अज्ञानीका दुःख



कुनै बालकले सानोमा, गाईलाई गाई र गोरुलाई पनि गाई भन्न सक्छ । दाललाई दाल र तरकारीलाई पनि दालै भन्न सक्छ । अलि चेतनशील भएपछि बाआमालाई, ‘म कहाँबाट आएको हुँ ?’ भनेर प्रश्न पनि गर्न सक्छ । त्यो बेलामा उसलाई उसका बाआमाले ‘तिमी माथि आकाशबाट उड्दै–उड्दै आएका थियौ । त्यतिखेरै हामीले तिमीलाई तल झर्नै नदिई यी यसरी च्याप्प समातेको नि !’ भनेर अँगालो मारी च्वाप्प म्वाइँ खाए भने ऊ मख्ख परेर पत्याइहाल्छ । हजुरबा, हजुरआमाको देहान्त भएको बेलामा ‘कता जानुभएको ?’ भनेर प्रश्न सोधेमा, ‘ऊ पअअर… द्यौतीमाताको घरमा जानुभएको, भोलि …इ…इ …पर्सि आउनुहुन्छ’ भन्दा पनि पत्याउँछ । खाँदै–खेल्दै गर्दा एक–दुई दिनपछि बिर्सेला पनि । तर उमेर बढ्दै र चेतना छिप्पिँदै गएपछि भने उसले गाईलाई गाई र गोरुलाई गोरु नै भनेर चिन्छ । त्यस्तै दाल, तरकारी र अचारलाई पनि छुट्टाछुट्टै नामका रूपमा चिन्न थाल्छ । जन्म र मृत्युबारे बुझ्न थाल्छ । त्यसका साथै यहाँका अन्य धेरै विषयका वास्तविकताहरू पनि क्रमशः थाहा पाउँदै जान्छ ।

जान्नुपर्ने कुराहरू असङ्ख्य र असीमित छन् । जति नै जान्न खोजौं, जीवनभरि नै प्रयासरत रहँदा पनि जानेर सकिँदैन । त्यसैले शिक्षालाई ‘जन्मेदेखि नमरुन्जेलसम्म चलिरहने प्रक्रिया’ पनि भनिन्छ । आफैँ सिक्ने कुरा त छँदै छ । तर विद्यालयमा सिकाउने शिक्षक–गुरुले गलत कुरा सिकाइदिए एउटा पुस्ता नै सपार्न नसकिने गरी बिग्रिन्छ । साथै अबुझ जनतालाई सिकाउने नेता–गुरु पनि झुटबाज भइदिए सामाजिक चेतनाको दियो उज्यालिँदैन । त्यसैले यो अवस्थामा विद्यार्थी–जनता आफैँ सचेत नभए, पछि गएर तिनले पछुताउँदै शिक्षक–गुरु र नेता–गुरुलाई धिक्कार्नुसिवाय केही बाँकी रहँदैन ।

हामी कक्षा चार–पाँचमा पढ्दाको कुरा हो । छजना साथीहरूको समूहमा चारजना चतुरा र खोपी खेल्नमा सिपालु साथीहरूले विद्यालय जाँदा पर्ने सानो वनको बाटोको दायाँपट्टि खोस्रेर तीन–चारवटा लाम्चा ढुंगा ठड्याए । तिनलाई पहिला आफैंले सिन्दुर, अक्षता, फूलपातीले पूजा गरे । धागो पनि बाँधिदिए । अनि सबैलाई सम्झाएभैmँ गरी विशेष गरी बाँकी हामी दुईजनालाई भने, ‘यी नयाँ देवतालाई दिनदिनै पूजा गरे हामीलाई पढ्न आउँछ ।’ पढ्न आओस् भन्ने चाहना त हामी सोझा र अज्ञानीको पनि थियौ नै । त्यसैले भोलिपल्टदेखि हामी दुईजनाले पनि दिनदिनै घरबाट पैसा मागेर वा चोरेर ल्याई चाराना–आठाना चढाउन थाल्यौँ । पैसा चढाउँदा सबैजना सँगै हुन्थ्यौँ । तर चढाइसकेर अलिकति अगाडि बढेपछि खोपीवाला साथीहरू पिसाब फेर्न पछाडि बस्थे । पछि पो थाहा भयो त ! त्यतिखेर त खोपी खेल्नका लागि पैसाको जोहो गरिएको रहेछ भन्ने कुरो हामी अज्ञानीलाई के थाहा !

