नेपालद्वारा लिखित नेपालकै समयका स्वरहरु



परिचय
समयका स्वरहरु मुक्तककार नेपाल रानाभाट सुबोधद्वारा लेखिएको मुक्तक सङ्ग्रह हो । विक्रम संवत् २०७५ सालमा नेपाल मुक्तक प्रतिष्ठान काठमाडौँद्वारा प्रकाशित यस सङ्ग्रहको आवरण-चित्रांकनकला उमेशचन्द्र अधिकारीको रहेको छ । भाषा सम्पादनका लागि प्राडा ईश्वरचन्द्र वाग्ले, व्यवस्थापन रमेश-पूजा-सौगातदीप रानाभाट रहेको मुक्तक सङ्ग्रहको वितरकमा किरण रानाभाट र जङ्गबहादुर गुरुङ रहेको देखिन्छ । सर्वाधिकार लेखकमा सुरक्षित रहेको यस कृतिको मूल्य रु २५० नेपाली र ५ डलर निर्धारण गरिएको छ । यमकुमारी थापा मगरले कम्प्युटर सेटिङ गरेको मुक्तक सङ्ग्रह पश्चिमाञ्चल अफसेट प्रेस पोखराले मुद्रण गरेको पाइन्छ ।

नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले प्रकाशकीय, साहित्यकार तीर्थ श्रेष्ठद्वारा शुभकामना, विजय कट्टेल छहराद्वारा नेपाली साहित्यकाशमा उदाउँदै एउटा तारा शीर्षकमा भूमिका रहेको यस सङ्ग्रहमा मुक्तककारले मेरो अन्तरमनबाट शीर्षकमा आफ्ना भावनाहरु प्रस्तुत गरेको पाइन्छ । ८० बर्षको उमेरमा बुबा गुमाउन पुगेका सुबोधले आफ्ना बुबाको पुण्यस्मृतिको अवसर पारेर बुबाको समर्पणमा आफ्ना ८ जनाको परिवार संख्यालाई समेटेर विभिन्न ८ शीर्षकमा मुक्तकलाई वर्गीकरण गरेका छन् । यस सङ्ग्रहभित्र राजनीतिक, नैतिकता, प्रेमसम्बन्ध, समय परिस्थिति, सामाजिक, धनसम्पत्ति, आत्मज्ञान र जिन्दगी अन्तर्गत विभिन्न मुक्तक समावेश गरेका छन् ।

मुक्तकको परिचय

‘मुक्त’ शब्दमा ‘कन’ प्रत्यय लागेर मुक्तकको व्युत्पत्ति हुन्छ । जसको अर्थ हुन्छ स्वतन्त्र । आफैंमा पूर्ण । मुक्तकको मानक रुप चारपंक्ति आफैंमा पूर्ण हुने भएकाले मुक्तक चोटिलो, पोटिलो, रसिलो र आफैमा परिपक्क हुन्छ । यो नैे मुक्क्तकको पहिचान हो (कोने.२०७५) । मुक्तकमा सुरुको उठान पंक्ति, दोस्रोमा विकास पंक्ति हुन्छ । तेस्रोले ताक्ने काम गर्छ भने चौथोले हान्ने काम गर्छ । खुत्रुक्कै पार्छ । मुक्तक छोटोमा जीवन भोगाइको मार्मिक सत्य उद्घाटन गर्ने सूक्तिमय काव्यिक कथन हो । गीत, गजलले जस्तो शब्द-ध्वनिको आवृत्ति सहितको साङ्गीतिकताको सीमा यसले पछ्याउँदा पछ्याउँदै पनि चार हरफको मितव्ययी उक्ति यसको विशिष्ट चिनारी हो (डङ्गोल.२०७५) ।

‘सुबोध’का मुक्तकमा राजनीति
नेपाली शब्दकोशका अनुसार प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति राजनीति हो । राज्यको शासन व्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली नै राजनीति हो (नेपाली बृहत् शब्दकोश. २०७७) ।

