अझै कति प्रेमराजहरू जन्माइरहने हो ?



गएको हप्ता युवा प्रेमराज आचार्यको आत्महत्या प्रकरणले पूरै देशमात्र नभएर विश्व नै हल्लायो । नेपालमा यस्तो प्रकृतिको घटना यसभन्दा अघि घटेको रहेनछ । एक माना खान र एकसरो लाउन पुग्ने आचार्य इलामबाट काठमाडौँ आएर विभिन्न पेसा तथा व्यवसायमा सक्रिय तर अस्थिर प्रकृतिका युवा रहेछन् । उनले सो कुराको विश्लेषण सपाट शैलीमा सार्वजनिक गर्दै स्वैच्छिक रूपमा मृत्युवरण गरे ।

उद्यमी आचार्यले आफ्नो सोझोपनका कारण जे–जस्तो उद्यममा हात हाले अन्ततोगत्वा उनी सबै प्रकारका गरी ८० लाख ऋणमा चुर्लुम्म डुब्नुपरेको साथै आफूले सामान सप्लाइ गरेका ठाउँहरूबाट उधारो नउठेकै कारणले डिप्रेसित भई मृत्यु रोजेका हुन् भन्ने कुरो छर्लङ्ग भइसक्यो । धेरै कुरा उनीमार्फत सार्वजनिक गरिएको ६ हजार शब्द बढीको कारुणिक फेसबुक स्टाटस (स्वरुवाइ) मा लेखिदिएका रहेछन् ।

नेपालमा यो घटना अनपेक्षित थिएन तर यसले आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू नघट्लान् भन्न भने नसकिने स्थिति औँल्याइदियो । आखिर मानिस किन यति निष्ठुरी हुनसक्छ । लाऊँलाऊँ र खाऊँखाऊँ उमेरका दुई बढ्दा छोरीहरू तथा मायाकी खानी पत्नीलाई यो जुनीबाटै सदासदाका लागि छाडेर जान सक्ने कठोरभन्दा कठोर निर्णय जुन उनले लिए त्योचाहिँ एउटा जिम्मेवार छोरा, बाबु, पति तथा देशको नागरिकका तर्फबाट सोच्दा सर्वथा गलत देखिन्छ । सबै प्रकारका सजायका तुलनामा मृत्यु त्यस्तो सजाय हो जसमा मानिसले कसैसँग ‘सरी’ वा ‘एक्स क्युज’ गर्न सक्दैन । यस्तो चेपुवामा रहेका आचार्यले विभिन्न समयमा विभिन्न खाले पार्टी पक्रेका रहेछन् । सदस्य बनेका रहेछन् । नेता र प्रशासन गुहारेका थिए होलान् तर त्यो पाटोलाई भने उनले उल्लेख गर्नु आवश्यक नठानेरै बाहिर प्रकाशन गरेनन् । यो सोचको अर्को पाटो भयो ।

सन्त र ज्ञानीहरू भन्छन्– ‘संसारमा जीवन दुर्लभ छ । जीवन कथम् पाइहालियो भने त्यसमा नरत्व दुर्लभ छ । नरत्वमा पनि सफल नरत्वजीवन झनै दुर्लभ छ । असल÷सफल नरत्वजीवन पाइहालियो भने सेवा दुर्लभ छ ।’ यसरी हेरेका खण्डमा मानिसको जीवन धेरै कठोर सत्प्रयासपछि मात्र प्राप्त गरिने रहेछ । त्यसैले कसैले व्यक्तिगत, पारिवारिक, राजनीतिक, आर्थिक या सामाजिक पाटोमा केही उँच–नीच भयो भन्दैमा फुत्त जीवन बिसाइहाल्नुहुँदैन । एकबारको जुनीमा प्रयास गरे धेरै सम्भावनाका ढोकाहरू जीवनकालमै खोल्न सकिन्छन् । संसारमा कठोरभन्दा कठोर प्रयासबाट सफलतम बनेका मानिसहरूको जीवनी पढेर हामी यस्तो शिक्षा लिन सक्छौं । यो दृष्टिकोणबाट हेर्दाचाहिँ प्रेमराज सोचाइका कमजोर र पुनः परिश्रम गरेर उठ्न नसक्ने काँतर स्वभावका मानिस लाग्दा रहेछन् ।

