लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा कृषिलाई प्राथमिकता

दंगाली तोरीदेखि तिल्की चामल



घोराही।

घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा कृषि स्टलहरुमा कृषि सामाग्रीहरु आकर्षणको केन्द्र बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखि जारी प्रदर्शनीमा दाङको विभिन्न स्थानका कृषक समूहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिएको छ ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगबाट उत्पादन गरिएका वस्तुहरु राखिएको छ भने कृषकहरुले उत्पादन गरेको वस्तुहरु प्रदर्शनीका लागी राखिएको छ । साथै साना तथा घरेलु उद्योगहरु स्थापना, उत्पादन र बजारिकणका बारेमा सचेतनामूलक पर्चा पप्लेटहरु पनि प्रदान गरिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको स्टल न. १ सय १२ मा अर्गानिक कृषि उपज तथा प्रशोधन केन्द्र घोराहीले उत्पादन गरेको अचार, कागती, खुर्सानी, लसुन, करेला, अमारो, गोभी, मुला, काक्रो कृषि बिउ बिजन राखिएको छ ।

गैरागाँउ क्वाडी कृषि समूह घोराही १७ लगायत कृषक समूहले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिएको छ । जसमा फुलगोबी, बन्दागोबी, गाठगोबी, मूला, रायो साग, फर्सी, ब्रो–काउली, टमाटर, आलु, चुकन्दर, हरियो मकै, लसुन, स्थानीय सिमजरा धान र चामल, तिल्की धान र चामल, चिन्ने धान र चामल, दंगाली तोरी, स्थानय रैथाने मकै, तीन पाखे धान, सेतो तिल, कालो तिल, स्थानीय भैँसीको घ्यू, सिलाम, भटमास लगायतका सामाग्रीहरु अवलोकनका लागी राखिएको छ भने बिउ बिजन सम्बन्धी जानकारीमूलक फ्लेक्सहरु राखिएको छ । जसमा अवलोकनका लागी दर्शकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । स्टलमा समूहका सदस्यहरुको आलोपालो डिउटी हुने गरेको छ ।

स्टल न. १ सय ११ मा आचार्य फुड इन्डस्ट्रीज घोराहीले भांगो, तरकारी/मासु मसला, बेसार, कालो चामल, मरीचको धुलो, चिया मसला, जिरा धनियाँ, तिल्की चामल, मकैको आँटो राखेको छ ।

यस्तै जलजला पुष्प खेती घोराही १४ झिगौराले विभिन्न प्रजातिका पुष्पको बिरुवाहरु एवं पुष्पसम्बन्धी जानकारीमूलक पप्लेटहरु राखेको छ । स्टल न. ७ मा एकता महिला विकास बहुउद्देश्यीय सहकारी फुर्सेखालीले  उत्पादन गरेको धुलो बेसार राखिएको छ ।

स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क रुपमा स्टलहरु प्रदान गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ । जसमा उद्योगी एवं कृषकहरुले उत्साहका साथ स्टलहरु सञ्चालन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

शनिवार हजारौँ दर्शकको उपस्थिति

प्रदर्शनीमा शनिवार हजारौँ दर्शकहरुको उपस्थिति रहेको छ । एघारौँ दिन शनिवार प्रदर्शनीमा    १२ हजार बढी दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको सचिवालय संयोजक लव अधिकारीले जानकारी दिनुभयो । शनिवार कलाकारहरु चक्र बम, टीका सानु, रेश्मा पुन साखिरा मगर, शान्तराम सेन्चुरी लगायत कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

आइतबार शिव परियार आउने 

प्रदर्शनीमा आइतबार सुगम सङ्गीतका चर्चित गायक शिव परियारको प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रिय गायक शिव परियारको प्रस्तुति आइतबार हुने सांस्कृतिक समितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो । परियारसँगै कृष क्षेत्री, अवन्तिका सुनार, प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्