नै क्रमशः हटाउँछ ।’

संसारका सबै जीवहरूमा मानिस बाठो जीव हो । उसले आफूले प्रकृतिबाट प्राप्त गरेको बुद्धि र विवेकका कारण संसारका सबै प्राणीका तुलनामा योग्य र अब्बल प्राणी कहलिन सक्षम भयो ।

संसारमा चार थरीका प्राणीहरू हुन्छन् । एक– घस्रने वर्गका, जसलाई सरिसृप भनिन्छ । यी प्राणीहरूसँग आहारा ग्रहण गर्ने चेतना, रिस, यौन र डर हुन्छ । सर्प, गोही, भ्यागुता, गोहोरा र छेपाराहरू यो वर्गमा पर्दछन् । इतिहास भैसकेको डाइनासोर यही वर्गमा पर्दथ्यो । पृथ्वीको तापक्रम उच–नीच भएकाले हज्जारौं वर्षअघि त्यो पृथ्वीबाट लोप भयो । दोस्रो थरी चारखुट्टे पशु चाहे ती शाकाहारी हुन् या मांसाहारी, यिनीहरूमा पहिलो वर्गको भन्दा एउटा थप गुण प्रकृतिले थपिदिएको हुन्छ, त्यो हो– माया गर्ने गुण । माया दर्शाउनका लागि उनीहरू चाटेर एक–अर्कामा प्रतिक्रिया जाहेर गर्दछन् । गाईभैँसी, भेडाबाख्रादेखि लिएर बाघ, भालु र सम्पूर्ण जङ्गली जीवजन्तु यसै वर्गमा पर्दछन् ।

पालो आयो तेस्रो वर्गको– यसमा प्रकृतिले मस्तिष्कको विशेष विकास गरिदिएका कुकुर र चिम्पान्जीजस्ता जीवहरू पर्दछन् । यी जनावरले मानिसको आदेश सहजै पालना गर्न सक्ने क्षमता र अनुकरण गर्न सक्ने गुण प्रकृतिबाट प्राप्त गरेका हुन्छन् । कतिपय सवालमा चराहरूमा समेत यी गुण हुन्छन् । सुगा, मैना र सारौंहरूमा बोलीको अनुकरण पाइन्छ भने कुकुरमा बोली मात्र पाइन्न बाँकी अनुकरणका धेरै गुण पाइन्छन् ।

चौथो वर्गमा मानिस पर्दछ । मानिसमा आहारा, बास, वंशवृद्धिका लागि यौनसमागम, माया र अन्य वर्गमा नभएका दुई विशेष गुण बुद्धि र विवेक प्रकृतिले थपिदियो । यही बुद्धि र विवेककै कारण मानिस अहिलेसम्म शासकीय जीवका रूपमा संसारमा टिकेको छ ।

नेतृत्व शक्तिका कारण मानिसले संसार चलायो । संसारले मानिसलाई चलायमान बनाउन सक्षमता प्रदान ग¥यो । अहिले हेर्दा कुनै जीव र वनस्पतिले आफूले पाएको प्राकृतिक धर्म पालनामा केही कमी गरेका छैनन् । सबै आप्mनो बल, विशेषता, गुण, आवाज, गति र लक्षणकै कारण कुनै सन्दर्भमा झन्–झन् विकसित र कुनै सन्दर्भमा लोप हुने स्थितिमा पुगिसके तर मानिसको अवस्था भने आफूले प्रकृतिबाट प्रदत्त सबै प्रकारका सीप, बुद्धि, खुबी, योग्यता र विवेक गुमाएर प्रकतिको सन्तान पनि भनाउन नमिल्ने प्राणीका रूपमा दरियो । यो भन्या सन्तानका नाताले मानिसले आफ्नी जननी प्रकृतिमाथि गरेको अन्तर्घात हो । बदनामी हो । ख्यातानाम प्रकृतिको वरद्पुत्र मानवले आफ्नी आमामाथि गरेको घोर अत्याचार हो । बलात्कार हो ।

यसरी किन भनियो भने मानिसले आप्mनो परिचय सबै गुमाइसक्यो । उसले प्राकृतिकरूपमा पाएका विशेषता र गुणहरूले उसलाई संसारमा दिग्विजय बनाएको थियो तर कालान्तरमा समयका विभिन्न परिवर्तनसँगै उसले आफँैले आफैँलाई स्खलित बनाइछाड्यो । यस्ता गहिरा कुराहरूले अहिलेका मानिसको जीवनमा कुनै प्रभाव छाड्दैनन् । केही चिन्तन र सोचको विकास गर्दैनन् । मात्र मानिस आफू र आफ्ना सन्तानको फाइदा हेर्ने गर्छ । यो कुरा व्यवहारमा शतप्रतिशत लागू हुन्छ ।