विश्व ब्रह्माण्डमा यतिखेर आठ अर्ब मानिसहरूको चहलपहल देखिन्छ । यसमा कोही कसैसँग कसैको बोली मिल्दैन, चेहरा मिल्दैन, विचार मिल्दैन, स्वभाव मिल्दैन र आयुको बीचको जीवन मिल्दैन, तैपनि हरमानिस आफैँमा युनिक भएर बाँचिरहेको हुन्छ । आफूले दुःख पाएको छ भने आफूभन्दा अझ धेरै दुःख पाएका मानिसका दर्दले भरिएका कहानीहरू पढ्नुपर्छ, दुःख आफैँ समन हुन्छ ।

मानिसको जीवनमा दुई कुरो निश्चित छैन । ती हुन्– जीवन र मृत्यु । हामी थाहा नपाई जन्मन्छौं र थाहा नपाई मर्छौं । यी दुई विन्दुबीचको उकाली–ओराली, सुख–दुःख र हाँसो–आँसु र सफलता–असफलता नै हाम्रो जीवन हो । एकजना विद्वान्ले भनेका छन्– ‘मानिसले उसको जीवन बुझ्न थाल्दा आधा जीवन सक्किसकेको हुन्छ ।’ संघीय संसद् भवनअघि आत्मघाती निर्णयका साथ आत्महत्याको प्रयास गर्ने आचार्यलाई बर्न अस्पताल कीर्तिपुरमा उपचारका लागि लगिएको, स्वास्थ्य राज्यमन्त्रीले राज्यका तर्फबाट भेट गरेकी, भेटमा आचार्यले प्रधानमन्त्री प्राचण्ड र तत्कालीन गृहमन्त्री रविलाई पठाउन भनेका जस्ता विमर्शबीच भोलिपल्ट उनको असामयिक मृत्युले सबैलाई चकित मात्र पारेन, उनले पोस्ट गरेको फेसबुक स्टाटसले पढ्नेजति सबैलाई धर्धर्ती रुवायो ।

यतिखेर भने आचार्यका पत्नी र छोरीद्वयलाई उनको दर्दनाक कहानी फेसबुकमा पढेर देश–विदेशबाट लाखौं सहृदयी नेपालीहरूले सहयोग गर्ने क्रम जारी राखेका छन् । यसरी नै सहयोग जारी रहिरह्यो भने उनको भएभरको ऋण सहयोगी मनहरूले गरेको हातहातको सहयोगबाटै नतिरिएला भन्ने छैन । यो सुखद पक्ष हो तर मरेर पाएको सफलतालाई कुनै अङ्कको नोटले पनि थेग्दैन । बाबु मरेपछि उनका छोरीहरूमा कस्तो मनोविज्ञानको विकास होला ? लामो पारिवारिक जीवन बाबु र आमा दुवैको भूमिका एक्लै निभाउँदै बिताउनुपर्दा उनकी पत्नीमा कस्ता निराशाका सोचहरू आऊलान् ? यस्ता धेरै प्रश्नहरू अहिले आफैँमा अनुत्तरित छन् ।

तर यो संवेदनाको प्रतिउत्तरमा देखा परेको मानवीय प्रतिक्रिया हो । मानिस मरिसकेपछि ऊ कसै गरी फेरि जिउँदो भएर आउँदैन । सबैलाई थाहा छ, मरिसकेको मानिसले जिउँदोमा जतिसुकै गल्ती र व्यभिचार गरेको भए पनि मरेका क्षणदेखि गल्ती गर्दैन, त्यसैले मरेपछि आम मानिस र नाम चलेका मानिसहरूलाई समेत लोक–समाजले सान्त्वना दिन्छ र कठैबरा भन्छ ।

