आज स्ववियु निर्वाचन- २१ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



Eligible students cast their ballots for the presidential election and several state positions while voting at a polling place in Memorial Union’s Tripp Commons at the University of Wisconsin-Madison on Nov. 6, 2012. The Memorial Union is the designated polling location for campus residents living in Adams, Barnard, Chadbourne, Elizabeth Waters, Slichter and Tripp residence halls. (Photo by Jeff Miller/UW-Madison)

–स्ववियु निर्वाचन हुने क्याम्पसको संख्या ३९ पुग्यो
–काठमाडौं उपत्यकाका ७ वटा क्याम्पसमा स्थगित
–उपत्यकाबाहिर स्थगित हुने क्याम्पसको संख्या २१ पुग्यो
–३० दिनभित्र गरिसक्नुपर्ने
– चार आंगिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत २१ आंगिक क्याम्पसमा आज आइतबार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । ६२ आंगिकमध्ये ३९ मा मात्रै निर्वाचन हुने भएको छ । बाँकी २ वटा क्याम्पसमा निर्विरोध भइसकेको छ ।
विद्यार्थी संगठनबीच सहमति नहुँदा र विवादको कारण क्याम्पसमा विद्यार्थी संगठनले ताला माथि ताला लगाउँदा ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो । स्थगित भएका क्याम्पसमध्ये काठमाडौं उपत्यकाको ७ र उपत्यका बाहिर १४ आंगिक क्याम्पस छन् ।

उपत्यकाका विश्वभाषा, त्रिचन्द्र, रत्नराज्य, पाटन संयुक्त, केन्द्रीय आयुर्वेद, मीनभवन र अस्कल क्याम्पसको मतदान स्थगित भएको छ । उपत्यका बाहिर ठाकुरराम वीरगन्ज, सिद्धनाथ महेन्द्रनगर, धौलागिरि वाग्लुङ, पृथ्वीनारायण पोखरा, वन क्याम्पस पोखरा, पोखरा नर्सिङ, पश्चिमाञ्चल इन्जिनियरिङ, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन इन्जिनियरिङ रामपुर, त्रिभुवन पाल्पा, धवलागिरि वाग्लुङ, विराटनगर नर्सिङ, महेन्द्र मोरङ विराटनगर र महेन्द्र क्याम्पस दाङ छन् । स्थगित भएकामध्ये पोखरामा मात्रै चारवटा रहेका छन् ।

त्रिवि केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीले ती क्याम्पसमा केही दिनभित्रै निर्वाचन हुने दाबी गर्नुभयो । तर, विद्यार्थी संगठनले ती क्याम्पसमा सहमति नभएसम्म निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।

अनेरास्ववियुका महासचिव नरेश रोकायाले ३९ वटै क्याम्पसमा आज निर्वाचन हुने सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अधिकांश क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले तनाव सिर्जना गरेका कारण तत्काल निर्वाचन गर्न सम्भावना रहेको छैन ।’

यसअघि धनकुटा बहुमुखी र गोरखा क्याम्पसमा सभापतिलगायत अन्य पदाधिकारी निर्विरोध भएका छन् । धनकुटामा एमाले निकट अनेरास्ववियु र गोरखामा अनेरास्ववियु क्रान्तिकारीका सभापतिसहितका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

नेविसंघको बागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो । त्रिवि निर्वाचन समितिका सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपति अधिकारीले स्थगित भएका क्याम्पसले ३० दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचनसम्बन्धी निर्देशिकामा चैत ५ गते निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सबै क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेका छांै ।’

त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालित छन् । तीमध्ये दुई आंगिकसहित ७० क्याम्पसमा निर्विरोध भइसकेको छ । करिब सय सम्बन्धन क्याम्पसमा आज निर्वाचन हुनेछ भने करिब सयवटामा स्थगित भएको छ ।

निर्वाचन बिहान ८ देखि दिउँसो ४ बजेसम्म हुनेछ । निर्वाचनमा मतदानका लागि चार आंगिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्दै छन् । पुल्चोक इन्जिनियरिङ, त्रिवि केन्द्रीय क्याम्पस, थापाथली इन्जिनियरिङ र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । समितिका संयोजक अधिकारीले पुल्चोक इन्जिनियरिङमा १४, केन्द्रीय क्याम्पसमा १६, थापाथली इन्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा १२–१२ विद्युतीय मेसिन प्रयोग गरिने जानकारी दिनुभयो ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । सबै क्याम्पसले मतदान स्थल तयार गरिसकेका छन् । मतपत्र तयारी गरिसकेका छन् । त्रिविले मतदानमा खटिने कर्मचारीलाई एकदिनको भ्रमणभत्ता दिने व्यवस्था गरेको छ । समितिका सदस्यसचिव अधिकारीले निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षको फरकफरक मतपत्रको व्यवस्था हुने जानकारी दिनुभयो ।

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । ‘शुरूमा प्रत्यक्षको नतिजा सार्वजनिक भएपछि समानुपातिकको नतिजा सार्वजनिक गर्नेछांै । त्यसपछि पुनः आन्तरिक निर्वाचनमार्फत समानुपातिक मतदानको मतभारको आधारमा धेरै मत ल्याउनेमध्येबाट उपाध्यक्ष र सहायक सचिव चुनिने व्यवस्था गरिएको छ’ –सदस्य सचिव अधिकारीले भन्नुभयो ।

गृह मन्त्रालयको समन्वयमा निर्वाचन सुरक्षार्थ मतदान स्थलभित्र र बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी परिचालन गरिनेछ । त्रिविले शनिबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहयोग गर्न सबै सरोकारवालाई अपिल गरेको छ ।

अपिलमा संघ, प्रदेश, स्थानीय र सबैलाई निर्वाचनमा सहयोग गर्न तथा निर्वाचनमा सरोकार राख्ने सबैलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ ।

विसं २०७३ मा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । १४ वर्षदेखि त्रिवि केन्द्रीय क्याम्पससहित उपत्यकाको १३ र उपत्यकाबाहिरका २३ गरी ३६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्