स्ववियु निर्वाचन-२०७९ : चुनाव प्रचारका लागि ६ दिन मात्र

दुई आंगिकमा निर्विरोध



Eligible students cast their ballots for the presidential election and several state positions while voting at a polling place in Memorial Union’s Tripp Commons at the University of Wisconsin-Madison on Nov. 6, 2012. The Memorial Union is the designated polling location for campus residents living in Adams, Barnard, Chadbourne, Elizabeth Waters, Slichter and Tripp residence halls. (Photo by Jeff Miller/UW-Madison)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ दिन मात्र चुनाव प्रचारप्रसार गर्न पाइनेगरी कार्यतालिका लागु गरेको छ । त्रिविले उम्मेदवारको खर्च कम गर्न र क्याम्पसमा धेरै समय पढाइमा बाधा हुन नदिन ६ दिनको समय तोकेर प्रचार गर्न दिएको हो ।

त्रिविले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि अर्थात २ गते मध्यरातदेखि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

आइतबार उम्मेदवारको मनोनयन दर्ता भएलगत्तै विद्यार्थी संघसंगठनहरूले शान्तिपूर्ण रूपमा चुनावी प्रचार शुरू गरेका छन् । चुनाव प्रचारको क्रममा निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले पहिलाजस्तो क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वालपेन्टिङ गरेका छैनन् । केही संगठनले क्याम्पस परिसरमा राखेको तुल र ब्यानरसमेत क्याम्पस प्रशासनले हटाएको छ । भित्ते लेखनलाई पूर्ण निषेध गरिएको छ ।

विद्यार्थी संघसंगठन र उम्मेदवारले भने कम समयका कारण निर्वाचनको खासै प्रचार गर्न नपाएको गुनासो पोखेका छन् । तर, त्रिविले विद्यार्थीको हितको लागि प्रचारप्रसार गर्न कम समय दिएको स्पष्ट पारेको छ । त्रिवि निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपति अधिकारीले आचारसंहिताले तोकेअनुसार प्रचार गर्न खुला गरेको जिकिर गर्दै भन्नुभयो– ‘थोरै समय प्रचार गर्दा निर्वाचन प्रभावकारी हुने र क्याम्पसको कक्षा नबिथोलिने भएकोले प्रचार अवधि घटाएका हौं । उहाँका अनुसार प्रचारको क्रममा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

त्यसै गरी सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ए–फोर साइजको एकै रङको पर्चा मात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्ने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको छ ।

निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गरेको छ ।

यसैबीच एकीकृत समाजवादी निकट अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच भागबण्डा भए पनि उपत्यकाको अधिकांश क्याम्पसमा नेविसंघको इतर समूहले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा नेविसंघका नेता विष्णु बडेलाको नेतृत्वमा नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट प्यानल बनाइएको छ । त्रिविमा संस्थापन पक्षबाट श्यामराज जोशीलाई उम्मेदवार बनाइएको छ । जनप्रशासन क्याम्पसमा शिविर पाण्डे र नेपाल ल क्याम्पसमा माजिद परवेजले बागी उम्मेदवारी दिनुभएको छ । त्यस्तै, शंकरदेव क्याम्पसमा सुशील धामी सभापतिमा बागी उम्मेदवार बन्नुभएको छ । सो क्याम्पसमा संस्थापनबाट सुशान्त बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

पब्लिक युथ क्याम्पसमा शोभा बस्ताकोटीले उम्मेदवारी दिनुभएको छ । सो क्याम्पसमा नेविसंघले सभापतिमा क्रान्तिकारीलाई सघाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नेविसंघका इतर समूहले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

विद्यार्थी संगठनबीच विवादको कारण राजधानीको त्रिचन्द्र, पाटन, शंकरदेव, आयुर्वेद, नेपाल कमर्स क्याम्पसलगायतमा मनोनयन हुन सकेको छैन । त्रिविले चैत ५ गते निर्वाचन हुनेगरी मनोनयन गर्न निर्देशन दिइसकेको छ । राजधानीबाहिर पृथ्वीनारायण क्याम्पसमा तत्काल निर्वाचन नगर्न उच्च अदालतले आदेश दिएको छ । वीरगञ्जको ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनबीच तनाव कायमै रहेको छ ।

दुई आंगिकमा निर्विरोध

त्रिभुवन विश्वविद्यालयको दुई आंगिक क्याम्पसमा सभापतिसहित सबै निर्विरोध निर्वाचित भएका छन् । आइतबार मनोनयनको दिन सबै विद्यार्थी संगठनको सहमतिमा दुुई क्याम्पसमा सभापति सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

त्रिवि निर्वाचन केन्द्रीय निर्वाचन परिचालन तथा अनुगमन समितिले दिएको जानकारी अनुसार धनकुटा बहुमुखी र गोरखा क्याम्पसमा सभापति लगायत अन्य पदाधिकारी निर्विरोध भएका छन् । धनकुटामा एमाले निकट अनेरास्ववियु र गोरखामा अनेरास्ववियु क्रान्तिकारीका सभापति सहितका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालित छन् । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरूमध्ये कति वटामा निर्वाचन प्रक्रिया शुरू भयो भन्ने विषयमा भने जानकारी प्राप्त भएको छैन । समितिका प्रमुख प्रा. पशुपति अधिकारीले सम्बन्धन प्राप्त क्याम्पसबाट केही तथ्याङ्क नआएको कारण कति वटामा प्रक्रिया शुरू भयो भन्ने विवरण प्राप्त हुन नसकेको बताउनुभयो । तर, विद्यार्थी संघसंगठनहरूले आ–आफ्नै दाबी गरेका छन् । नेविसंघले ८, अनेरास्ववियुले १२, अनेरास्ववियु क्रान्तिकारीले ७ क्याम्पसमा विजयी हासिल गरेको दाबी गरेको छ । अखिल क्रान्तिकारीले आफ्नो संगठनले १८ क्याम्पसमा सभापतिमा विजयी हासिल गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्