नेवारी समुदायप्रतिको धारणा



‘बागमतीपारि स्याल करायो, म त कस्तो डरायो, घ्याम्पोभित्र लुकेको, घ्याम्पो कस्तो हल्लायो ।’ काठमाडौंमा नेवारलाई होच्यायर यस्तो भन्ने गरेकोे हामीले केटाकेटीमा सुनेका हौँ । सिपालु कर्मी, परिश्रमी कृषक, कुशल कालिगढ, चतुर व्यापारी भए पनि नेवारहरुले शान्त स्वभाव, लडाइँ–झगडा मन नपराउने कारण नेपाली समाजमा उनीहरुप्रतिको धारणा डरछेरुवा, काँथर रहन गएको छ । स्वयं पृथ्वीनारायण शाहले समेत नेपाल मण्डल (काठमाडौं उपत्यका) विजय गरेपछि नेवारलाई ‘कुवाको पानी खाने रहेछ, कÞुवाको पानी खाने सुरो हुँदैन’ याने कि डरछेरुवा, काँथर हुन्छ भनेका थिए । (पृथ्वीनारायण शाह, ‘दिव्य उपदेश’, सम्पादक योगी नरहरिनाथ, वि.सं. २०१६, पृष्ठ ६) ।

पृथ्वीनारायण शाहले नेवारलाई सुरो हुँदैन भने तापनि नेवारले गोर्खालीलाई नरभूपाल शाहको प्रथम नुवाकोट हमलादेखि ३२ वर्षसम्म रोकेको थियो । (तुल्सीराम वैद्य, ‘जयप्रकाश मल्ल द ब्रेभ मल्ल किङ अफ नेपाल १७३६–१७६९’, काठमाडौं, एजुकेसन पब्लिसिङ हाउस, दो.सं. सन् २०१८ पृष्ठ २६५)। नेपालको एकीकरण अभियानमा गोर्खालीविरुद्ध कान्तिपुर राज्यले गरेकोे जस्तो प्रतिरोध अन्य अरु कुनै राज्यद्वारा भएन । (इतिहास शिरोमणि बाबुराम आचार्य, ‘नेपालको संक्षिप्त वृत्तान्त’, काठमाडौं, श्रीकृष्ण आचार्य, दो.सं. २०६३ पृष्ठ ३०१) । पृथ्वीनारायण शाहलाई आफ्नो राज्यकालको झन्डै सम्पूर्ण अवधि नेपाल मण्डल (काठमाडौं उपत्यका) कब्जा गर्न लागेको थियो । मकवानपुरको विजयपछि प्राप्त बन्दुकले सुसज्जित गरिएका छ कम्पनी स्थायी फौज भएको गोर्खालीले सीमित हतियार भएको नेवारसँग यसरी लामो लडाइँ लड्न प¥यो । सो लामो लडाइँमा कालु पाण्डे, शिवराम सिं बस्नेतजस्ता अरु महत्वपूर्ण सैन्य नेतृत्वहरु गोर्खालीले गुमाउनुपरेको थियो । कीर्तिपुरको लडाइँमा नेवारले गोर्खालीलाई दुईचोटि हराए । सो लडाइँमा पृथ्वीनारायण शाहसमेत झन्डै मारिएका थिए । वि.सं. १८२५ मा कान्तिपुर विजय गरेर उपत्यकाभित्रको सम्पूर्ण भूभाग कब्जा गरी फुटहोल्ड बनाइसकेको गोर्खालीलाई कान्तिपुरको यति नजिक भक्तपुर कब्जा गर्न एक वर्ष कुर्नुपरेको थियो । गोर्खाली फौजविरुद्ध नेवारहरुले देखाएको बहादुरीको कारण नेपालसम्बन्धी लेख्ने विदेशी लेखकहरुले ‘नेवार लडाकु जाति हैन तर बेलामौकामा बहादुरी देखाउने गरेकोे छ’ भनी लेखेको पाइन्छ । (पी.डी. ब्यानर्जी, ‘अ ह्यान्ड बुक अफ द फाइटिङ रेस अफ इन्डिया’, न्यु देल्ही एसियन पब्लिकेसन सर्भिस–१९९५, प्र.सं. १८९९, पृष्ठ १११–११२) ।

