छक्का पञ्जा–४ विदेशमा पनि



यो वर्षको बहुप्रतीक्षित फिल्म छक्कापञ्जा–४ नेपालसँगै अन्य मुलुकमा पनि एकैदिन रिलिजमा आउने भएको छ । फिल्मको निर्माण पक्षले बुधबार यसको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गते नेपालसहित विभिन्न मुलुकमा पनि एकसाथ रिलिज हुने जानकारी गराएको हो ।

फिल्म नेपालसँगै अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ । फिल्मका मुख्य अभिनेता तथा निर्मातामध्येका एक दीपकराज गिरीले छक्का पञ्जा–४ सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्न सम्बन्धित देशमा फिस्म जाँचपासको काम भइरहेको बताए ।

उनका अनुसार ती देशमा फिल्म नियमित शोमै रिलिज हुनेछ । छक्का पञ्जा–४ सँगै चीनमा छक्का पञ्जाको पहिलो संस्करणको लागि यसको निर्माण समूहले प्रक्रिया अघि बढाएको छ । छक्का पञ्जाको पहिलो संस्करण रिलिज गर्नका लागि चिनियाँ भाषामा डबिङ र सबटाइटल गर्ने प्रयास भइरहेको दीपकराजले बताएका छन् ।

उनका मन्डारियन भाषामै प्रदर्शन गर्न चाहेको छ । छक्का पञ्जा–४ हेमराज बीसीले निर्देशन गरेका छन् । सामाजिक र राजनीतिक कथावस्तुमा बनेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, वेदना राई, सुष्मा निरौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा निर्माण भएको फिल्ममा दीपकराज गिरीको कथा, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व र नरेन्द्र मैनालीको डीओपी रहेको छ ।

दीपेन्द्र खनियाँ र केशव न्यौपानेले निर्माण गरेका फिल्ममा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् । केहीअघि मात्र सार्वजनिक भएको छक्का पञ्जा–४ को दर्शन सलामले यतिखेर बजार पिटिरहेको छ । यो गीत र यसको भिडिया रिलिज भएको केही दिनमै युट्युबको टे«न्डिङ वानमा पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्