‘देउवालाई राष्ट्रपति हुने इच्छा छैन’



बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति हुने इच्छा नभएको बताउनुभएको छ ।

प्रेस युनियन, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले पार्टी सभापति देउवाले राष्ट्रपति हुने इच्छा प्रकट नगरेको बताउनुभयो । उहाँले कांग्रेसबाट राष्ट्रपति हुन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू रहेको बताउनुभयो ।

कांग्रेस प्रवक्ता डा. महतले कानुनी शासन र संविधानको रक्षामा उभिएको तथा अहिलेको ठूलो पार्टी भएकाले नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्नेमा जिकिर गर्नुभयो । उहाँले दलबाहिरबाट राष्ट्रपति बनाउने सम्भावना नरहेको प्रस्ट पार्नुभयो ।

डा. महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति समझदारीमा चयन गर्नुपर्ने बताउनुभयो । एक प्रश्नमा डा. महतले बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने कुरा अफवाह मात्रै भएको बताउनुभयो ।

प्रवक्ता डा. महतले तत्कालीन परिस्थितिमा सरकारलाई विश्वासको मत दिए पनि आफूहरू सरकार निर्माण र मन्त्रिपरिषद्मा सहभागी नभएकाले प्रतिपक्षकै भूमिकामा रहने बताउनुभयो । ‘ठूलो पार्टी भएकाले पहिलो चरणमा कांग्रेसले नै सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो कुरा थियो । गठबन्धनमा रहेको माओवादीले आफ्नो दाबी गरिरहेको थियो’, कांग्रेस प्रवक्ता महतको भनाइ थियो– ‘त्यति छिट्टै गठबन्धन टुट्छ भन्ने मूल्यांकनमा कमीकमजोरी भएकै हो ।’

उहाँले संसद्को पहिलो बैठकमै एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गरेको कुरालाई सही सावित गर्ने प्रयास गरेपछि आफूहरूले तत्कालका लागि संविधान रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिएको बताउनुभयो । राजा चाहिन्छ, राजा चाहिँदैन, गणतन्त्र चाहने र नचाहनेको अहिलेको गठबन्धन रहेकाले लामो समय नटिक्ने महतको बुझाइ थियो ।

प्रतिक्रिया दिनुहोस्