सम्पत्ति शुद्धीकरण गर्नेहरुलाई नछोड



अवैध स्रोतबाट सम्पत्ति कमाउनेहरुले जस्तोसुकै अपराध गर्न पनि छोड्दैनन् । उनीहरुले अवैध सम्पत्तिलाई शुद्धीरकण गरी त्यसलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छन् । लगानीका नाममा उनीहरुले विभिन्न धन्दाहरुसमेत सञ्चालन गर्ने गरेका छन्, जुन धन्दाले सम्बन्धित व्यक्तिको इच्छा त पूरा होला तर समग्र समाज र मुलुकको हित गर्न सक्दैन । कुकर्मबाट धनार्जन गर्न लिप्त हुनेहरु समाज तथा मुलुकका धमिरा हुन् । त्यस्ता धमिराहरुलाई नष्ट गर्न नसकेमा कानुनी शासनसमेत स्थापना हुन सक्दैन र यसले सिंगो लोकतान्त्रिक शासन व्यवस्थामाथि समेत गम्भीर प्रश्न सिर्जना हुन पुग्छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी अहिले विश्वमा टाउको दुखाइको विषय बन्दै गइरहेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीसम्बन्धी आपराधिक सञ्जालको दायरा सीमाविहीन हुने भएकाले पनि यो कुनै एउटा मुलुकको मात्र नभएर अन्तर्राष्ट्रिय साझा समस्याको रुपमा रहेको देखिन्छ । त्यसैले नेपालमा पनि त्यस्तो हर्कत हुन नदिन राज्यले विशेष र प्रभावकारी योजना तथा कार्यक्रम ल्याउनुपर्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेका उजुरीहरुलाई हेर्दा हामीकहाँ पनि सम्पत्ति शुद्धीकरण गर्नेहरुको संख्या बढेको देखिन्छ । अवैध स्रोतबाट धन आर्जन गर्ने क्रम बढ्नुले कुशासनको अवस्थालाई झल्काउँछ । राज्यका नियमनकारी तथा जिम्मेवार निकायहरुले आफ्नो भूमिका अनुसारको काम गर्न नसक्दा शुद्धीकरण गर्नेहरुले प्रश्रय पाइरहेका छन् । फेरि हामीकहाँ दण्डहीनताको संस्कृति मौलाउँदो छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उजुरी परेअनुसार अनुसन्धान प्रक्रियालाई सशक्त पार्न सकेको छैन । विभागमा हाल सम्पत्ति शुद्धीकरणविरुद्धका २१ सय ५२ वटा उजुरीहरु रहेकोमा झन्डै २ सय उजुरीमाथि विस्तृत अनुसन्धान थालिएको र झन्डै १३ सय उजुरीहरु प्रारम्भिक अनुसन्धानको क्रममा रहेको विभागले जनाएको छ । अब विभागले सबै उजुरीहरुको उत्तिकै संवेदनशील भएर छानबिन प्रक्रिया सशक्त पार्नुपर्छ ।

अवैध स्रोतबाट अकूत सम्पत्ति कमाएर शुद्धीकरण गर्नेहरुले आफूहरु बच्न विभिन्न खाले शक्तिकेन्द्रहरु पनि धाउने गरेका छन् । शक्तिकेन्द्रलाई आर्थिक प्रलोभनमा पारेर अनुसन्धान प्रक्रियासमेत कमजोर पारी उम्कने प्रयास उनीहरुबाट हुने गरेको छ । हामीकहाँ सबैभन्दा बढी शुुद्धीकरण बैंकिङ कसुरबाट हुने गरेको छ भने कर छली, ठगी, जालसाझी, लागूऔषध तस्करी, संगठित अपराधबाट हुने शुद्धीकरणको क्रम पनि उस्तै छ ।

त्यसैले राज्यका विभिन्न निकायले ती क्षेत्रमा हुने बदमासीलाई रोक्न आफ्ना संयन्त्रलाई सोही अनुसार परिचालन गर्न जरुरी छ । साथै यसलाई रोक्न हामीकहाँ भएका कानुनी, नीतिगत तथा संरचनागतलगायतका प्रयासलाई प्रभावकारीरुपमा अघि बढाउनु अत्यावश्यक छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि परेका उजुरीहरुबारे सत्यतथ्य छानबिन गरी शुद्धीकरण गर्नेहरुलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन । सम्पत्ति शुद्धीकरण गरेर कालो धनलाई सेतो बनाउन खोज्नेलाई नछोड ।

प्रतिक्रिया दिनुहोस्