सम्पत्ति शुद्धीकरणविरुद्ध २१५२ उजुरी : बैंकका सीईओ, उच्च व्यापारी, सेयर कारोबारीहरू छानबिनको दायरामा



–२ सय विस्तृत र १ हजार ३ सय प्रारम्भिक गरी १५ सय उजुरीमाथि छानबिन
–सम्पत्ति शुद्धीकरण गर्नेको नेक्सस उच्च राजनीतिक तहसम्मै
– राजनीति र सरकार अस्थिर हँुदा सम्पत्ति शुद्धीकरण गर्नेहरूको संख्या बढ्ने
–अनुसन्धान गर्ने निकायमाथि दबाब

काठमाडौं । अवैध स्रोतबाट आर्जन गरी कालोधनलाई सेतो बनाउने केही ठूला बैंकका सीईओ, उच्च व्यापारी, सेयर कारोबारीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत छानबिनको घेरामा परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाल विभिन्न कसुरका गरी २१ सय उजुरी रहेका छन् । तीमध्ये २ सय मुद्दामाथि विस्तृत अनुसन्धान थालिएको छ भने करिब १३ सय उजुरीको प्रारम्भिक अनुसन्धान थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार सम्पत्ति शुद्धीकरणमा सबैभन्दा बढी बंैकिङ कसुरका उजुरी परेका छन् । यस्तै, कर छली, लागुऔषध, तस्करी, आतंकवादमा वित्तीय लगानीविरुद्धको उजुरी आउने क्रमसमेत बढेको विभागले जनाएको छ ।

विभागमा परेका उजुरीमध्ये ७ सयभन्दा बढी बैंकिङ कसुर, भ्रष्टाचार, करछलीसँग सम्बन्धित छन् भने लागुऔषध, धम्की, ठगी अपहरण, मानव बेचबिखन, जाली राहदानीलगायतका उजुरी ७ सय ५० बढी रहेको विभागले जनाएको छ ।

विभागका अनुसन्धान अधिकृतहरूका अनुसार सम्पत्ति शुद्धीकरण गर्नेहरूले सबैभन्दा बढी लगानी घरजग्गा कारोबारमा लगाउने गरेका छन् भने सेयर तथा हुन्डी कारोबारसमेत गर्ने गरेका छन् । विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति शुद्धीकरणविरुद्धका ८२ वटा उजुरी परेका थिए भने चालु आर्थिक वर्षमा ८ वटा उजुरी परेका छन् । सम्पत्ति शुद्धीकरण गर्नेहरूले सो पैसा विदेशमा समेत पठाउने गरेको बताइएको छ । राजनीति र सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण गर्नेहरूको संख्या बढ्ने विभागका अधिकृतहरूको अनुभव छ ।

विभागका अनुसन्धान अधिकृतहरूका अनुसार विभागमा रहेका २१ सय बढी उजुरीमा ठूलाठूला व्यापारीहरूको समेत नाम किटान गरेर कारबाहीको माग गरिएको छ । ‘ठूलाठूला व्यापारीका विरुद्धमा सम्पत्ति शुद्धीकरण गरेको भनेर किटानीका साथ उजुरी परेको छ, हामी त्यसलाई स्क्रिनिङ गरिरहेका छौं’ –विभागका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने । केही व्यापारीहरूले कालोधनलाई सेतो बनाएर सम्पत्ति शुद्धीकरण गरेको आधारहरू भेटिएकाले उनीहरू पनि विस्तृत अनुसन्धान शुरू गरिएको विभागले जनाएको छ ।

नेपालमा हाल सम्पत्ति शुद्धीकरण गर्नेहरूको संख्या बढ्दै गए पनि उनीहरू विभिन्न शक्तिकेन्द्रको प्रभावमा उम्कदै आइरहेका छन् । विगतमा विभागले छानबिन गरे पनि शक्तिकेन्द्रको दबाबमा छानबिन रोकिने गरेको थियो । विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले सम्पत्ति शुद्धीकरण गर्नेहरूमाथि हाल विभाग कठोर रूपमा प्रस्तुत भइरहेको दाबी गर्नुभयो । ‘विभागले २ सय उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ भने १३ सय उजुरीमाथि प्रारम्भिक अनुसन्धान थालेको छ, अनुसन्धान निष्पक्ष रूपमा थालिएको छ’ –पोखरेलले भन्नुभयो ।

सम्पत्ति शुद्धीकरणमा प्रमुख कसुर
बैंकिङ कसुर
कर छली
ठगी, जालसाजी
लगूऔषध
तस्करी
आतंकवादमा वित्तीय लगानी
संगठित अपराध

प्रतिक्रिया दिनुहोस्