आजबाट शुरु हुने २२ औं तिलोत्तमा गोल्डकपमा करेन्ट रुपन्देही– ११ र सुदूरपश्चिम ११ बीच उद्घाटन खेल



बुटवल । 

यस क्षेत्रकै सर्वाधिक धनराशि पुरस्कारको २२औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ ।रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको उद्घघाटन खेलमा करेन्ट रुपन्देही– ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।

कोरोना महामारी र आर्थिक अभावका कारण चार वर्ष सम्म रोकिएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले भाग लिएका छन् । प्रतियोगितामा नेपाल पुलिस, एपीएफक्लब, हिमालय शेर्पा, थ्री स्टार, फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

जितेश गुरुङको कप्तानीमा ‘ए’ डिभिजन खेल्ने र स्थानीय खेलाडीहरू मिश्रित रुपन्देही ११ टिम तयार भएको व्यवस्थापक एवं एन्फा रुपन्देहीका उपाध्यक्ष मुकेश कुँवरले बताए । दिपेश थापा गोल रक्षक रहने टिमको प्रशिक्षक पुकार गहतराज छन् । सुदूरपश्चिम ११मा अनुभवी खेलाडीहरू रहेकाले रुपन्देहीलाई चुनौतीदिने आंकलन गरिएको छ ।चैत ११ गते गोल्डकपको फाइनल  प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख ११हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँचलाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । २०७५ सालमा भएको २१औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

चार वर्षअघि विजेताले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

पहिलो चरणका खेल अवलोकनका लागि दुई सय र एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्