तिनै साथीहरूमध्येका एकजना अहिले गाउँमै शिक्षक छन् । विद्यालयमा पनि तगडा शिक्षक र गाउँघरमा पनि ठूला पण्डित तथा ज्योतिषीका रूपमा उनको ख्याति बढ्दो छ । वरिपरिका गाउँघरमा गरिने श्राद्ध, रुद्री, पूजादेखि लिएर पुराणवाचनसम्म उनी एक्लैले नब्बे प्रतिशतजति धानेका छन् । कतिपयको चिना माग्दै ‘तपाईंको ग्रह बिग्रेको रहेछ’ भन्दै स्वस्तिशान्ति गराइदिन पनि उनी पछि पर्दैनन् । ‘अरूले ५ हजारसम्म दिए, तपाईंको विचार !’ भन्दै चिना लेखिदिने काममा पनि उनै अघि सर्छन् । उनले नजानेको कुरो केही नै छैन भन्दा पनि हुन्छ ।

हिन्दू संस्कारका अनुयायी धेरैलाई थाहा होला, रुद्री सधैँ जुर्दैन । जुरेको निश्चित दिनमा मात्रै यो गर्नुपर्छ । ती पण्डित सरचाहिँ आफ्नो स्कुल बिदा भएका दिनमात्रै रुद्री जुर्छ भनेर गराउँदै हिँड्दा रहेछन् । कुन दिन रुद्री जुर्छ भन्ने कुरा आजकल सजिलोका लागि पात्रोमै प्रस्ट लेखिएको हुन्छ । त्यति हेरे त कोही पनि त्यस्ता ठगाहार पण्डितको फेला पर्नुपर्दैनथ्यो नि ! ज्ञान नभएपछि गुमाउनु, ठगिनु, दुःख पाउनु स्वाभाविकै हुन्छ ।

केही वर्षअगाडिको कुरो हो । एकजना क्रिश्चियन धर्मावलम्बी नागरिक इराकमा यात्रा गर्दै थिए । यात्रा रमाइलै थियो । श्रीमान्ले गाडी चलाउँदै थिए । सडकमा अचानक आई.एस. (इस्लामिक स्टेट)का केही लडाकुहरू देखा परे । तिनीहरूले गाडी रोकाए ।
श्रीमती निकै आत्तिइन् । गाडी रोकेपछि ती लडाकुहरूले श्रीमान्तिर हेरेर सोधे, ‘तिमीहरू कुन धर्म मान्छौ ?’ श्रीमान्ले एकपटक तिनीहरूको हाउभाउ र बोलीचाली अवलोकन गरे । अनि जवाफ दिए, ‘इस्लाम ।’

‘सुन्नी कि सिया ?’ अर्को प्रश्न आयो ।
श्रीमान्ले जवाफ दिए, ‘सुन्नी ।’
प्रश्नकर्ता लडाकुले अर्को आदेश दिए, ‘ठीक छ । ल, एकपटक कुरानको आयत पढेर सुनाऊ त ।’
श्रीमान्ले कुरान कहिल्यै पढेकै थिएनन् । त्यसैले त्यहाँको आयत कण्ठस्थ आउने कुरै थिएन । मर्नुभन्दा बहुलाउनु निको भनेझैँ उनको पालो बाइबलको एउटा हरफ कुनै मुसलमानले आयत पढेझैँ लयमा सुनाइदिए ।

