नेत्र ज्योति संघको आँखा शिबिर, २५० जनाको निःशुल्क शल्यक्रिया



काठमाडौं ।

नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा.विनोद निकिता कँडेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरबाट ६३४ जना लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ नवलपरासीसँगको सहकार्यमा सरावल गाउँपालिकाको मनरी हेल्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिविरमा आँखा परीक्षण गराएकाहरू मध्य २५० जना बिरामीहरूमा मोतीबिन्दु रोग देखिएको छ ।

मेतीबिन्दु देखिएका २५० जना बिरामीको डा।विनोद निकिता कँडेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने अस्पतालका व्यवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए ।

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतीबिन्दु भइसके पछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठिक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।

आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा देशै भरी निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्