उपराष्ट्रपति निर्वाचनको मौन अवधि शुरू



 काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा मौन अवधि लगाएको छ ।

निर्वाचन आचारसंहिता २०७९ बमोजिम प्रचारप्रसारमा निषेध गरिएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाचनको हुने ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न सबैलाई हार्दिक आग्रहसमेत गर्नुभएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम सो अवधिसम्म राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध निकायले निर्वाचनको प्रचारप्रसार गर्न हु“दैन ।

त्यसै गरी निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार र मत माग्न पाउँदैन ।

त्यसै गरी एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने पनि आयोगले जनाएको छ ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको थियो ।

उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा, रामसहायप्रसाद यादव गरी चार जनाले प्रतिस्पर्धा गरिरहनुभएको छ । प्राविधिक रूपमा प्रमिलाकुमारी यादवको उम्मेदवार कायम भए पनि उहा“ले आफ्नो समर्थन रामसहायप्रसादलाई रहेको भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।

यसैबीच उपराष्ट्रपतिका उम्मेदवारहरूले मत माग्न मंगलबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका थिए । १० दलीय रहेको सत्तागठबन्धनबाटै यादव र झाको उम्मेदवारी परेको थियो । सत्तागठबन्धनका बैठकले यसअघि नै आधिकारिक उम्मेदवारको रूपमा जसपाबाट उम्मेदवारी दिने निर्णय गरेको हो । यादवले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्