राजनीतिले राष्ट्रलाई कुन दिशातर्फ लैजान्छ भन्ने बोध गरेको हुन्छ । नेतृत्व राष्ट्रप्रेमी भयो भने असल र जनताले प्रत्याभूति पाउने खालको राजनीति हुन्छ । नेतृत्व आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको अवस्थामा भने राजनीतिप्रति वितृष्णा र केही मुठीभर व्यक्तिको हातमा राष्ट्र रहन्छ । सुवोधले यस सङ्ग्रहमा राजनीति शीर्षकमा १८ वटा मुक्तक समावेश गरेका छन् ।

‘सुबोध’ले राजनीति शीर्षकको पहिलो मुक्तकमा नेताप्रति तीखो व्यङ्गय गरेका छन् । वर्तमानका प्रायः अधिकांश नेताहरूको मनोवृत्तिलाई जनताले सरल भाषामा बुझे जसरी, चौतारीमा, चियापसलमा तथा २।४ जना व्यक्ति जम्मा हुँदा नेताप्रति गरिने मूल्याङ्कनलाई आफ्ना शब्दमा उतारेका छन् । नेताहरु कहिले जङ्कलमा पसेर राज्य चलाउने सपना देख्छन् ।

कहिले संसदको प्रतिपक्षमा बसेर सरकारको तीव्र विरोध गरेजस्तो गरेर जनताको मनमा बस्ने प्रयत्न गर्दछन् । कहिले सरकार गठनको अङ्क गणितमा सहभागी भई शासन सत्ता हत्याउने प्रयास गर्दछन् र आफ्नो हिजोको आनीबानी, रहनसहनलाई आधुनिक सभ्यतातर्फ उन्मुख गराउँदछन् । विपक्षमा रहँदा आफ्नो सङ्कल्प, प्रतिपक्षमा रहँदा जनताको लागि भनेर आवाज उठाएको कुरा बिर्सिदिन्छन् र आफ्नो स्वार्थ मै केन्द्रित रहन्छन् भन्ने कुरालाई मुक्तक मार्फत यसरी प्रस्तुत गरेका छन्:
विपक्षमा हुँदाखेरी सबै हुन्छन बनप्रेमी
प्रतिपक्ष बनेपछि सबका सब जनप्रेमी
रूपरंग आनीबानी आकाश जमिन फरक पार्दै
शासनसत्ता हातमा हुँदा तिनै फेरि धनप्रेमी

(मुक्तक नंं. १)
‘सुबोध’ ले राजनीतिक पूर्वाग्रह शीर्षक दिइएको मुक्तकमा राजनीति संस्कारयुक्त भन्दा पनि बेथितियुक्त बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । फरक फरक राजनीतिक पार्टीका कारण गाउँघरमा मर्दापर्दा, गाह्रोसाह्रो पर्दा चाहिने आफन्त, साथी र छरछिमेकमा वैमनस्यता कायम गराइदिने, राजनीतिक प्रतिस्पर्धाका कारण आफ्नो मान्छे पनि टाढिने अवस्था रहेको देखिन्छ । यसैगरी कुनै पनि कार्यालयहरुमा काम गर्ने क्षमतावान् कर्मचारीबीच राजनीति नमिलेका कारण उसलाई अपहेलना गर्ने, सही कामको सही मूल्याङ्कन हुन नसक्दा र सरकारी कार्यालयमा विचारको हिसाबले मूल्याङ्कन गर्ने परिपाटी हुने गरेकोले आफ्नो काममा समर्पित भएर लाग्ने बफादार कर्मचारीहरूको मनोबल घट्दै गएको अवस्थालाई मुक्तक मार्फत यसरी प्रस्तुत गरेका छन्:
राजनीतिले मित्रलाई नै दुश्मन पार्ने गर्दोरैछ
आफ्नै मान्छे पराई हुँदा दिलमा असर पर्दाेरैछ
योग्यता र क्षमताको अवमूल्यन हुने गरी
कित्ता छुट्टाई व्यवहार गर्दा जाँगर पनि मर्दोरैछ