दर्शनलाई व्यावहारिकरूपमा प्रयोग गर्ने कार्यलाई विचारकहरूले राजनीति भने । यसो हेरेका खण्डमा वर्तमान राजनीति अनेकानेक ताल, तिक्डम र गोरखधन्दाले भरिएको छ । हामी यो समाजवादी, त्यो प्रजातन्त्रवादी, त्यो उदारवादी अनि ऊचाहिँ वैकल्पिक पार्टीका अध्यक्ष, सभापति, सुप्रिमो र प्रमुख भन्छौं । मख्ख पर्छौं÷पारिन्छौं । ास्तवमा यी सबै भ्रम हुन् ।

शक्तिशालीहरू कहिले विचारका खोल ओढेर त कहिले व्यवहारका पार्टपूर्जामा इन्धन भर्दै शासनका बागडोर हातमा लिन बाह्र–सत्ताइस फर्मुला सजाएका चिन्तन र राजनीतिका शैली लिएर चुनावका बेला मतदाता सामुन्नेमा र अरू बेला जनताका अघिल्तिर आउँछन् । त्यसरी आउनेहरूलाई न लाज हुन्छ, न घिन न कुनै उद्देश्यले वशिभूत भएरै आएका हुन्छन् । गरिब, दीनदुखी, लेम्यान, छेउ लागेको वर्ग र झीनो स्वर भएका मानिसहरूको आवाजलाई प्रतिनिधित्व गर्ने भनेरै जीवनभर उनीहरूकै विरुद्ध काम गर्नेहरू सयकडा नब्बे–पन्चानब्बे प्रतिशत हुन्छन् । यस मानेमा राजनीति अहिलेको परिस्थिति र परिवेशमा फौबन्जारगिरि नै भइसक्यो । यसमा न दर्शनको दाउन छ, न विचारको महक । छ त केवल मिलेर खाऊँ भन्ने कुत्सित मनोभाव र गठबन्धनीय अपसंस्कृति ।

गठबन्धन वास्तवमा ठगबन्धन हो । यो कुरा सुन्न, पढ्न र हेर्न पाइन्छ । भन्नेले अनुकरण मिलाएर भने पनि यसको अन्तर्यले बोकेको आशयार्थले नै गज्जबसँग बुझाएको छ कि यसमा सरिक हुनेहरूले सानो गाउँ–ठाउँदेखि ठूलो राज्य व्यवस्थाका सेवा–सुविधाहरू या लाभका लागि सिर्जित हुने पदमा भागवण्डा मिलाई–मिलाई खाऊँ भन्ने सन्देश मात्र प्रवाह गर्छ । चुरो कुरो बुझ्न विगतका दुई चुनावलाई हेरे पुग्छ । कहिले कोसँग, कहिले कोसँग जोडिएर या फोरिएर कांग्रेस, एमाले, माओवादी, राप्रपा, लोसपा, जसपा, एकीकृत समाजवादी या जनमोर्चा नामक पार्टीहरूले जनतालाई उनीहरूको विवशताको फाइदा उठाउँदै मज्जैले बेवकुफ बनाएका हुन् ।

२०७४ को चुनावमा माओवादी र एमालेको हिमचिमले संसद्मा दुई तिहाइ झन्डै अंकगणितको माहौल बन्यो । दुई शक्ति मिलेर कम्युनिस्टका महाशक्ति नै बनेको भ्रममा अढाइ वर्ष शासन गरे । प्रचण्ड र ओली महोदय एउटै जेटका दुई पाइलट उपनाममा दरिए । फलतः प्रचण्डलाई अढाइ वर्षपछि दिनुपर्ने शासनको बागडोर ओली महोदयले नदिँदा उनीहरूको झगडा क्रमशः दन्तबझानदेखि शुरु भई अन्त्यमा फुटमा टुङ्गियो । दुवैले दुवैलाई सत्तोसराप मात्र गरेनन् कि बोलिएका र जगत्लाई हँसाएर सुनाइएका कुराहरूको सारसङ्ग्रह गरेर पुस्तक निकाल्ने हो भने अठार पुराण तथा महाभारतभन्दा ठूलो कृति तयार हुन्छ । आफू मात्र भन्ने अहम् परिपूर्तिका लागि गरिएको त्यो स्वमाहात्म्य यसपटकको स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनसम्म आइपुग्दा कांग्रेस र माओवादीको घाँटी जोडिएर कतै माओवादीका नेताले त कतै कांग्रेसका नेताले माझै मुखले ‘नेपाली कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको नेपाली कांग्रेस हो’ भनेका कुराहरूलाई सूक्ष्म विश्लेषण गर्दै एमाले अध्यक्ष केपी ओलीले कल, बल र छलपूर्वक इमोसनल राजनीतिका ‘बिग टावर’ भनिने माओवादी अध्यक्ष प्रचण्डलाई शनैःशनैः आफ्नो बालकोट बार्दलीमा ल्याएर अनेक पासा फ्याँकिदिन मिल्ने र हुने सबै खाले पद दिएर आफ्नो अनुकूलको सरकार बनाउन सफल भएकै हुन् । उनले भनेको पुगेको भए यतिखेर २०७९ पुस १० को सहमतिले काम गरिरहेकै हुन्थ्यो । ओली भटाभट कार्यकारी पदहरू आफ्नो हातमा पारेर राष्ट्रपति पदसमेत प्राप्त गरी शासनको अकण्टक सुख भोगिरहेका हुन्थे तर त्यसमा नबोलेरै चिप्ल्याउने स्वभावका कांग्रेस सभापतिले गरेको प्रयासले पल्टा खाएर वर्तमान परिस्थिति बन्यो ।

