पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम नै सुरु भएन 



पर्वत। 

पर्वतमा चार वटा मोटरेबल पुलको निर्माण कार्य सुरु नहुँदै अनिश्चित बनेको छ । जनप्रतिनिधिहरु र स्थानीयवासीको निरन्तरको दबाबका बाबजुद पनि तत्काल निर्माण गर्नुपर्ने र पटक पटक बजेट पुस्तिकामा परेका ४ वटा पुलहरुको निर्माण प्रक्रिया बजेट अभावको कारण अझै अनिश्चित भएको हो ।

जिल्लाका ४ वटा महत्त्वपूर्ण स्थानहरुमा मोटरेवल पुल निर्माण गर्ने यस अघि नै सरकारले निर्णय गरे पनि हालसम्म पनि ती स्थानहरुमा मोटरेवल पुलको निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । कालीगण्डकी र मोदी खोलामा निर्माण हुने मोटरेवल पुलको निर्माण कामले गति लिन नसक्दा यी स्थानहरुमा सवारी आगमन तत्काल सुचारु हुने नदेखिएको हो ।

बहुप्रतिक्षित माझफाँटको बगरफाँट देखि बेनी बजार जोडने मोटरेवल पुलको टेण्डर यस वर्ष पनि आव्हान नै हुन सकेको छैन ।  यस स्थानमा अस्थायी रुपमा बेलिव्रीज निर्माण भने थालिएको छ । पक्की मोटरेवल पुल निर्माणको लागि ठेक्का आव्हान भने अझै भएको छैन । सडक विभागका इन्जिनियर नरेन्द भट्टका अनुसार अर्थ मन्त्रालयको नयाँ आयोजना सुरु नगर्ने परिपत्रका कारण उक्त पुलको निर्माण प्रक्रिया यस वर्ष पनि नहुने भएको छ । सोही परिपत्रकै कारण कल्लेरीघाट मोटरेवल पुलको काम पनि रोकिएको छ । उक्त पुलले कुश्मा र बलेवालाई सडक सञ्जाल मार्फत जोड्नेछ ।

यसैगरी पटक पटक बजेट विनियोजन भए पनि निर्माण कार्य सुरु नभएको कुश्मा बजार र ज्ञादी क्षेत्रलाई जोड्ने झाप्रेबगर मोटरेवल पुलको काम अझै पनि सुरु भएको छैन । झाप्रेबगर मोटरेवल पुलको निर्माण कार्यको लागि डिजाइन स्टिमेट फाइनल भए पनि विभागले अझै पनि ठेक्का आव्हान गरेको छैन । सडक विभागका इन्जिनियर लोमश उपाध्यायले सबै प्रक्रिया पुरा भएको र ठेक्का आव्हानको काम बाँकी रहेको बताउनुभयो

उता, मोदीखोलामै निर्माण हुने आम्बोट मोटरेवल पुलले मोदी ६ गिज्यानलाई प्रत्यक्ष फाइदा मिल्नेछ । उक्त पुलको पनि डिजाइन स्टिमेट फाइलन भए पनि ठेक्का प्रक्रिया अझै सुरु भएको छैन । ठेक्का प्रक्रियाको लागि फाइल तयार भएको तर निर्माण प्रक्रियाको लागि ठेक्का आव्हान भएको छैन ।

यसै बिच सरकारले दोविल्ला स्थित मोदी खोला मोटरेवल पुलको यस वर्ष देखि सर्वेक्षण कार्य अघि बढाएको छ । यस अघि निर्माण भएको दोविल्ला स्थित सस्वेन्सन व्रिजलाई विस्थापित हुने गरी निर्माण हुने मोटरेवल पुलको पूर्व सम्भाव्यता अध्ययन कार्य सुरु भएको छ । यस बाहेक जिल्लाको मोदी गाउँपालिका स्थित भुरुङदीखोलाको पुल विगत ७ वर्ष देखि अलपत्र अवस्थामा छ । निर्माण कार्य सुरु भएको उक्त पुल हालसम्म पनि सम्पन्न भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्