जनयुद्धका उपलब्धिमाथि खतरा बढेपछि सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो : प्रमुख सल्लाहकार गजुरेल 



सिन्धुल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनयुद्धबाट प्राप्त उपलब्धि माथि खतरा बढेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मरिण गाउँकमिटिले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार गजुरेलले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रको उप–महासचिव समेत रहनुभएका गजुरेलले माओवादीले सञ्चालन गरेको १० बर्से जनयुद्धको जगमा बनेको संविधानमाथि देशी विदेशी प्रतिगामी तत्त्वहरूको प्रहार बढेपछि सरकारले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।‘प्रधानमन्त्रीले यो पटक निक्कै साहासका साथ जनयुद्ध दिवसलाई औपचारिक दिवसको मान्यता दिलाउन सफल हुनुभयो । ’उहाँले भन्नुभयो ।

जनयुद्धका उपलब्धिलाई सिध्याउने खेलहरु भइरहेको भन्दै जनयुद्ध दिवसलाई प्राथमिकता दिन पार्टी भित्र व्यापक छलफल भएको उहाँले बताउनुभयो । उहाँले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि देश तथा विदेशमा सकारात्मक सन्देश पैदा भएको बताउनुभयो ।

यो पटक प्रधानमन्त्री प्रचण्डले इतिहासका गल्ती कमजोरीहरुलाई सुधार गरेर केही राम्रो काम गर्ने उद्देश्यले सरकारको नेतृत्व लिएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकसँगै दलित महिला, अपेक्षित, उत्पीडित, र श्रमजीवी बर्गमा जागरण ल्याएको बताउनुभएको छ ।

अधिकार विहीन नागरिकलाई विचार, सिद्धान्त, व्यवहारले प्रभावित र आकर्षित गरेर सङ्गठित गरेकै कारण माओवादीले सुरु गरेको जनयुद्ध सफल भएको उहाँले बताउनुभयो ।

सङ्घीयता, धर्मनिरपेक्षता समावेशी, समानुपातिक लगायतका संविधानमा स्थापित सबै मुद्दाहरुमा माओवादीले सञ्चालन गरेको जनयुद्धकै उपलब्धि भएकाले संविधानमा माओवादीको एकल स्वामित्व रहने उहाँले बताउनुभयो ।

जनयुद्धको जगमा अहिलेको सबै उपलब्धि हासिल भएको बताउँदै उहाँले माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि गाउँ गाउँमा सडक, शिक्षा, बिजुली लगायतका विकासको थालनी भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सहसचिव प्रकाश श्रेष्ठले नागरिकका आवश्यकता र अधिकार पुरा गर्न सबै जना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
सहिदको सपना पुरा गर्न र आफ्नो अपेक्षा, आवश्यकता पुरा गर्न जनताले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्