इस्लामिक स्टेटका लडाकुले ध्यान दिएर सुने अनि सन्तुष्ट भएर धन्यवाद दिँदै, ‘ल जाऊ, जाऊ !’ भन्दै बाटोसमेत देखाइदिए । सुरक्षित ठाउँमा आइपुगिसकेपछि श्रीमतीले लामो सास फेर्दै आफ्नो श्रीमान्लाई गाली गर्दै भनिन्, ‘कस्तो मूर्ख मान्छे हँ तपाईं ? यदि तिनीहरूले तपाईंले कुरान होइन बाइबल पढेको थाहा पाएको भए के हुन्थ्यो, भन्नुस् त !’

श्रीमान्ले शान्त भएर जवाफ दिए, ‘उनीहरूका अगाडि जे पढेको भए पनि फरक पर्दैनथ्यो । यदि उनीहरुले कुरान जानेका भए हामीलाई यसरी सताउने नै थिएनन् ।’

नेपालका राजनीतिक पार्टीका नेता सम्झँदा तिनै पण्डित सरको सम्झना आउँछ । खोपीवाला साथीहरूको याद आउँछ ।

कार्यकर्ताको व्यवहार हेर्दा झ्वाट्ट तिनै इस्लामिक स्टेटका लठैतको सम्झना आउँछ । उनीहरूमा स्वविवेक, चेतना र दिमाग छैन । आफ्ना पार्टीका नेताले जे भन्यो त्यही ठीक भनेर हिँडिरहेका हुन्छन् । त्यस्तो ‘सिकाइ’ पैसामा भोट बेच्ने सामान्य जनतासम्म आइपुग्छ । अधिकांश सामान्य जनता पनि ‘के भयो ?’ भनेर विवरणसम्म मात्र थाहा पाउन चाहने तर किन र कसरी भयो भनेर वास्तविकता जान्ने हैसियत नै नराख्ने देखिन्छन् । हिजो जुन नेताले जे भने आज तिनै नेताले त्यही कुरालाई गलत भने भने कार्यकर्ताहरू फेरि त्यसलाई गलतै भनेर बहस गर्न थाल्छन् । क्रिश्चियन धर्मावलम्बी नागरिकले जस्तो हिजो किन सही थियो र आज किन गलत भयो भनेर प्रश्न गर्ने सामथ्र्य नै उनीहरूमा देखिँदैन ।

हाम्रो देशमा विभिन्न समयमा भएका राजनीतिक घटनाक्रम, क्रान्ति, आन्दोलन, छिमेकी देशसँग भएका सन्धि–सम्झौताहरूदेखि लिएर एमसीसीसमेत सम्झँदा दिक्क लागेर आउँछ । हामीमध्ये अधिकांश हरेकपटक कहिले त्यही अबोध बालकजस्ता भएका छौँ । कहिले खोपीवाला साथीका कुरा पत्याएर ‘नयाँ देवता’लाई पैसा चढाउनेजस्ता ! कहिले पण्डित सरको सिकार ! इस्लामिक स्टेटका लडाकु लठैतलाई राम्ररी चिनेर उल्टै उसैलाई ठगिदिने त्यो चलाख क्रिश्चियनजस्तो हामी बन्न सकेकै छैनौं ।

