दुर्गम पालिकामा दक्ष जनशक्तिसहित ‘सुलभ’ स्वास्थ्य चौकी



काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका स्वास्थ्य सेवा प्रवाहका लागि नमुना बनेको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिले स्थानीय स्तरमा भईरहेको स्वास्थ्य चौकीको स्तरोन्नतीले नागरिकले सुलभ स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रयोगशालासहितको सेवाले नागरिकहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा समयको समेत बचत हुन थालेको छ । ‘सुगरको नियमित परीक्षणका लागि धुलिखेल अस्पताल पुग्नु पर्दथ्यो’– स्थानीय हरि उप्रेतिले भन्नुभयो– ‘बिहानको खाली पेटमा रगतको परीक्षण गराउन र खाना पछिको दुई घण्टाको परीक्षणका लागि धेरै झन्झटिलो थियो ।’ खाना घरमा जस्तो र नियमित हुँदैन थियो । परीक्षणका लागि समय र नियमित खानाको अवस्था नमिल्दा परीक्षणको परिणाम पनि राम्रो आउन सम्भावना थिएन ।

घर छेउमै व्यस्थित र सुलभ मूल्यको ल्याव प्राप्त हुँदा खुशी मात्रै भएको छैन समयको पनि बचत भएको उप्रेतिले बताउनुभयो । सुगर परीक्षण मात्रै होईन । उक्त ल्यावमा सामुदायिक अस्पतालहरूले दिने शुल्कमै सेवा उपलब्ध गराईएको अनमी विमला मगरले बताउनुभयो ।

‘३५ थरी परिक्षण भुम्लु स्वास्थ्य चौकीको ल्यावबाट हुनेछ’– ल्याव टेक्निसियन एञ्जिला बस्नेतले भन्नुभयो– ‘नागरिकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्न प्रतिवद्ध छौ ।’

‘कोशिपारीको पहिलो बर्थिङ्ग सेन्टर भुम्लुको सेवालाई अझै प्रभावकारी बनाउन निरन्तर प्रयासरत छौं’– बर्थिङ्ग सेन्टर इञ्चार्ज विमला मगरले भन्नुभयो– ‘गर्भवती महिलाको नियमित परिक्षण तथा ६ क्रेट अण्डा उपलब्ध गराउँदै आएका छौँ ।’ तीन जना दक्ष सुँडेनी रहेको उक्त सेन्टरमा आर्थिक वर्षको ६ महिना अर्थात् पौष मसान्तसम्म ११ जना महिलालाई सुरक्षित मातृत्व प्रदान गराएको छ ।

त्यस्तै अघिल्लो वर्ष २१ जनाले सेवा प्राप्त गरेका थिए । अहिले भुम्लु गाउँपालिकामा थप ३ वटा बर्थिङ्ग सेन्टर र अस्पतालसमेत रहेकाले भुम्लु स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा सेवा प्रवाहको चाप कम हुने आकलन गरिएको छ ।

गाउँपालिका भित्र ६ वटा प्रसूती केन्द्र छन् । गर्भवति महिलाहरुको नियमित परिक्षण तथा भिडियो एक्सरेका लागि भुम्लु अस्पतालसँगको समन्वयमा गरिरहेको मगरले बताउनुभयो । ‘गर्भवती महिलालाई प्रोटोकलअनुसार नियमित परीक्षण गराएपछि प्रति महिना १ क्रेटका दरले ६ क्रेट अण्डा उपलब्ध गराउँदै आएको १५ वर्ष भएको छ’– बर्थिङ्ग सेन्टर इन्चार्ज मगरले भन्नुभयो– ‘यो कार्यक्रम अहिले जिल्लाभरी प्रभावकारी भएको छ । भुम्लु स्वास्थ्य चौकीको सेवालाई अन्य स्थानमा पनि प्रयोगमा ल्याईएको छ ।’

भुम्लु स्वास्थ्य चौकीमा १० जनाको दक्ष जनशक्ति छ । पूर्वाधार पनि पर्याप्त छ । सेवा प्रभावकारी छ । स्वास्थ्य चौकी इञ्चार्ज सुनिता खरेलको नेतृत्वमा स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउन निरन्तर क्रियाशिल रहेको बताउनुभयो । परिवार नियोजनको अस्थायी सेवा, नियमित स्वास्थ्य सेवाको उपलब्धता गराईएको छ ।

स्थानीय सरकारले आधारभुत स्वास्थ्य संस्थालाई बलियो बनाउन सहयोग गरिरहेको अहेव मीना ढकालले बताउनुभयो । ‘एमाले नेतृत्वको स्थानीय तह हुँदा आधारभुत स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने कार्य भएको थियो’–एमाले अध्यक्ष प्रेम लामाले भन्नुभयो– ‘भुम्लुबासीहरूका लागि सुलभ र गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो ।’ गाउँपालिका अध्यक्ष प्रेम भुजेलले भुम्लुका नागरिकहरुलाई सुलभ र सरल सेवा दिन क्रियाशिल भएको बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा १ हजार ८ सय ३० जनाले सेवा प्राप्त गरेका छन् । जसमध्ये १ हजार ६० जना महिला छन् भने ७ सय ७० जना पुरुष छन् । तीमध्ये ८ सय १० महिला र ६ सय ६ पुरुष नयाँ सेवाग्राही हुन् । ल्यावको मात्रै सेवा प्राप्त गर्ने ५ सय १४ जना छन् । टिबी परीक्षण ५१ जनाको गरिएको छ । गाउँघर क्लिनिकमा ३ सय २ जना सहभागी भएका छन् भने खोप क्लिनिकमा १ सय ४ र सरसफाई सम्बन्धी कार्यक्रममा ७० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्