पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु



पाल्पा ।

शनिबार पाल्पामा भएका दुइ छुट्टाछुट्टै स्थानका दुइ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ट्याक्टरले ठक्कर दिंदा पाल्पामा आमा–छोराको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प. ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले मृत्यु हुने आमा छोरा रहेको बताउनुभयो ।

तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको ट्याक्टरले सोही तर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते आमाछोरालाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिद्धार्थ राजमार्गको तानसेन वुटवल खण्डमा पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले वताउनुभयो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनाउ गाउँपालिका–५ चौबीस माइलमा दिउँसो पौने १२ बजे ठक्कर दिएको हो।

गम्भीर घाइते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको थापाले जानकारी दिनुभयो । ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्