कुण्ड–कुण्ड पानी



गाउँमा चौतारी–जमघट परम्परागत नै हो । मनका पोका फुकाउने ठाउँ हो जमघट । अस्ति शनिबारको जमघटमा एक अधबैँसे शिक्षकले भने, ‘हिजो उच्च माध्यमिक कक्षामा सामाजिक पढाउँदै थिएँ । देश दुनियाँको कुरा निस्क्यो । कुरैकुरामा जनता के हो भन्ने प्रश्न उभियो ।

परम्परागत व्याकरणको आधार लिएर मैले भनेँ, ‘जन’ भनेको व्यक्ति–मानिस । ‘ता’ समूहवाचक प्रत्यय । ‘जन’ शब्दमा ‘ता’ जोडिएर जनता बनेपछि यस शब्दले मानव समूह, मानवसमाज, मान्छेहरुको जमात भन्ने अर्थ दिन्छ । यसले मान्छेहरुको बहुसङ्ख्यालाई जनाउँछ ।’

‘म भनौँ सर’, एकजना विद्यार्थीले हात उठाई उभिएर भन्यो, ‘जनता भनेको व्याकरणको प्रकृति–प्रत्यय होइन । जनता भनेको त साहुको खेतबारी हो । साहुहरुले जनतामा आफ्ना खेताला कज्याउँछन् र सत्ताको खेती गर्छन् । पद–पैसा फलाउँछन्, मोज गर्छन् । अहिलेसम्म हाम्रो मुलुकमा जनता भनेको मान्छे होइन । साहुको खेतबारी हो ।’

अर्को विद्यार्थीले हात उठाउँदै उभिएर भन्यो, ‘मेरो विचारमा जनता भनेको जङ्गल हो । जङ्गलमा रुख, लहरा, झाल, फल, जडीबुटी सबै छन् । जङ्गलमा जनावरहरु पनि छन् । दाउरेले दाउरा काट्छ । घाँसेले घाँस काट्छ । स्याउला काट्छ । काठ तस्करले रुखै काट्छ । बलियाले निर्धा खान्छ । ठूलाले साना खान्छ । भोका मनुवाले फलमूल, जीवजन्तु जे भेट्छ टिप्छ, खान्छ । कतिले दह्रै सिकार गर्छन् र मन परेका पशुपक्षीको मासु खान्छन् । बिचरा जङ्गल आपूm निर्दो छ, भोको छ । चारैतिरबाट थिचोमिचोमा छ । अरुलाई कोकोहोलो गर्न दिन्छ । आपूm चुप रहन्छ । कसैले डढेलो नै लाइदियो भने पनि आपैmँ निभाउन सक्दैन । व्यवस्थित गर्न पनि सक्दैन । जनता बिचरो त प्रतिक्रियाविहीन जङ्गल हो ।’

अर्को विद्यार्थीले मुठ्ठी उठाउँदै भन्यो, ‘जनता धर्ती हो । पहाड बनेर उठ्न पनि सक्छ । सम्म बनेर पसारिन पनि सक्छ । सहनशील छ । वसुन्धरा हो, सम्पदाले भरिएको छ । उर्बरा छ । डाँकाहरुलाई पनि पालेको छ । जसले जे गरोस् सहेको छ । जहाँ–जहाँ, जसरी, जस्तोसुकै घाउ लाइए पनि लुछाचुँडी गरे, चिथोरे, कोपरे, फोहोर गरे पनि सहिदिएको छ । भूकम्प पनि ऊ आपैmँ स्वेच्छाले आयोजित गर्दैन । भित्रका प्लेटहरु जुधे भने हल्लिदिन्छ । नत्र नहल्लिई बस्छ । सबै प्रकृति हेर्दा जनता धर्ती हो । धर्ती नै हो जनता । ऊ कसको परिक्रमा गरिरहेको छ ? उसैलाई थाहा छैन ।’

‘मेरो विचारमा जनता जङगल पनि होइन, धर्ती पनि होइन । अथाह गहिराइको समुद्र हो, सागर हो । अलि धेरै जनता जुटेका देख्दा मानिसहरु ‘ओहो जनसागर !’ भन्छन् नि ! हा,े जनता समुद्र नै हो । समुद्रमा के छैन ? सब थोक छ । हीरा, मोती, मणिमाणिक्य, नुन, तेल, चिनी नसक्नु र बुझी नसक्नुका अनेकौँ जीव, वनस्पति जे पनि छ समुद्रमा । तर समुद्रको आफ्नै उपयोगका लागि भने केही पनि छैन । सम्पत्तिमा धनी भएर पनि उपभोगमा गरिब छ समुद्र ।’ अर्को एक विद्यार्थी आफ्नो तर्क राख्छ ।