‘देशलाई स्वर्ग र जनतालाई देवता बनाउने’ परिकल्पनाका साथ २०५२ फागुन १ देखि शुरु गरिएको कथित ‘माओवादी जनयुद्ध’लाई पनि पत्यायौँ । त्यो बेला ‘भारतविरुद्ध सुरुङ युद्ध गर्नुपर्छ’ भनेर सुरुङ खन्न लगाउँदा पनि हामीले आज्ञाकारी भएर खन्यौँ । (खाडलका अवशेषहरू अझै पनि होलान् !) चन्दा माग्दा पनि ‘आफ्नै लागि हो’ भनेर दियौँ । खान–बस्न आउँदा पनि हाम्रै लागि हो भनेर अप्ठ्यारो मानेनौँ । ‘…देशमा क्रान्ति सफल हुँदै छ, पोथी ओथारो बसेको २९–२० दिन पुग्दा बाहिर फुल देखिए पनि भित्रचाहिँ चल्ला बनिसकेको हुन्छ, अहिलेको हाम्रो क्रान्ति पनि त्यस्तै हो’ भन्दा मनमनै ‘कति राम्रो उदाहरण !’ भन्दै पत्यायौँ । कसैले पनि ‘त्यो फुल भित्रभित्रै कुहिसकेको पनि त हुनसक्छ नि ! फुल गलत किसिमले ओथरिएको भए, पछि चल्ला अपांग भएर पनि त जन्मन सक्छ नि !’ भन्ने आँट गरेनौँ । ‘लडाइँमा मरे शहीद भएर स्वर्ग गइन्छ, बाँचिएमा पछि हाम्रो सरकार आएपछि सुविधा पाइन्छ’ भन्ने सुन्दा पण्डितहरूले समेत श्रीकृष्णले अर्जुनलाई गीतामा भनेको कुरा (हतो वा प्राप्स्यसि स्वर्गं, जित्वा वा भोक्ष्यसे महीम । तस्मा–दुत्तिष्ठ कौन्तेय, युद्धाय कृत–निश्चय) सम्झे होलान् । लडाइँमा साथीहरू हताहत भएपछि लडाकुहरू हामीलाई सान्त्वना दिँदै हौस्याउँथे, ‘हामी मर्न र मार्न डराउँदैनौँ । शोकलाई शक्तिमा बदल्नुपर्छ ।’

यसै बीच २०५४ सालमा भारतसँग महाकाली सन्धि हुनु रहेछ । त्यसअघि भनियो, ‘यो सन्धि भएमा त नेपाल झिलिमिली हुन्छ । पश्चिमबाट घाम झुल्किन्छ ।’ त्यो पनि आखिर अर्को झुट रहेछ ! दशबर्से कालरात्रिको अन्त्यमा २०६२ साल मङ्सिर ७ गते दिल्लीमा बाह्रबुँदे सहमति भयो । त्यसले जनमानसलाई सन्तोषको सास फेरायो । २०६३ साल मङ्सिर ५ गते भएको ‘विस्तृत शान्ति सम्झौता’ले त झन् सर्वसाधारणमा ठूलो आशा जगायो । तर माओवादीलाई पाल्ने, उकास्ने र ‘अब भयो !’ भन्ने सबै काम अरूको सहयोगमा भएको रहेछ भन्ने कुरा पछि मात्र बुझियो । ‘काम सकिएपछि’ ट्रकका ट्रक हतियार कोही बेचिएको, कोही भारत फिर्ता लगिएको कुरा अहिले सुनिदै छ । तर हामीले त्यतिखेर ‘खोलाले बगायो’ भनेर पत्यायौँ । आफूले गरेको जघन्य अपराधलाई लिएर माओवादीहरूले हामीलाई ‘युद्ध र पे्रममा जे पनि हुन्छ’ भन्ने शिक्षा दिन सफल भए । हामीले त्यसलाई ‘नवदर्शन’ ठान्यौं ।

अनेक थरी झुट कुरा पत्याउँदा पत्याउँदै यतिखेर अनावश्यक भीडभाडपूर्ण जनप्रतिनिधिसहित ‘संघीयता कार्यान्वयन’ उत्कर्षमा पुगेको छ । यहाँसम्म आइपुग्दा–