आत्महत्यालाई कायरहरूले रोज्ने मृत्यु भनिन्छ । अझ शास्त्रले त ‘आत्महत्याबाट मरेका मानिसको लास नजलाऊनु, खोलामा लगेर फ्याँक्नु, परम्परा अनुसार काजक्रिया गर्नै परे एक वर्षपछि मात्र गर्नु’ भन्दो रहेछ । यो भनेको जो–कोही मानिसलाई सामान्य जीवन बिताएरै सांसारिक तबरले सामान्य मृत्युवरण गर भनेको हो । अहिले यसो भन्यो भने प्रेम आचार्यको मृत्युले भावविह्वल भएका उनका परिवारिक सदस्यहरू, नातागोता, इष्टमित्र र अन्य सहयोगी मनहरूले गाली गर्ने निश्चित छ तर यहाँ उठाउन खोजिएको कुरो बेग्लै छ ।

राज्य संयन्त्रले किन धेरै प्रेमराज आचार्यहरू मात्र जन्माउँछ र असमयमै मार्छ ? के प्रेमराजहरूले यो देशको भलो चिताएर उनीहरूले रोजेको क्षेत्रमा काम गरी स्वदेशमै बाँच्ने वातावरण राज्यले सिर्जना गर्न सक्दैन ? सक्दैन भने के–के कारणहरू छन् नसक्ने ? ती सबै सचेत नागरिकहरूलाई साफासाफ भनिदिनुपर्छ । होइन भने राज्यका जिम्मेवार निकायमा रही कार्यकारी पद ओगटेका प्रमुखलाई जनताले खाई–नखाई तिरेको करबाट तलब खाएर बस्ने अनुमति एकक्षण छैन । अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विपक्षी दलको नेता, राष्ट्रिय सभाको अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा रहेका यी आफ्नो निकायका सुप्रिमोहरूलाई सार्वजनिक मञ्चहरूबाट ¥याख¥याख्ती बनाउँदै जवाफ माग्नुपर्छ तब मात्र जिम्मेवार लोकतन्त्रको अभ्यास शुरु हुन्छ ।

आजका यिनै सत्तासीनहरू हिजोका पञ्चायती शासकहरूलाई तथानाम गाली गर्दथे । पञ्चायतको बेथितिले गर्दा देश चौपट भयो भन्थे तर देशमा प्रजातन्त्र आएको करिब ३० वर्ष नाघिसकेको छ । हिजोको पञ्चायतले भन्दा धेरै शासन गर्ने बहुदलीय शासन व्यवस्थाका नायकहरूले देशमा गरिखाने वातावरण नबनाउनाले विदेश जाने युवायुवती र अन्य उमेरका मानिसको संख्या देश फर्कने मानिसका तुलनामा धेरै गुना बढी छ । यस्तो परिवेशमा कति प्रेमराजहरू देशमै र कतिपय प्रेमराजहरू विदेशमै मरिरहेका छन्, तिनको लेखाजोखा छैन ।

नढाँटी भन्ने हो भने, अहिले हामीले तामझामका साथ सञ्चालन गरेको स्थानीय, प्रदेश र संघीय राज्य शासनको मेरुदण्ड भनेकै विदेश गएर काम गर्नेहरूले पठाएको रेमिट्यान्स हो । मुलुकमा लोकतन्त्र आएपछि कृषिप्रधानबाट रेमिट्यान्सप्रधान भैसकेको छ । अब यसबाट सानो जोडबलले फुत्किने गुन्जायस छैन । भुइँचालो, कोरोना र रसिया–युक्रेन युद्धका बाछिटाहरू अर्थतन्त्रमा जब्बर बनेर देखिएका छन् । आर्थिक दलदलबाट देशलाई बाहिर निकाल्ने ‘सुलेमानको जादुको छडी’ त छैन–छैन, साथै कुनै ‘बहादुर नेता’ समेत देखिइरहेको छैन ।

