गाउँशहर थुम्काडाँडामा ३८ लाखको लागतमा शिल्पी संग्रहालय निर्माण 



लमजुङ।

लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा निर्माण सम्पन्न जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालयको औपचारिक उद्घाटन भएको छ । बेसीशहर नगरपालिका ३ मा पर्ने सो संग्राहलय निर्माण सम्पन्न भएसँगै एक औपचारिक कार्यक्रमकाबीच शनिवार उद्घाटन भएको हो ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अर्यालले सबै जातिहरुले आफ्नो जातीय पहिचान जोगाउनका निम्ति आफै लागिपर्नेमा जोड दिनुभयो । थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेसीशहर–३ का वडा अध्यक्ष चित्रबहादुर दनाई, वडा नं. २ का वडा अध्यक्ष मदन राना, राइनास नगरपालिका–५ का अध्यक्ष शंकरबहादुर नेपाली, बेसीशहर नगर कार्यपालिका सदस्य श्रीनाथ दुलाल, गैरसरकारी महासंघका अध्यक्ष डिवि मजाकोटी, दलित उन्मुक्ति समाजका अध्यक्ष किसान सङ्गीत नेपाली, स्थानीय बाबा समूहका प्रतिनिधित्व गर्दे सन्तबहादुर मलुवा लगायतले सम्बोधन गरेका थिए ।

करिब ३८ लाखको लागतमा संग्रहालय निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो संग्राहलय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट  सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले जानकारी दिनुभयो ।

संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकासकोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताउनुभयो । अध्यक्ष मझाकोटीका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट संग्राहलय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ  रकम संकलन भएको थियो ।

पहाडी दलितहरुलाई फोकस गरेर पूर्वजहरुले बनाएका बस्तुहरु संग्राहलयमा राखिएको छ । आगामी दिनहरुमा संग्राहलयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरुको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्