 -नौ वर्षदेखि फरार अपराधी पटक–पटक चुनाव लड्दा र जितेर सांसद बनिसक्दा पनि प्रहरीले थाहा पाउँदैन ।
-प्रहरीकै हत्या गरेर अदालतले दोषी करार गरेको व्यक्तिसमेत सांसद बनेर प्रतिनिधिसभामा पुग्दा पनि कानुन अन्धो बन्छ ।
-न्यायाधीशको चित्तमा लागे श्रीमती मार्नेले पनि उन्मुक्ति पाउँछन् । भ्रष्टाचार गरेर देश डुबाउनेले पनि सफाइ पाउँछन् । नचाहेको मुद्दामा पेसी चढ्दै जान्छ तर फैसला हुँदैन ।

यस्तो परम्पराबाट विकसित भएको नेपालको राजनीतिमा ज्यानमाराहरूले धम्की दिने, अपराधीहरूले चुनाव जित्ने, भ्रष्टाचारीहरू मन्त्री बन्ने काम सामान्य हुन थालेको छ । राजनीति भनेको ‘देशको मूल नीति’, ‘राज्य सञ्चालन गर्ने नीति’ भए पनि ‘राजनेताहरू’ हाकाहाकी ‘जोगी बन्नका लागि राजनीतिमा लागेको होइन’ भन्न मन पराउँदै छन् । यस्तरी भन्दा पनि हामीकहाँ राजनीति भनेको भ्रष्टाचार गर्न, कमाउन र लुट्नकै लागि रहेछ भन्ने कुरा बुझ्न अझै बाँकी रहेको देखिन्छ ।

२०६५ सालयता बाबुराम एकपटक र प्रचण्ड तीनपटक गरी चारवटा सरकार माओवादीले चलाइसक्यो । आफ्नो नेतृत्वको सरकार नहुँदा पनि माओवादी कहिले कता, कहिले कता टाँस्सिएर र बोकिएर सत्ताको चास्नीमा डुबिआएकै छ । तर यस क्रममा कुरा जति नै ठूला–ठूला गरे पनि कामचाहिँ, ऊ आफैँले जनयुद्ध शुरु गर्नुअघि (२०५२ माघ २२ गते) तात्कालिक देउवा सरकारलाई बुझाएको चालीसबुँदे ज्ञापनपत्रमा समावेश गरेका बुँदाको समेत कार्यान्वयन गर्न सकेको होइन । र पनि हामी, उहाँहरूविना देशै चल्दैन भन्ने मनस्थितिमा छौं ।

वामएकताका साथ दुई तिहाइनजिकको सरकार बन्दा पनि हामी खुशी भएकै हौँ । नेका–माओवादीको सहकार्यमा भएर ‘देशलाई प्रतिगमनको खतरा छ’, ‘प्रतिगमनलाई उठ्नै नदिने’, ‘यो गठबन्धन दश–पन्ध्रवर्षसम्म कायम गर्ने’ घोषणाका साथ सरकार चलाएको देख्दा पनि पत्याएरै आशावादी भइएको थियो । अहिले पुनः ‘नयाँ देवता’रूपी पार्टीसहितको ‘सरकारी वामएकता’ भएर सत्ता र शक्तिको खिचातानी भइरहँदा पनि हाम्रो मनस्थिति आशावादी नै छ ।

देश कुशासन, भ्रष्टाचार र ऋणमा डुबिसक्दा पनि हामी खरानी घस्न छोडेका पुराना र धेरै खरानी घसेका नयाँ जोगीप्रति अझै आशावादी नै छौं । यो देशमा केही झुट नाटकको अभिनय र चर्चा गरिसक्न नभ्याइँदै सत्यको भेषमा अझ डरलाग्दा झुट नाटकहरू पर्दामा आइसक्दा रहेछन् ! दर्शकहरूलाई उल्लू बनाउन भ्याइसक्दा रहेछन् ! भनिन्छ– ढिलो सोच्ने र ढिलो बुझ्नेहरू जिन्दगीमा सदैव पछि पर्छन् । हामी कतिसम्म र कहिलेसम्म अज्ञानी बनेर पछि पर्दै दुःख पाइरहने होला !

प्रतिक्रिया दिनुहोस्