निफका फिल्म सार्वजनिक हलमा हेर्न पाइने

३५ देशका ९५ फिल्म छनोट



छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत २ देखि ६ गतेसम्म हुने भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महोत्सवको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल सेन्टरका अध्यक्ष केपी पाठकले ५५ देशबाट आएका पाँच सय बढी फिल्मबाट ३५ देशका ९५ फिल्म छनोट गरिएको जानकारी गराए । विगतमा भै यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मका सात विधामा १४ पुरस्कार वितरण गरिनेछ उनले बताए । उनका अनुसार यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म हलमा प्रदर्शन गरिनेछ ।

क्यूएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल तथा ललितपुरको लबिम मल र भक्तपुरको क्यूएफएक्स हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन गरिनेछ । प्रतिस्पर्धामा आएका फिल्मको बाढीले भने हामीलाई उत्साहित बनाएको छु पाठकले भने ।

कार्यक्रममा फिल्मकर्मी नीर शाहले नेपालमा हरेक वर्ष तीन सय ६५ भन्दा बढी फिल्म सम्बन्धी प्रदर्शन हुने गरेको र तीमध्ये अति कम कार्यक्रम मात्र सम्झन योग्य र लायक हुने तथा तीमध्ये निफ एक भएको चर्चा गरे । यस वर्षदेखि निफले दुईवटा आधार स्तम्भलाई जोड्न सफल भएको छ । पहिलो, क्युएफएक्ससँगको सम्झौता र दोस्रो, माया एनिमेसन एकेडेमीसँगको मित्रता निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाइन्छ । यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्छ । म चलचित्र विकास बोर्डका अध्यक्षलाई अनुरोध गर्छु कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस्, शाहले भने ।

बोर्डका अध्यक्ष भुवन केसीले निफलाई बोर्डले निरन्तर सहयोग गरिरहेको जनाउँदै सरकारलाई पनि प्रस्ताव गर्ने जनाए । अभिनेत्री गौरी मल्लले विगतमा निफको जुरीमा रहेर काम गरेको सुनाउँदै आफ्नो लागि त्यो राम्रो र सुखद अनुभूति भएको जनाइन् । ुनिफ फेस्टिभल मात्र नभएर नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउने र विश्व बजारका उत्कृष्ट फिल्म नेपाली कलाकर्मी र दर्शकलाई देखाउने ठूलो अवसर पनि होु मल्लले भनिन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निफ कला क्षेत्रको ऊर्जा भएकाले यसले निरन्तरता पाउनुपर्ने जनाइन् । चाइना कल्चरल सेन्टरका डाइरेक्टर स्याओ च्याङले निफ धेरै महत्त्वपूर्ण भएको बताए ।

अभिनेता तथा निर्देशक निर्मल शर्माले फिल्ममा कसरी लगानी गर्ने र कसरी उठाउने भन्ने सम्बन्धमा छलफल चलाउन आग्रह गरे भने अभिनेत्री सरिता गिरीले निफ सिर्जनात्मक फिल्म देखाउने उत्सव र अवसर भएको चर्चा गरिन् । क्यूएफएक्सकी महाप्रबन्धक प्रशंसा पाण्डेले नेपालका फिल्म महोत्सव पनि बर्लिन र कान्स जस्तै बनाउन सकिन्छ भन्ने उद्देश्यले निफलाई साथ दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्