हुन त युवाहरूले पुराना राजनीतिज्ञका तुलनामा केही नयाँ शैलीमा विदेश जाने प्रवृत्तिको विरोध गर्दै चुनावताका भोट बटुल्नकै लागि ठूल्ठूलो स्वरमा विदेश जाने कामको विरोध गरे तर यसरी, यी समाधानका उपायहरू निकालेर विदेश जानबाट रोक्छौं भनेर कसैले भनेनन्÷सकेनन् । हिजोका उद्योगधन्दाहरू प्रायः सबै बन्द गरिए कि निजीकरण गरिएका छन् । नयाँ खोल्ने वातावरण पटक्कै छैन ।

यस्तो अवस्थामा केही पढेलेखेकाहरू युरोप, अमेरिका, अस्ट्रेलिया र एसियाका केही धनी देश गएका छन् भने दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरू खाडी र मध्यपूर्वका मुलुकलाई आफ्नो रोजीरोटीको गन्तव्य बनाउँदै गएका छन् । १०० प्रतिशत युवामा ९९ प्रतिशत युवाहरू मनले नमानी–नमानी घरको आर्थिक स्थितिले तड्पिएर बाबुआमा, जहान, केटाकेटी पाल्नैका लागि विदेश बत्तिएका छन् । त्यो कुरा तिनीहरूले पठाएको रेमिट्यान्सको राजस्वमा दाइँ गर्न पल्केका छोटेमोटे सबै शासकहरूलाई भलिभाँती थाहा छ ।

कसैले चाहेर होस् या नचाहेर, देश दिन–प्रतिदिन रसातलतर्फ झरिरहेको छ । गणतन्त्र र संघीयतापछि देशको आर्थिक परिदृश्य डरलाग्दो गरी ओरालो लाग्दो छ । बढ्दो साधारण खर्च र घट्दो विकास खर्चले देशको समृद्धि र विकासको सपना केवल सपनामा मात्रै सीमित हुने स्थिति देखियो । हालसम्म कार्यकर्ता र नेता पाल्न मात्र उपयुक्त देखिएको प्रदेश संरचनाका ७ राज्य संरचनाहरू खारेजी गर्न मात्र बाँकी रहेको छ । नयाँ विचारको प्रतिनिधित्व गर्छौं भनेर उफ्रिनेहरूमध्ये समयले केही पत्याइहालेका स्वर्णिम वाग्ले, राजेन्द्र लिङ्देन, रवि लामिछाने, गगन–विश्व, ज्ञानेन्द्र शाही र रवीन्द्र मिश्रहरूले यसमा बहस छेड्न ढिला भैसकेको छ ।

सुसाइट नोट त नभनौं देश सञ्चालकहरूलाई सल्लाह दिँदै उद्यमी प्रेमले जल्नुअघि लेखेका रहेछन्–‘प्रचण्ड ! तिमीले १७ हज्जार मर्ने गरी जनयुद्ध ग¥यौ । देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्यायौ । संविधानमार्फत देशमा नयाँ संविधान जारी ग¥यौ तर मजस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्नै नसक्ने बनायौ । तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया र जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैनन् । तिम्रो देश खालि हुनेछ अनि रित्तो देशको प्रधानमन्त्री बन्नु र, ती १७ हजार शहीदहरूलाई शासन गरेर बस्नु !’

राजनीतिमा पुस्तान्तरण नगरी जति सक्यो आफू मात्र सत्तामा बस्ने कुप्रवृत्तिले नयाँ सम्भावनाका बाटाहरू खोल्न नसकेका हुन् । बूढाका बुद्धि र सोचले देश पछिपछि सर्दो छ । शारीरिक र मानसिक थकाइ मार्न, छोरी स्कुल गएको हेर्न र पर्याप्त समय दिन तथा श्रीमान्सँग गुणस्तरीय समय बिताउन न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले पदत्याग गरिन् । हाम्रा नेताहरूले पनि चारधाम जान र नातिनातिनासँग समय बिताउन राजनीतिबाट अनिवार्य स्वैच्छिक अवकाश कहिले लिने ? सचेत नागरिकहरू यत्रतत्र सर्वत्र यही प्रश्न सोध्दै छन् ।

लेखक

प्रतिक्रिया दिनुहोस्