अन्ततः राष्ट्रपतिमा एमालेका उम्मेदवार पहिलोपल्ट हार खान बाध्य भए । ओलीको डियाजनमा नहिँडेकाले प्रचण्डलाई घुमाएर ओलीले व्यङ्ग्यार्थका वाणहरू प्रहार गर्न थालिसके । भारतीय विशेष दूत क्वात्राको नेपाल भ्रमण र शक्तिशाली राजनीतिक पात्रहरूसँगको भेटघाटपछि राजनीतिको घडी ३ सय ६० डिग्रीमा घुम्यो अनि भए भटाभट पाँच दलीय गठबन्धनबाट क्रमशः छ, सात, आठ, नौ र यतिखेर दश दलीय गठबन्धन बनेको भनिन्छ ।

यसरी राजनीतिलाई फौबन्जारगिरिमा अनुवाद गर्ने अहिलेका राजनीतिक मुखियाहरू हुन् । हरेक मुखियामा राजनीतिक विचारका दाउन सकिएकाले जोसुकैसँग जोडिने र फोरिने महारोगले च्यापेको छ । यसमा कोही खुशी हुने र कोही दुखी हुने काम गर्नुभन्दा किन जोडिएको र किन फोरिएको बुझ्दा स्पष्ट हुन्छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि राष्ट्रिय राजनीतिको कोर्स पूरा भएको अभिव्यक्ति प्रचण्डले दिए । सात वर्षको दुई कार्यकाल पूरा गरी एमालेका तर्फबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी संविधानतः निवर्तमान बनिन् । शपथग्रहण र विदाइ कार्यक्रमपछि लगभग शीतल निवासको राजनीतिक सिनारियो फेरियो । हिजो अठारपल्टसम्म प्रधानमन्त्रीको चुनावमा हार व्यहोरेका कांग्रेस नेता रामचन्द्र एकैपल्टमा राष्ट्रपतिमा चुनिएर शीतलनिवासमा पुगे । वरियताका क्रममा चौथो तर व्यक्तिमा तेस्रो राष्ट्रपति पौडेल हिजो विद्यादेवी भण्डारीले अवलम्बन गरेझैँ व्यवहार देखाएर जनताका मनमा तीतो पस्ने गरी बस्ने कि नागरिक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै उदाहरणीय बन्ने, अब उनकै हातमा छ । सडकमा कारगेट सुविधा लिएर शानका साथ जनतालाई अप्ठ्यारो गर्दै निस्कने हो भने जनताको मर्यादा उनमा खस्कन्छ । होइन भण्डारीको शैलीलाई करेक्सन गर्दै नयाँ फर्मुला लिएर अघि बढ्ने हो भने जनहृदयमा उनी स्थापित हुन सक्छन् ।

यतिखेर निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेमै प्रवेश गरी सक्रिय राजनीतिमा फर्कने बजार–हल्ला छ । आलङ्कारिक राष्ट्रपति भएको व्यक्ति कार्यकारीमा फर्किएर फेरि राज्य सञ्चालक हुनका लागि कि देश असहज परिस्थितिमा पुगी ऊविना देशै नचल्ने हुनुप¥यो, कि उसमा विशेष खुबी हुनुप¥यो, नभा त पदपूर्ति मात्र हुन्छ । नत्र कसैको राजनीतिक उत्तराधिकारीकै रूपमा राष्ट्रपतिलाई फेरि सक्रिय राजनीतिमा ल्याएर राजापाक्ष प्रवृत्ति बनाई बखेडा गर्न खोजिएको हो भने त्यसले समग्र सिस्टमकै बर्खिलाप नगराउला भन्न सकिन्न । नकि एमालेको मात्र । व्यक्ति, पात्र र प्रवृत्तिले समग्र गणतान्त्रिक सिस्टमकै आलोचना हुनु क्रियाशील सबै राजनीतिक पार्टीका लागि शुभ सङ्केत भने पक्कै होइन ।

प्रतिक्रिया दिनुहोस्