फेवाताल र बेगनासतालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना, २० को मृत्यु 

 सूचनाका लागि राखिएको साइरन बिग्रिँदा समेत राज्य बेखबर



पोखरा।

पर्यटकीय सहर पोखराको फेवाताल र वेगनास तालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै फेवातालमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार ९ वर्षमा फेवातालमा मात्रै आठ दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन् । वेगनासतालमा ३ दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् ।

शनिबारको घटनामा सुरक्षामा कम्जोरी देखिएको छ । विशेषगरी फागुन, चैत र बैशाखको महिनामा चालक विना डुङ्गा लैजान पाइदैन् । तर चिन्जानको आधारमा डुङ्गा दिदाँ दुर्घटना भएको हो । अर्को कारण भनेको दुर्घटना अघि सूचना नदिनु पनि हो । फेवातालमा मौसम प्रतिकुल भई हुने दुर्घटना न्युनिकरण गर्नका लागि रेस्क्यु टावरमा साइरन राखिएको थियो । फेवातालमा तीन वर्ष अघिसम्म हावाहुरी लाग्यो या मौसममा बदलिसंगै केही जोखिम हुन लाग्यो भने साइरन बज्थ्यो ।

जब साइरन बज्थ्यो तब डुङ्गा चालक सचेत भएर सुरक्षीत स्थान तर्फ लैजाने गथ्र्यो । तर ३ वर्षदेखी साइरन बिग्रिएको छ । साइरन बिग्रीदा अहिले तालमा डुङ्गा लिएर घुम्न जानेहरुले जोखिमको थाहै पाउदैनन् । पर्यटनकको आकर्षणको केन्द्रविन्दु रहेको फेवातालमा हुने सम्भावित डुंगा दुर्घटनामा परेकाहरूको उद्धार एवं क्षती न्यूनीकरणका लागि ‘लेक वाच एन्ड रेस्क्यु टावर’ निर्माण गरिएको छ । २०६९ सालमा निर्माण भएको ३२ फिट अग्लो टावरबाट तालको चारैतिर अवलोकन गर्न सकिन्छ । सोही टावरमा सचेत गराउनका लागि साइरन पनि राखिएको थियो । साइरन बिग्रीएको तीन वर्षसम्म पनि कसैले बनाउने प्रयत्न गरेको छैन ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरिले साइरन बिग्रीएको बताए । ‘पहिला सशस्त्र प्रहरीको टावरमा साइरन राखिएको थियो । हावाहुरी वा मौसममा त्यस्तो गडबडी देखिन थालेमा करिब पाँच दश मिनेट अगाडी साइरन बझ्ने गथ्र्यो त्यो सुनिसकेपछि केही दुर्घटना हुन् सक्छ भनेर सचेत हुन्थ्यो अहिले त्यो बिग्रेको छ’ उनले भने, ‘ यो बनाउने प्रयासमा हामी अब लाग्ने छौ । हिजोको दुर्घटनाले मलाई स्वास्थ्य बिमा गर्नुपर्छ भन्ने पनि लागेको छ । बिभिन्न कम्पनीहरु संग मिलेर इन्सुरेन्स मा पनि ध्यान दिने सोचेका छौ ।’

साइरन विग्रिएको कुरा पोखरा महानगर पालिकाला, सशस्त्र प्रहरी तथा प्रशासन कार्यालयलाई समेत थाहा भएको उनी बताउँछन् । ‘पोखरा महानगरलाई नि खबर गरेका छौ । यसको जिम्मा शास्त्रलाई दिएको हो खबर गरेका थियौ । बनाउन बाहिर पठाउन पर्यो कि नयाँ ल्याउन पर्‍यो भन्ने थियो तर अब यस्तो नहोस भनेर समिति बाट नै पहल गरेर हामीले नै ल्याएर हाल्ने छौं’ उनले थपे, ‘हामी फेरि एकपाली महानगरपालिकासंग छलफल गरेर एउटा निस्कर्ष निकाल्ने छौ ।’

यस्तै सशस्त्र प्रहरी स्रोतले पनि ३ वर्षदेखी साईरन विग्रिदा समस्या भएको सुनाए । उनले यो विषमा समन्वय नहुँदा समेत समस्या भएको हो । स्रोतका अनुसार साइरनकै कारण पनि कतिपय दुर्घटना हुन बाट जोगिएका थिए । साइरन नेपालमा नबन्ने र बाहिर लैजाँदा महँगो पर्ने कारणले पनि नबनेको सुनाए । ‘तिन वर्षअघिसम्म साइरन थियो । त्यहाँ अहिले साइरन नै छैन्’ स्रोतले भने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्