तिलोत्तमा गोल्डकप फुटबलमा साबिक विजेता थ्रीस्टार  सेमिफाइनलमा प्रवेश 



बुटवल। 

बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

थ्रीस्टारका लागि खेलको दोस्रो हाफको ३८ औँ मिनेटमा दिनेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले गोलको थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । हिमालयन शेर्पा पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । आइतबारको खेलमा थ्रीस्टारका लोकेन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगर ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिता विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्