नेपाल मण्डल (काठमाडौं उपत्यका) कब्जा गरेपछि गोर्खालीले डरछेरुवा काँथर भनेर नेवारलाई २००७ सालसम्म सैनिक पेसाबाट टाढा राखे । (गोपालसिङ नेपाली, ‘द नेवार एन इथ्नो सोसियोलोजिकल स्टडी अफ अ हिमालयन कम्युनिटी’, मण्डला बुक प्वाइन्ट काठमाडौं, दो.सं. २०७१, पृष्ठ १९) । पृथ्वीनारायण शाहको पालामा बाहुन्, क्षत्री, ठकुरी, गुरुङ र मगर सेना थिए । तर बहादुर शाहको नायबी कालमा नेपालको पश्चिमतर्फ एकीकरणको अभियानका लागि सैनिक नपुग भयपछि नेवारलगायत अन्य जातिलाई पनि सेनामा भर्ती गरे । भर्ती भएका नेवारहरुमध्ये केही नेवार सैनिकले सो अभियानमा ठूलो बहादुरी कमाएका थिए । जंगी अड्डाको पुरानो भवनको व्याख्यालय प्रयोग हुँदासम्म सो व्याख्यालयमा ती बहादुर नेवार सैनिकहरुको तस्वीर अन्य वीर योद्धाहरुको तस्वीरसाथ राखिएको थियो । शायद अहिले पनि कहीँ–कतै राखिएको होला । सो अभियानपछि थोरै संख्यामात्रै नगरकोटी सैनिक नेपाली सेनामा राख्न थाले, जसलाई शासकहरुले नेवार मान्थे र अरु नेवारहरुलाई डरछेरुवा काँथर हुन्छ भनेर सेनामा भर्ती गरिएन । तर पनि त्यो समयमा अरु नेवारहरु आफ्नो थातथलो ढाँटेर नगरकोटी लेखाई सेनामा भर्ती हुन्थे । वीर शमशेरको पालामा नेपाल भ्रमण गरेका फ्रान्सेली विद्वान् सिल्वा लेभीले नेवारलाई शंकाको दृष्टिकोण तथा डरछेरुवा भनी सेनाबाट टाढा राखेको पाए । जबकि तिनले बेलायती साम्राज्यको भारतीय सेनामा नेवारलाई कुनै भेद्भावविना काम गरिरहेको भेटेका थिए । (सिल्वा लेभी, ‘नेपाल हिन्दू राष्ट्रको इतिहास’ पहिलो खण्ड, अनुवादक डिल्लीराज उप्रेती, हिमाल किताब, हिमाल एसोसिएसन, पृष्ठ १५८ र १८१) ।

२००७ सालभन्दा अगाडि गोर्खालीको इज्जतिलो पेसा सेना थियो । प्रजातन्त्र आएपछि जारी भएको नेपालको अन्तरिम संविधान–२००८ ले नेपाली सेनामा जातीय विभेद कानुनी रुपमा अन्त्य ग¥यो । फलस्वरुप पहिला सेनामा भर्ती नगरिएका नेवारहरु पनि सेनामा भर्ती हुन थाले । हाल नेपाली सेनामा अधिकृतलगायत अन्य दर्जाहरुमा नेवारको संख्या उल्लेखनीय रहेको छ । देशमा लोकतन्त्र आएपछि विगतमा काँथर डरछेरुवा भनी सेनामा भर्ना नगरिएका नेवारहरु पनि नेपाली सेनाको नीति निर्माण तहमा पुगे । यस अवधिमा कर्तव्य पालनाको सिलसिलामा धेरै नेवारले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन् । विगतको जनयुद्धमा नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएका भीडन्तहरुमा देशको खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सैनिकहरुमध्ये क्षत्री ५१.२, मगर ८.२, नेवार ७.८, तामाङ ६.९, ठकुरी ४.७, ब्राह्मण ४.६ प्रतिशत र अन्य १४ प्रतिशत रहेको छ । देशको प्रजातन्त्र आन्दोलनमा समेत नेवारको योगदान धेरै छ । प्रजातन्त्र आन्दोलनमा प्रथम शहीद हुने ४ जना शहीदहरुमध्ये ३ जना गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री नेवार थिए । राजनीतिक आन्दोलनहरुमा जेल, नेल, घाइते, अपांग हुने नेवारको संख्या पनि उत्तिकै छ ।

