लमजुङ अस्पतालमा निःशुल्क डाइलासिस सेवा



लमजुङ। 

सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो ।

केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा. रमेश आचार्यले बताउनुभयो ।

जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आआफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरीककोषमा दर्ता भई आएपछि निःशुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा. आचार्यको भनाई छ ।

निःशुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ । विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो । अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए ।

डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ । अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिएको छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्