गड्यौला मल उत्पादन गरेर वार्षिक लाखौँ आम्दानी 



 डडेल्धुरा। 

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ किमौलाका चन्द्र ठकुराठीले गड्यौला मल उत्पादन गरेर वार्षिक लाखौँ रकम आयआर्जन गरिरहनु भएको छ ।
२०६७ साल फागुनदेखि गड्यौला मल उत्पादन गरिरहनु भएका ठकुराठीले यसबर्षमात्रै २० टन गड्यौला मल सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा सप्लाई गर्नु भएको छ भने जिल्लाभित्र र छरछिमेकका बस्तीहरुमा पनि प्रतिकिलो रु ३५ रुपैयाँका दरले गड्यौला मल बिक्री गरिरहनु भएको छ ।

सशस्त्र युद्धका बेला तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा रहेर विभिन्न स्थान घुम्ने क्रममा ठकुराठीले गड्यौला मल उत्पादनका बारेमा थाहा पाउनु भएको हो । ‘आफ्नो ठाउँमा पनि गड्यौला मल उत्पादन गर्न पाए व्यवसायीक कृषि विकासमा क्रान्ति ल्याउन सकिन्छ भन्ने लागेर उत्पादन सम्बन्धी जानकारी लिएको थिए,’ उहाँले भन्नुभयो,‘हाल व्यवसायीक रुपमा गड्यौला मल उत्पादन गरिरहेको छु ।’

भागेश्वर गाउँपालिका व्यवसायीक तरकारी र फलफूल उत्पादनका लागि अग्रणी मानिन्छ । ठकुराठीले पनि गड्यौला मल उत्पादनसँगै व्यवसायीक रुपमा भैसीपालन र बेमौसमी तरकारी तथा फलफूल खेती गरिरहनु भएको छ । विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिनु भएका ठकुराठी २०५६ सालदेखि होलटाइमर भएर माओवादी राजनीतिमा लाग्नु भएको हो ।

ठकुराठीले गड्यौला मल उत्पादन गर्न थालेपछि प्रदेश कृषि विकास निर्देशनालय दिपायलबाट भौतिक संरचना निर्माण गर्न तीन लाख ५० हजार र कृषि ज्ञान केन्द्र डडेल्धुराबाट गोदाम घर निर्माण गर्न तीन लाख अनुदान रकम पाउनु भएको छ । यसबाहेक पाँच लाख रुपैयाँ बैंकको ऋण समेत लिएर गड्यौला मल उत्पादनका लागि झन्डै ३० लाख बराबरका भौतिक संरचना निर्माण स्वलगानीमा गरिएको उहाँले बताउनु भयो ।

गड्यौला मल उत्पादनसँगै ठकुराठीले स्थापना गर्नुभएको कृषि तथा पशुपालन फर्ममा परिवारका सातजनाले पूर्णकालीन रुपमा काम गरिरहनु भएको छ भने तीन जनाले ज्यालादारीमा काम गरिरहनु भएको छ । ‘कृषि विज्ञानमा कक्षा १२ उत्तीर्ण दुई जना भतिजाहरु पनि सँगै काम गरिरहनु भएको छ,’ ठकुराठीले भन्नुभयो,‘युवाहरु कामका लागि विदेसिने प्रचलन बढ्न थालेका बेला स्थानीयस्तरमा स्वरोजगारी प्रवर्द्धनसँगै कृषि उत्पादनमा आत्मनिर्भर बन्न आफ्नै बारीमा पसिना बगाई रहेको छु ।’

राजनीतिमा लागेका मानिसहरू काम नगरेरै धनी बन्ने गरेकाले राजनीति प्रति वितृष्णा बढेका बेला समुदायस्तरमा आत्मनिर्भरताको अभ्यास गर्न आफू व्यवसायीक रुपमा कृषि पेशामा लागेको ठकुराठीले बताउनु भयो । वास्तविक किसानसम्म सरकारी अनुदान र सेवा सुविधा पुग्न नसकेको अनुभव सुनाउनु हुँदै उहाँले गरिखाने किसानलाई सहयोग गर्ने नीति राज्यले लिनुपर्ने बताउनु भयो ।

हाल नेकपा माओवादी केन्द्र भागेश्वर गाउँपालिकाका इन्चार्ज रहनुभएका ठकुराठीले राजनीतिसँगै कृषि व्यवसायलाई निरन्तरता दिने योजना बनाउनु भएको छ । अर्गानिक कृषि उत्पादनका लागि गड्यौला मल निकै लाभदायकर प्रभावकारी हुने भए पनि व्यवसायीक किसानहरुले अझै रासायनिक मल प्रयोग गर्न नछाडेको अवस्थामा कृषि ज्ञान केन्द्रले उत्पादित मल वितरणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशमै गड्यौला मल उत्पादनका क्षेत्रमा सिर्जनात्मक काम गरेर ठकुराठीले अर्गानिक कृषि उत्पादनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगाउनु भएको बताउनु भयो । कृषि ज्ञान केन्द्रसँग बजेट र कार्यक्रमको अभावमा ठकुराठीलाई खासै सहयोग गर्न नसकिए पनि उहाँले उत्पादन गर्नुभएको मल बिक्री वितरणमा सहजीकरण गरिररहेको उहाँले जानकारी दिनुभयो ।

व्यवसायीक रुपमा भैसीपालन गरिरहनु भएका ठकुराठीले भैँसीको मलमूत्र प्रयोग गरेर गड्यौला मल उत्पादन गरिराख्नु भएकाले कृषिजन्य उत्पादनका लागि गड्यौला मल निकै प्रभावकारी रहेको भट्टले बताउनु भयो । ‘अनियन्त्रित र अवैज्ञानिक रुपमा जथाभाबी रासायनिक मलको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले माटोको उर्वराशक्ति ह«ास हुँदै गएको छ,’उहाँले भन्नुभयो,‘गड्यौला मलको प्रयोगबाट व्यवसायीक कृषि उत्पादन गर्ने परिपाटीको विकास हुन सकेमा दीर्घकालीन रुपमा दिगो कृषि विकासँगै माटोको उर्बरा शक्ति बढाउन सकिन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्