घले गाउँमा सर्वाधिक राशि पुरस्कारकाे फुटबल प्रतियोगिता हुने



लमजुङ ।

स्मार्ट भिलेज घले गाउँमा वैशाख  १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घले गाउँबासीले पहिलो पटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टिम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटबल क्वलहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागी हुन्छन् ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले  बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलो पटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ । द्वितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घले गाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।  समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटबल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो ।

त्रिवेणी युवा क्लब बेंसीसहरले प्रथम पुरस्कार ५ लाख रुपैयाँ राखेकोमा घले गाउँमा आयोजित आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता जिल्लाको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

घले गाउँमा आयोजना हुने आमन्त्रित फुुटवल प्रतियोगितामा भाग लिने क्लवहरुको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगितामा जिल्ला बाहिरका टीममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौँ, गोरखा ब्वयज बुटवल र (रड्स) रामपुर चितवन छन् ।

यसैगरी, लमजुङका क्लबमा लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध युथ क्लब भोटेओडार र बेंसीशहर युथ सोसाइटी सेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ ।  क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशिको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्