कुरा नसक्किँदै अर्को विद्यार्थी औँला ठड्याएर उठ्छ र विमति जनाउँदै भन्छ, ‘जनता खहरे खोला हो । समुद्र होइन जनता । समुद्र त आपूmमा गडेरीगम्म छ । क्रियाशील छ । छाल उराल्न सक्छ समुद्र । ज्वारभाटा उफार्न र थचार्न सक्छ । जनता त महिनौंसम्म सुकिबस्छ । मौसमले अलि बढी बर्सात दियो भने बाढी बनेर असमेल भइदिन्छ, बर्सातको पानी घट्यो कि बाढी सुक्यो । खडेरी प¥यो भने त कुन ढुङ्गामुनि छ जनता खोज्दा भेटिँदैन । समुद्रको त कुरै नगरौँ, सदानीरा नदी पनि होइन जनता, जनता साक्षात खहरे खोला हो । यसको भरै छैन ।’

त्यसपछि विद्यार्थीबीच कसैले भन्यो, ‘जनता खास केही होइन, जनता त जन्ती हो ।’ कसैले झोक्किएर भन्यो, ‘जनता मलामी हो ।’ कसैले भन्योे, ‘जनता जाली नेताको भ¥याङ हो ।’ कसैले भन्यो, ‘जनता सडक हो ।’ एकजनाले उठेर भन्यो, ‘साहूहरुका लागि नाफा कमाउने, उत्पादन गरिदिने कारखाना हो जनता ।’ एकजना विद्यार्थीले निक्कै जोशिलो पारामा उठेर भन्यो, ‘जथाभावी नबोलौँ साथी हो, जनता त भूसको आगो हो । बतास लाग्यो भने दन्किन्छ ।’

अलि होचो कदको एकजना विद्यार्थीले उठेर अग्लो आवाजमा भन्यो, ‘बढी बढाएर, चढाएर नबोलौँ साथी हो, मेरो विचारमा जनता त भेडाको बथान हो । भीड हो । भीड र भेडा एउटै कोखका दुईवटा शब्दहरु हुन् ।’

एकजना नेताको छोरोजस्तो लाग्ने विद्यार्थीले भलाद्मी पल्टँदै भन्यो, ‘तपाईंहरुलाई थाहै छैन जनता त गहिरो रहेको भुमरी हो, यसले कहिले गाड्छ, कहिले उतार्छ पनि । अर्र्को एकजनाले बीचैमा भन्यो, ‘जनता त सकिए । हामी जसलाई जनता भन्छौँ ती सबै पार्टीका कार्यकर्ता हुन्, जनता होइनन् । घरघरमा गएर सोध्नुहोस्, कसैले भन्छ– म कम्निस्ट हुँ, कसैले भन्छ, कांग्रेस हुँ । कसैले मधेसवादी हुँ भन्ला । जात हुँ भन्ला, जनजात हुँ भन्ला । म जनता हुँ, कसैले भन्दैन, भन्छ त ? कसले भन्छ ?’

अर्को एक विद्यार्थीले मुड्की उचाल्दै उठेर भन्यो, ‘जनता युगान्तकारी महाशक्ति हो । संसार बदल्ने सर्वशक्तिमान् ऊर्जा हो । जनता इतिहासको निर्माता हो । जनतालाई हेपेर नबोलौँ है ।’