शासक वर्गले आफ्नो मुलुकको सेनाबाट नेवारलाई काँथर डरछेरुवा भनी टाढा राखे तापनि बेलायती साम्राज्यले गोर्खा भर्तीको लागि अन्य जातिहरु भर्ती गर्न कडिकडाउ नगरेको बेला वीर शमशेरको पालाभन्दा अगाडिसम्म नेवारहरु भर्ती हुने गरेका थिए । नवौं गोर्खा राइफलको रेजिमेन्टल इतिहास केलाउने हो भने, हिन्दुस्थानी आर्मी हेडक्वार्टरले सन् १८९३ मा नवौं बंगाल नेटिभ इन्फ्यान्ट्रीलाई गोर्खालीको मात्र बनाउने बेला त्यसमा नेवारको संख्या बढाउन मागेको सल्लाहमा क्याप्टेन इडन भान्सिटार्टले सो पल्टनलाई खस ठकुरीको बनाउन सुझाव दिएका थिए । निजको सुझाव अनुसार सन् १९०३ मा सो पल्टनका लागि खस ठकुरीको नवौं गोर्खा राइफल्स बनाएको थियो ।. (ले.क.पी. चौधरी, ‘नाइन्थ गोरखा राइफल्स, ए रेजिमेन्टल हिस्टोरी १८१७–१९४७’, देल्ही, भिजन बुक्स प्राइभेट लिमिटेड–१९८४, पृष्ठ ११–१४) ।

त्यस बेला बेलायती साम्राज्यले गोर्खा भर्ती भएका नेवारहरुमध्ये केहीले बहादुरी देखाएका थिए । तीमध्ये श्रेष्ठ थरका सन् १८६० मा भर्ती भएका पाँचौं गोर्खा राइफलका सुवेदार किशनवीर नगरकोटीले दोस्रो अफगान युद्धको बेला (सन् १८७८–१८८०) ठूलो बहादुरी देखाए । (इडन वान्सिटार्ट, ‘नोटस अन नेपाल’ न्यु देल्ही, एसियन एडुकेसनल सेन्टर–१८९६, रिप्रिन्ट १९९२, पृष्ठ ९१) । सुवेदार किशनवीर नगरकोटीले दोस्रो अफगान युद्धको बेला (सन् १८७८–१८८०) तीनपटक बहादुरी देखाएर बेलायती उच्च बहादुरीको मेडल ‘इन्डियन अर्डर अफ मेरिट’ एउटै युद्धमा प्रथम, द्वितीय र तृतीय श्रेणी गरी तीनवटा मेडल पाएका थिए । जुन मेडल पहिलेपटक तृतीय श्रेणी र पुनः बहादुरी देखाए द्वितीय श्रेणी र त्यसपछि पनि बहादुरी देखाए प्रथम श्रेणी प्रदान गरिन्थ्यो । उनले ब्ल्याक माउन्टेन एक्सपेडिसनमा (सन् १८८८ जुलाई महिना) पठानहरुसँग भएको लडाइँमा पुनः बहादुरी देखाए । उनको सो बहादुरीको कदर गर्न बेलायती साम्राज्यसँग अर्को कुनै उच्च मेडल भएन । तर पनि गभर्नर जनरलको आदेशमा निजले लगाउने गरेको इन्डियन अर्डर अफ मेरिट प्रथम तहको मेडलको रिबनमा सुनको बार लगाउन पाउने सुविधा प्रदान गरेकोे थियो । (के.एल.राव, ‘हिस्ट्री अफ इन्डियन आर्मी’, न्यु देल्ही, मानस पब्लिकेसन–२०१०, पृष्ठ ३७५ ।)

