विभेदकारी नीतिले टेम्पो चालक मारमा



बुटवल । दुई छाक टार्न धौँ–धौँ हुने मजदुरसंग पाँच हजार जरिबाना असुलेर बुटवल उपमहानगरपालिकाले टेम्पो चालकहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । जबकि १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत अधिकतम २ हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

उपमहानगरले टेम्पोमाथि विभेदकारी नीति लागू गर्दा बुटवल उपमहानगरपालिकाबाट ज्यादती भोग्नु परेको टेम्पो चालकहरुको गुनासो छ । २०७५ सालमा ३० वटा टेम्पो नगरभित्र सञ्चालन गर्न दिने निर्णय गरेको उपमहानगरले विभिन्न बहानामा १४ वटा टेम्पो दर्ता नगरी महंगो जरिवाना असुलेर चल्न नदिंँदा स्वरोजगार मजदुर समस्यामा परेको समेत उनीहरूले गुनासो गरेका छन् ।

नगरपालिकाले ई–रिक्साको हकमा रुपन्देही जिल्लामा बसोबास भएकालाई दर्ता गरिदिने तर टेम्पोको हकमा बुटवल उपमहानगरभित्र बसोबास गरेको हुनुपर्ने विभेदकारी नीति बनाएर अनुमति पाएका संख्यामा समेत कटौती गरेर अन्याय गरेको तिनाउ टेम्पो यातायात प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

टेम्पो चालकहरुले सवारी साधन यातायात कार्यालयबाट रुट परमिट,जांच पास र पञ्जीकृत लगायत सबै प्रक्रिया पूरा गरी कर समेत तिरेको अवस्थामा स्वतः चल्न पाउनुपर्ने नियम विपरीत बुटवल उपमहानगरपालिकाले पुनः पालिकामां दर्ता नगरी चल्न नदिने भनेपछि मजदुरहरू समस्यामा परेको टेम्पो चालक जीवलाल भुसालले गुनासो गर्नुभयो ।

यातायात व्यवस्था कार्यालय लुम्बिनीबाट सबै कानुनी प्िरक्रया पूरा गरेका टेम्पोलाई बुटवल उपमहानगरले पाँच हजार रुपियाँं जरिबाना गरेर ज्यादती गरेको भुसालले दुखेसो पोख्नुभयोे । १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरूलाई समेत जरिवाना स्वरूप अधिकतम दुई हजार जरिबाना हुने कानुनी व्यवस्था रहेपनि स्वरोजगार मजदुरले चलाउने टेम्पोलाई एकपटकमा पाँच हजार जरिवाना लिएर उपमहानगरले मजदुरलाई उठिबास लगाउन खोजेको भुसालले गुनासो गर्नुभयोे ।

‘दिनभरमा एक हजार पनि आम्दानी हुँदैन । तर, उपमहानगरका कर्मचारीले मानवीय संवेदनशीलता समेत बिर्सेर ५ हजार जरिबाना असुल्छन्’ –टेम्पो चालक पुष्पा न्यौपानेले भन्नु हुन्छ्– ‘घरमा आम्दानीको अरू बाटो छैन, दुई छाक टार्न र बालबच्चा पढाउन टेम्पो चलाएर गुजारा गरौँभन्दा पनि गरिखान दिएनन्, त्यहीमाथि कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैँ टेम्पोबाट पाँच हजार जरिबाना असुल्छन् ।’ मजदुर नेता बागबहादुर बुढामगरले ई–रिक्सा र टेम्पोलाई उपमहानगरले समान नीति र व्यवहार गर्नुपर्नेमा पक्षपातपूर्ण व्यवहार गर्दा स्वरोजगार मजदुरहरू बिचल्लीमा परेको गुनासो गर्नुभयोे ।

प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी प्रमुख समेतको वैठकमा उपमहानगरले प्रदूषण चेकजाँच गरेर आए १४ वटा टेम्पो तत्काल दर्ता गरिदिने बताए पनि प्रदूषण चेकजाँच गरेर जाँदा पनि दर्तामा आलटाल गरेर दुःख दिने गरेको बुढाले बताउनुभयो ।

प्रदूषण चेकजाँचमा ठिकठाक भएको प्रमाण पेश गर्दा पनि राजस्व शाखाका कर्मचारीले फेरि अर्को बहाना बनाएर नगर बाहिर बसोबास गर्नेहरूका टेम्पो नगर्ने भन्दै पन्छिएको उहाँकोे भनाइ छ ।

नगरभित्र गैरकानूनी रूपमा सञ्चालित टेम्पोहरुलाई प्रालिले करको दायरामा ल्याएर व्यवस्थित गर्ने जिम्मेवारी माग्दा समेत उपमहानगरपालिकाले बेवास्ता गरेको र यसबाट हुने दुर्घटना र अन्य समस्याप्रति उपमहानगर गैरजिम्मेवार देखिएको बुढा बताउनुहुन्छ ।
नगरभित्र करिब सयवटा टेम्पो सञ्चालनमा रहेपनि प्रालिले उपमहानगरले गरेको निर्णय अनुसार ३० वटामात्रै दर्ता गरिदिन अनुरोध गर्दा पनि नगरेर आफूहरूमाथि अन्याय गरेको टेम्पो चालक पुष्पा न्यौपानेले बताउनुभयो ।

बुटवल उपमहानगरका कर्मचारी ई–रिक्सा र टेम्पो हेर्ने अधिकारी डोलराज पौडेलले टेम्पो चालकहरूले उपमहानगरले तोकेको मापदण्ड र कागजपत्र पूरा नगरेकाले केही टेम्पो दर्ता नगरेको र दर्ता विना चलेका टेम्पोलाई प्रशासनिक कारबाही बापत पाँच हजार लिने गरेको स्वीकार गर्नुभयोे ।

रुपन्देही नागरिक समाजका अध्यक्ष ईश्वरी चापागाई बुटवल उपमहानगरले टेम्पो चलाएर गुजारा गर्ने निम्नवर्गका स्वरोजगार मजदूरमाथि अचाक्ली महंगो जरिवना असुलेर अमानवीयताको पराकाष्ठा देखाएको टिप्पणी गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्