‘हाम्रा हजुरबाबा भन्नुहुन्छ, ‘राणाकालमा रैती भनिन्थ्यो । दुनियाँ पनि भनिन्थ्यो । सरकारी रीतिथिति रिट्ठो नबिराई मान्ने रैती । जति पनि दुनिन सक्ने दुनियाँ । ०७ सालपछि जनता भन्न थाल्या हो । नाउँ फेरिएको मात्र हो । स्वभाव फेरिएको छैन । अरिङ्गालको गोलो जत्तिको पनि छैन नेपाली जनता । गोलोमा ढुङ्गा हान्दा त ज्यान जोगाउन गाह्रो पर्छ । तर जनता ! पाँच वर्षसम्म लगातार शोषण गरिआएको नेताले एक छाक जाँड–मासु रेलिदियो भने सबै इतिहास बिर्सेर भोट त्यसैलाई खन्याउँछन् । चुनाव जितेपछि प्रधानपञ्च जीतलाल भन्थ्यो, ‘इसबार भी जनताको गधा बना दिया ।’ मेरो विचारमा राजिनीतिक चेतना नउठेको जनतालाई खासमा जनता भन्न मिल्दैन ।’ मलाई त हजुरबाका कुरा ठिक्कै लाग्छ’, अर्को एक विद्यार्थीले टिप्पणी ग¥यो ।

‘हजुरबाका कुराका पछि लागी हिँड्ने नातिहरु हुँदासम्म यो मुलुक हजुरबा नै भइरहन्छ । लौरो नै टेकिरहन्छ । आवश्यकता यहाँ म्याराथनको छ, सोचविचार यतिसम्मका बूढा छन् । बरु अब नयाँ युगका लागि नेपाली जनतालाई नयाँ किसिमले प्रशिक्षित गरौँ । नयाँ किसिमले नयाँ जनताको परिभाषा गरौँ । भन्नुहोस् सरलाई कस्तो लाग्छ ?’ पछिल्लो वक्ता विद्यार्थीले मतिर हेरेर सोध्यो ।

‘मेरो विचारमा कुनै पनि गन्तव्यमा पुग्नका लागि अगाडि बढ्न चाहनेले उपयुक्त बाटो पहिल्याउनुपर्छ , बाटो बनेकै रहेनछ भने आपैmँले नयाँ–नयाँ बाटो बनाएर पनि अघि बढ्नुपर्छ जस्तो लाग्छ । म आशा प्रयत्न र विश्वासको पक्षमा छु’, मैले भनेँ ।
मलाई लाग्यो, मेरो जवाफ गोलमटोल छ । म आपैmँ पनि स्पष्ट छैन जनता के हो ?

‘जनता लाहुरे हो ।’ चौतारी जमघटका एक बौद्धिक व्यक्तित्व भनिनेले मुस्कुराउँदै भने, ‘राणाशासकले विदेशी सेनामा भर्ती खोलेर बेलायतको जीत पनि हाम्रै जीत हो भन्ने भाव नेपाली जनजनमा रोपेपछि हाम्रो देशका जनतामा लाहुरे संस्कृति मौलाएको हो । विदेशमा गए बढी कमाइ हुन्छ, स्वदेशमा बसेर के पाइन्छ र ? भन्ने सोचविचार मौलाएको हो । विदेश भनेपछि हुरुक्कै हुने जनता लाहुरे नै हो ।’ जमघटका एक बुज्रुकले भने ।

‘म यस टिप्पणीसँग सहमत छैन । हामीले हरेक परिघटनालाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । हैन र ? सुगौली सन्धिअघि, सुगौली सन्धिपछि, ०७ सालअघि, ०७ सालपछि, ०१७ सालअघि, ०१७ सालपछि, ०४६ सालअघि, ०४६ सालपछि अनि ०६२ सालअघि, ०६२ सालपछि नेपालमा जनताको परिभाषा बदलिएको छ । राष्ट्र र राष्ट्रियताकै परिभाषामा फेरबदल आएको छ । राष्ट्रिय पहिचानका ठाउँमा अहिले जातीय पहिचानका कुरा पनि आएका छन् । जनताको पहिचान र परिभाषामा नेपालमा अहिले जति अन्योल इतिहासमा कहिल्यै थिएन ।

हामीले हाम्रो परिभाषा बनाएनौँ । भएको पनि छोड्यौँ । जन, जनता, जनतन्त्र, जनजीविका हाम्रै शब्दहरु होइनन् र ? राष्ट्र, राष्ट्रियता हाम्रा शब्दकोशमा थिएनन् र ? हामीले हाम्रा स्वदेशी शब्दमा विदेशी अर्थ जोडेर, समस्या चुल्याएका छौँ । यसो हुनु राम्रो होइन ।’ चौतारी जमघटका सभापति वरिष्ठ नागरिकले भन्नुभयो । त्यसपछि आजको जमघट यत्तिमै उठ्यो ।

प्रतिक्रिया दिनुहोस्