(मुक्तक नंं. ६)
यस्तै संघीयताले सिंहदरबारको अधिकार घरघरमा हुने संकल्प बोके पनि खासगरी केही सीमित नेताहरूलाई मागिखाने भाँडो र नेताहरु व्यवस्थापन गर्न केही हदसम्म सजिलो भएको पाइन्छ । विकृति विसंगति दिनानुदिन बढ्दै गएको र नेताहरुले संघीयतालाई जनमैत्री बनाउन नसक्दा जनताहरु वाक्क दिक्क भएको प्रसङ्गलाई मुक्तक मार्फत यसरी प्रस्तुत गरेका छन् ।
विद्वान भन्छन् गणतन्त्र आउन अलि चाँडो भयो
बाह्रमासे नेताहरूको मागीखाने भाडो भयो
जताततै विसंगति विकृतिको पराकाष्टा
अब सबै भन्न लागे संघीयता घाँडो भयो

(मुक्तक नंं. १६)
‘सुबोध’का मुक्तकमा नैतिकता
मानिस नैतिक हुनुपर्दछ । नैतिक भन्नाले राम्रो आचरण भएको, नीतिको पालना गर्ने, सभ्य समाजको निम्ति पथप्रदर्शक भएको भन्ने बुझिन्छ (नेपाली बृहत् शब्दकोश. २०७७) । मानिसमा नैतिकता रह्यो भने समृद्ध समाजको लागि अरु सूचकहरु छोटो समयमै पूरा हुन्छन् । तर वर्तमान मान्छेहरुमा नैतिकता हराउँदै गएको र त्यसले समाज क्षतविक्षत भएको प्रसङ्गलाई नैतिकता शीर्षकमा यस सङ्ग्रहमा दशवटा मुक्तक समावेश गरेको पाइन्छ ।
इमान शीर्षकको मुक्तकमा मानिस नैतिक बन्नु पर्ने प्रसङ्गलाई उठाएका छन् । सम्बन्ध स्थापित गराउन विश्वास भन्दा अर्को ठूलो केही नहुने, आफु आफ्नो कर्तब्य पथमा हिड्ने हो भने कसैलाई गुलामी गर्नु पर्दैन भन्ने कुराको संकेत गरेका छन् । जो आफ्नो स्वाभिमानमा अटल छ, उसलाई जतिसुकै लोभ प्रलोभन देखाए पनि विचलित हुँदैन भन्ने कुरालाई मुक्तक मार्फत यसरी प्रस्तुत गरेका छन्:
विश्वास विनाको सम्बन्ध सबै चल्दैन हजुर
सही बाटोमा हिँड्नेले तेल मल्दैन हजुर
झुक्दैन शीर कदापी स्वाभिमानले ठडिएको छ
प्रलोभनका खात लागुन् तर इमान ढल्दैन हजुर

(मुक्तक नंं. २०)
यस्तै कलियुगका मान्छेहरु शीर्षकको मुक्तकमा कलिला बालिकाहरु बलात्कृत हुनु गरेको प्रसङ्ग उठान गरिएको छ । साना साना नानीहरु कहिं पनि सुरक्षित हुन नसकेको तितो यथार्थ प्रस्तुत गरेका छन् । पुरुषहरु आफ्नै बाबु, काका, दाजुभाई भएर पनि यौनपिपासुका रुपमा रहेका छन् । पुरुषहरु आफ्नो नैतिक धरातल के हो भन्ने कुरा हेक्का नराखी ढुङ्गे युगमै रहेका छन् भन्ने अवस्थालाई मुक्तक मार्फत यसरी प्रस्तुत गरेका छन् ।
हत्याहिंसा बलात्कारमा सिकार हुन्छन् सानीहरु
आफ्नै बाबु काकाबाट असुरक्षित नानीहरु
बुद्धि विवेक गुमाउँदैछन् कलियुगका मान्छेहरु
ढुङ्गे युग झैं लाग्छ अझै सुध्रिएनन् बानीहरु

(मुक्तक नंं. २३)

