मण्डनदेउपुर नगरपालिकामा गौरवका याेजना



काभ्रे । 

नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा मण्डनदेउपुर नगरपालिका सम्पन्न हुँदै गएको छ । आधारभूत अस्पताल, प्रशासनिक भवन, कुन्ता नगरकोट, कुन्ता दोलालघाट सडक लगायत अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माणमा नगरपालिका सम्पन्न हुँदै गएको छ ।

त्यससँगै बृहत् सुख्खा क्षेत्र खानेपानी, प्रहरी चौकी तथा अन्य संरचना निर्माण कार्य धमाधम भइरहेको छ । पूर्वाधार सम्पन्न भएसँगै नागरिकहरूले नगरपालिकाले प्रदान गर्ने सेवामा सुशासन, पारदर्शिता र गुणस्तरीयता कायम हुनु पर्ने सुझाव दिएका छन् । ‘मण्डनदेउपुर आधारभूत अस्पताल ५ शय्याको छ ।

त्यही भवनसँगै थप शय्याको अस्पताल निर्माणका लागि कार्य प्रारम्भ भएको छ’–नगर प्रमुख टोक बहादुर वाई वाले भन्नुभयो–‘भइरहेको अस्पतालमा विशेषज्ञ डाक्टर सहितको जनशक्ति नगरपालिका आफैले व्यवस्थापन गरिरहेको छ ।

अब निर्माण हुने अस्पतालका लागि प्रदेश र संघ सरकारले पनि प्राथमिकता दिने गरी छलफल भएको छ ।’ करिब १५ करोड रुपैयाँ लागतमा थप १० शय्याको अस्पताल निर्माण भए पछि १५ शय्याको अस्पतालबाट नागरिकहरूले सेवा पाउनेछन् ।

आधारभूत अस्पतालमा ओपिडी, आकस्मिक तथा अन्य उपचार सेवा उपलब्ध छ । २४ घण्टे आकस्मिक,  प्रसूति सेवा र फार्मेसी सेवा उपलब्ध गराएको अस्पतालले अन्तरङ्ग, सामान्य शल्यक्रिया, दन्त सेवा, गर्भवती जाँच, परिवार नियोजन, १२ हप्तासम्मको सुरक्षित गर्भपतन, खोप सेवा, रेबिज विरुद्धको खोप सेवा, पोषण कार्यक्रम, क्षयरोग तथा कुष्ठरोग, एक्स-रे, ल्याब, ईसिजी तथा स्वास्थ्य शिक्षा परामर्श दिँदै आएको छ ।

एक्स-रे सेवालाई अझै प्रभावकारी बनाउने गरी उपकरण र जनशक्तिको व्यवस्थापन गरिँदै छ । डा. दिलबहादुर थोकरले नागरिकहरूलाई दैनिक सेवा उपलब्ध गराइरहेको बताउनुभयो । हरेक दिन ४०–५० जनासम्म बिरामीहरूले सेवा लिइरहेका छन् । अहिले पनि जटिल खालका बिरामी तथा दुर्घटना भएको अवस्थामा सदरमुकाम र राजधानी लैजानु पर्ने अवस्था छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । तीन वटा भवन एउटै बनाएर प्रशासकीय भवनको हस्तान्तरण तयारी गरिएको छ । फागुन २७ गते नगरपालिकाको स्थापना दिवसको अवसरमा आफ्नै भवनबाट सेवा प्रारम्भ गर्ने योजना पुरा नहुने भएको छ ।

वैशाख १ गतेबाट मात्रै उक्त भवनबाट सेवा उपलब्ध गराउने नगर प्रमुख टोक बहादुर वाई वाले बताउनु भयो । कम्पाउन्ड, हल, क्यान्टिन लगायतका संरचना निर्माण हुन बाँकी छन् । भवनकै पनि अन्तिम निर्माण कार्य बाँकी छ । संघ सरकारको २ करोड, जिल्ला समन्वय समितिको २ करोड र बाँकी नगरपालिकाको १० करोड गरी १४ करोड रुपैयाँमा निर्माण हुन लागेको उक्त भवन निर्माणको स्टेट २३ करोडको थियो ।

नगरपालिकाले तयार गरेको सिपिआर ४३ करोडको छ । नगरपालिकामा रहने सबै शाखा तथा भविष्यमा आउन सक्ने मालपोत नापी लगायतका कार्यालयहरूका लागि समेत पूर्वाधार तयार गरिएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ स्थित मनमति डाँडामा २८ रोपनी जमिन नगरपालिका आफैले खरिद गरेर प्रशासनिक भवन निर्माण गरेको हो ।

उक्त क्षेत्र भित्र प्रहरी चौकी हिगुवापाटी, बहृत्त सुख्खा क्षेत्र खानेपानी लगायतका संरचना निर्माण हुनेछन् । मण्डनदेउपुर नगरपालिकाको अर्काे महत्त्वपूर्ण आयोजना बहृत्त सुख्खा क्षेत्र खानेपानी हो । संघ सरकारमा तत्कालीन मन्त्री गोकुल बास्कोटाले उक्त क्षेत्रको खानेपानीका लागि बजेट विनियोजन गरेका थिए ।

खानेपानी सँगै कुन्ता नगरकोट सडक पक्की भइरहेको छ । स्थानीय, प्रदेश र संघ सरकारको समेत समन्वयमा भइरहेको कुन्ता नगरकोट सडक १८ किमी दुरीमा छ । नगरकोट क्षेत्रको पर्यटन विकास र नगरपालिकाको स्यायी आम्दानीको श्रोतका लागि नगरपालिकाले पर्यटनको दिर्घकालीन विकासका लागि डिपीआर तयार गरिरहेको छ । अर्काे महत्त्वपूर्ण सडकका रुपमा कुन्ता चण्डेनी दोलालघाट सडक हो ।

उक्त सडक निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । मण्डनदेउपुरमा भएका विकास निर्माण कार्य र त्यसमा समन्वय गर्ने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतको टोलीले अनुगमन निरीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्