प्रथम विश्व युद्धअगाडिसम्म बेलायतको उच्च बहादुरी मेडल भिक्टोरिया क्रस भारतीय र गोर्खा सैनिकलाई दिने नीति थिएन र कुनै पनि लडाइँमा दुवैले साथसाथ बहादुरी देखाएको खण्डमा गोरालाई भिक्टोरिया क्रस र भारतीय र गोर्खालाई ‘इन्डियन अर्डर अफ मेरिट’ दिने चलन थियो । लडाइँको मैदानमा उच्च बहादुरी प्रदर्शन गर्ने भारतीय र गोरखा सैनिकका लागि मात्र भनी सन् १८३७ मा बेलायती साम्राज्यले ‘इन्डियन अर्डर अफ मेरिट’ मेडल स्थापना गरेको थियो । प्रथम, द्वितीय र तृतीय तीन श्रेणीमा विभाजन रहेको यो बहादुरी मेडलको ११० वर्षको इतिहासमा (सन् १८३७ देखि १९४७ मा भारत स्वतन्त्रता नभएसम्म) हजारौं भारतीय र गोर्खाले ‘इन्डियन अर्डर अफ मेरिट’ तृतीय श्रेणी र सयौं संख्याले ‘इन्डियन अर्डर अफ मेरिट’ प्रथम श्रेणी पाएका थिए । तर ‘इन्डियन अर्डर अफ मेरिट’ मेडल चारपटक पाएर मेडलको रिबनमा सुनको बार लगाउने सुबेदार किशनवीर नगरकोटी मात्र एक सैनिक थिए । (‘पर्वते’, २०० वर्षको विशेषांक, प्रकाशक ब्रिगेड अफ गोरखा, क्याम्बर्ले–२०१५, पृष्ठ २३ ।)

चन्द्र शमशेरका पालामा बेलायती साम्राज्यले आफ्नो रोजाइको गुरुङ, मगर, खस, ठकुरी, राई, लिम्बु आफ्नो मागअनुसार पाउन थालेपछि नेवारहरुका लागि गोर्खा भर्ती गर्न छाडे । प्रथम विश्वयुद्धको बेला बेलायती साम्राज्यलाई धेरै सैन्यको आवश्यकता प¥यो र थप गोर्खा भर्तीको लागि नेपाल सरकारसँग माग ग¥यो । चन्द्र शमशेरले नेवारबाहेक अन्य जातिहरु गोर्खा भर्ती हुन जान देशव्यापी इस्तिहार जारी गरी प्रथम विश्वयुद्धको लागि ५५ हजार जना नेपाली युवाहरु गोर्खा भर्ती हुन पठाए । जुन त्यस बेलाको नेपालको कुल जनसंख्याको अनुपातमा धेरै थियो । (कान्तिपुर ‘कोसेली’, ‘लाहुरेलाई पानी पतिया शुद्ध खाना १५ गाँस खानु’ २१ मङ्सिर २०७६ शुक्रबार) । त्यस बेला गोर्खा भर्ती गर्न चन्द्र शमशेरले नेपालको सिमानाभित्र ६ स्थान इलाम, धनकुटा, पोखरा, स्याङ्जा, पाल्पा, डोटीमा स्थायी र काठमाडौंमा अस्थायी गोर्खा भर्ती केन्द्र स्थापना गर्न स्वीकृति दिएका थिए । (कमलराज सिङ राथौद ‘द ब्रिटिस एन्ड द ब्रेभ’ देल्ही, निराला प्रकाशन १९८७, पृष्ठ ८४) । नेवारको मूल थलो काठमाडौंमा अस्थायी गोर्खा भर्ती केन्द्र र गाउँघरमा युवाहरु खालि गरेर व्यापक रुपमा गोरखा भर्ती गरे तापनि तत्कालीन शासक वर्गले नेवारलाई भर्ती गर्न अनुमति दिएन ।

