विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र कर्मचारी विहीन 



रौतहट  ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र दुई साता देखि कर्मचारी विहीन बनेको छ ।

फागुन ५ गते सो वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट र दुब्यबहार गर्नेमाथि प्रहरीले कारबाही नगरेको भन्दै त्यहाँ कार्यरत सबै स्थायी कर्मचारीले वितरण केन्द्र छाडेका हुन् ।

उनीहरू नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरमा हाजिर भएका छन् । उक्त वितरण केन्द्रका प्रमुख अरुण कुमार साह सहित २४ जना स्थायी कर्मचारी कार्यरत हुन । स्थानीय घर भएका कार्यरत करारका कर्मचारीले विद्युत् सुचारु गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको आकस्मिक बाहेकका सबै सेबा बन्द भएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । कर्मचारी नहुँदा विद्युत मिटर जडान, बक्यौता रकम संकलन, मिटर रिडिङ्ग, चुहाबट नियन्त्रण जस्ता कार्य रोकिएपछि उपभोक्ता मर्कामा परेका हुन ।

गएको फाल्गुण ५ गते मौलापुर नगरपालिका–५ स्थित पतौरामा लागेको मधानी महायज्ञ मेलाको लागि बिजुली पोलबाट सिधै हुटिङ गरेर विद्युत् लाइन जडान गर्न दबाब दिन वितरण केन्द्र पुगेका आम जनता पार्टीका नेता त्रिभुवन साह (अमनलाल साह)  र धिरज पाण्डे सहित २५-३० जनाको समूहले सहायक इन्जिनियर चौधरी लाई कार्यालय परिसरमा कुटपिट गरी अपहरण शैलीमा गाडीमा राखेर मेलामा पुर्‍याएको भन्दै उनीहरू लाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिए पनि दर्ता र कारबाही नभएको भन्दै सबै कर्मचारीले कार्यालय छाडेका हुन ।

आफना कर्मचारी कुटिएपछि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुरका प्रमुख अरुणकुमार साहले फागुन ८ गते घटनामा संलग्न व्यक्तिहरु उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण सम्बन्धी कसुर गरेको हुँदा सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएका थिए ।

प्रमाणको रुपमा घटना भएको समयको सिसिटिभी फुटेज समेत प्रमुख साहले जिल्ला प्रहरी कार्यालय रौतहटमा पेस गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख वीर बहादुर बुढामगरले घटनामा जुन जाहेरी आकर्षित हुनु पर्ने हो त्यो नभएकाले दर्ता नगरिएको बताउनुभयो ।

आफूले सरकारी वकिल सँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनीन्द्र ठाकुरले असुरक्षा महसुस गरेका सबै कर्मचारी प्रादेशिक कार्यालयमा हाजिर भएको बताउनुभयो ।

उता घटना भएकै दिन मौलापुर नगरपालिकाका प्रमुख रिना देवी साहले मधानी महायज्ञलाई  बिथोल्न नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्दका प्रमुख साहले विद्युत् लाइन अवरुद्ध गरेको र आफूले सोधपुछ गर्दा उल्टै गालीगलौज गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्