रवि नभए चन्द्र !



सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि मुलुकमा कानुनी राज कायम रहेछ, जुनसुकै पदको व्यक्ति पनि कारबाहीमा पर्नेरहेछ भन्ने नजिर बसेको छ । त्यसो त यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले कानुनी प्रावधानविरुद्ध संघीय संसद् विघटन गरेको भन्दै उहाँलाई प्रधानमन्त्री पदबाटै हटाउने काम पनि अदालतले गरेको थियो । यस्ता दृष्टान्तले मुलुकमा कानुनको शासन कायम रहेको प्रमाणित गर्दछ । कानुनी शासनको वर्चश्व रहनु अत्यन्त सकारात्मक विषय पनि हो । तर यसैबीच न्याय भएन, करिब आधा लाख जनसंख्याले जिताएका व्यक्तिलाई कानुनी छिद्र देखाएर अन्याय गरियो भन्ने तर्कहरु पनि बाहिर आएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिने कानूनी प्रक्रिया पूरा नगरेकाले लामिछाने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न र त्यसरी निर्वाचित भएको पदमा बस्न अयोग्य हुने सर्वोच्चले फैसला गरेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई नदिएको र यो प्रक्रिया पूरा गरेको भनेर लामिछानेले इजलासमा समेत जिकिर नलिएकाले उहाँलाई सर्वोच्चले प्रतिनिधि सभाको उम्मेदवार बन्नसमेत अयोग्य ठहर गरेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको हो । संयोग कस्तो परेको छ भने, यस मुलुकमा इमान्दारीका साथ व्यापार–व्यवसाय गरेर बस्छु, यस मुलुकको सेवा गर्छु भन्ने नागरिकको सुरक्षा नभएको भन्दै गत मंगलबार मात्र संसद् भवन अगाडि प्रेमप्रसाद आचार्य ‘सन्तोष’ नामका व्यक्तिले राज्य र समाज दुवैलाई एकसाथ चोटिलो प्रहार गर्दै आत्मदाह गर्नुभयो । आचार्यको असामयिक तथा कठोर मृत्युको घटनाले मुलुक तताएकै बेला रवि लामिछानेको फैसला बाहिर आएको छ । आचार्यले आत्मदाह गर्नुअघि लेखेको आत्मवृत्तान्तमा सरकारको नीति, त्यसको कार्यान्वयन र सेवाप्रदायकहरुको व्यवहारले आम नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने मार्मिक चित्रण छ । ‘मेरो देश गर्व गर्न लायक बनोस्, बिदेशिएका लाखौं युवाहरुले यही देशमा केही गर्न सकून् भन्दै यो शरीर बलिदान दिदैछु, अल बिदा’ भनेर आत्मदाह गरेका आचार्यसँग रवि लामिछानेका केही सन्दर्भ मिल्छन् । लामिछानेले पनि टेलिभिजन प्रस्तोता रहँदा यस मुलुकको राजनीतिक, आर्थिक तथा प्रशासनिक कमजोरीका विषयमा बारम्बार आवाज उठाइरहनुभएको हो । मुलुकको हित चाहने व्यक्तिले कि त आत्महत्या गर्न बाध्य हुनुपर्ने कि त पदबाट गलहत्याइने भाष्य अहिले आम जनमानसमा फैलिएको छ ।

मात्र ६ महिनाको दलीय राजनीतिक अभ्यासबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापित गराई त्यसका अध्यक्षका रुपमा आफ्नो दललाई सत्तामा पु¥याएका लामिछानेले चमत्कार नै देखाउनुभएको हो । दशकौं राजनीति गरेर, सशस्त्र द्वन्द्व भन्दै हजारौं नेपालीलाई वलिदान दिनुपर्ने अवस्था सिर्जना गरेर सत्तामा पुगेका दललाई चकित पार्दै अत्यन्त कम लगानीमा नेतृत्वमा पुगेका लामिछानेबाट धेरैको अपेक्षा थियो । जानी–नजानी लामिछानेले कानुनी तथा सामाजिक कमजोरी गर्नुभएको हुनसक्छ, तर देशभक्ति र राष्ट्रियताका सन्दर्भमा उहाँले देखाएको बाटोमा तगारो लगाउन भने कसैले सक्तैन । कुनै कारणले ‘रवि’ असफल भए मुलुकले तत्काल ‘चन्द्र’ खोज्नेछ ।

प्रतिक्रिया दिनुहोस्