प्रथम विश्वयुद्धको बेला फौज नपुग भएका कारण १९१३ जनवरी महिनामा १०४ गोर्खा राइफलको मेजर बिभी निकोलिएले पहिला गोर्खा भर्ती हुने गरेका पछि भर्ती लिन छाडेका श्रेष्ठ थर र हालसम्म गोर्खा भर्ती नगरिएका परिश्रमी नेवार कृषक ज्यापुलाई सेनामा भर्ती गर्न नेपालस्थित रेजिडेन्ट्सले नेपाल सरकारसँग स्वीकृति माग्नुपर्ने भनी कुरा उठाएका थिए । (इडन वान्सिटार्ट, एजन, पृष्ठ १७२) । सन् १९१५ मा नेपालस्थित बेलायती रेजिडेन्ट्स जे. म्यानर स्मिथले पनि प्रधानमन्त्री चन्द्र शमशेरसँग प्रथम विश्वयुद्धको लागि नपुग फौजको निम्ति नेवार भर्ती गर्न कुरा उठाएका थिए । तर चन्द्र शमशेरले सो माग स्वीकार गरेनन् । बरु नेवारको बदलामा १९ वर्षदेखि ४० वर्षसम्मका देशभित्रका बन्दीगृहका ४९४ जना कैदीहरु गोर्खा भर्ती हुन पठाइयो । त्यसमध्ये १७८ जना अयोग्यका कारण फिर्ता भएका थिए । (प्रेमराज उप्रेती, ‘नेपाल अ स्मल नेसन इन द भोर्टेक्स अफ इन्टर्नेसनल कन्फ्लिक्ट’, काठमाडौं : पुगोमी १९८४, पृष्ठ १४९) । काठमाडौं उपत्यकाभित्रका चाहे नेवार हुन् वा कथित मार्सल जातिका हुन्, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नागरिकता बोकेका भए ती युवाहरुलाई आज पनि बेलायती सेनामा भर्ती गरिँदैन ।

नेपालमा सैनिक परिवेश र सैनिक सेवामा जाति विशेषको महत्व दिनाले निश्चित जातिका मान्छे सैनिक पेसा आजीविकाको रुपमा अपनाउन थाले । जसले गर्दा नेपाली जातिको लडाकु प्रवृत्तिलाई निकै वृद्धि ग¥यो । (डा. सुरेन्द्र केसी, ‘कथा व्यथा र आन्दोलन’, ताप्लेजुङ, सविता प्रकाशन २०६२, पृष्ठ ११) । २००७ सालभन्दा अगाडि जाति विशेषको महत्व दिनाले आफ्नो निश्चित जाति र समुदायबाहेक नेवारलाई मात्र हैन अन्य धेरै जाति तथा समुदायलाई शंकाको दृष्टिले वा डरछेरुवा, काँथर भनेर सैनिक पेसाबाट टाढा राखियो । २००७ सालमा देशमा प्रजातन्त्र आएपछि यस्तो प्रकारको जातीय विभेद कानुनी रुपमा वर्जित भयो । अझ २०६३ सालमा लोकतन्त्र आएपछि जारी नेपालको नयाँ संविधानको मूल मर्म नै समावेशीपन भएको छ । जसले सबै जातजातिको समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका सबै निकायहरुमा हक–अधिकार सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्