‘सुबोध’ का मुक्तकमा प्रेमसम्बन्ध
कुनै विषयवस्तु वा व्यक्तिमा स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता अनुराग नै प्रेम हो (नेपाली बृहत् शब्दकोश. २०७७) । यस्तै रुप, गुण, स्वभावमा सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री–पुरुषमा परस्परमा हुने अनुराग नै प्रेम हो । प्रेम बिना जीवन निरर्थक छ । जहाँ प्रेम हुन्छ, त्यहाँ आत्मीयता हुन्छ । जहाँ आत्मीयता हुन्छ, त्यहाँ जीवन हुन्छ । प्रेम सम्बन्ध यस्तो सम्बन्ध हो, जसले जिन्दगीका अनेकन यात्रालाई सहज बनाइदिन्छ । सुबोधले यस मुक्तक सङ्ग्रहभित्र प्रेमसम्बन्ध शीर्षकमा बाह्र मुक्तक समावेश गरेका छन् ।

कामवासना शीर्षकको मुक्तकमा प्रेमीप्रेमिकाको कल्पनालाई यथार्थमा परिणत गर्ने सपना रहेको छ । प्रेमसम्बन्ध स्थापित भइसकेपछि अँध्यारो रातको प्रतिक्षामा बस्ने रहरहरु भएको, प्रेमीप्रेमिका उश्रृङ्खल बन्दैगएको, अँध्यारो रातमा प्रेमीप्रेमिका सँगै रहँदा प्रेमको मात बढ्दै गएर हातहरु चञ्चल भई स्पर्श गर्न पल्किरहेको, हातले आफ्नो प्रेमीप्रेमिकालाई स्पर्श गर्ने बानी परिसकेको यसरी प्रस्तुत गरिएको छ:
सुन्दर सपना साकार अपेक्षा रातभर ढल्केपछिको
रहरहरु उरन्ठेउला जवानी झन भल्केपछिको
जुनेली त्यो रात बीचमा मात झनै नौलो अनौठो
लुकीचोरी स्पर्शमा चञ्चले हात पल्केपछिको

(मुक्तक नंं. ३२)
यस्तै मेरी बुढी शीर्षकको मुक्तकमा प्रेम सम्बन्ध दिगो नरहेको देखिएको छ । धन कमाउन मुग्लान जानुपर्ने बाध्यता छ । धन कमाउन जाँदा मन गुमाउनु परेको तितो यथार्थ यस मुक्तकमा पाइन्छ । लोग्ने तातो घाममा मरीमरी काम गर्नुपरेको छ भने घरमा श्रीमती कामवासनामा मुग्ध भई यौन तृप्तिका लागि पराइसँग सम्बन्ध स्थापित गरेको प्रसङ्ग यसरी प्रस्तुत गरिएको छ ः
फोन उठ्थेन बेलाबखत पराइसँग मस्ती रहिछ
कस्ती थिई मेरी बुढी हिजोआज कस्ती भइछ
तातो बाफमा कमाएको धनसम्पत्ती पोको पारी
हतार गर्दै हिजो आएँ अर्कैसित अस्ति गइछ

(मुक्तक नंं. ४०)

‘सुबोध’का मुक्तकमा समय परिस्थिति
कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काल वा बेलालाई समय भनिन्छ । कुनै घटना काम आदिको वास्तविक तथा तर्कसङ्गत अवस्था तथा समसामयिक वातावरण सिर्जिएको स्थिति नै परिस्थिति हो । समय परिस्थितिले गर्दा मानिसले कतिपय चाहेर पनि गर्न सक्दैन भने कतिपय अवस्थामा नचाहँदा–नचाहँदै पनि गर्नुपर्ने बाध्यता रहन्छ । कहिलेकाहीँ समय परिस्थिति अनुकूल बनिदिन्छ । कैले प्रतिकूल बनेर मन विक्षिप्त बनाइदिन्छ । प्रस्तुत सङ्ग्रहमा समय परिस्थिति शीर्षकमा आठवटा मुक्तक समावेश भएका छन् ।
युवा छँदा शीर्षकको मुक्तकमा युवा रहँदाको समयलाई चित्रण गर्न खोजेका छन् । युवाको जोश जागर हुँदा सानो कुरामा चित्त नबुझ्दा पनि हल्ला गरिहाल्ने बानी, युवाहरुले कुनैपनि विषयवस्तुलाई गम्भीरतासाथ नलिइ सतही रुपमा आफ्नो प्रतिक्रिया दिने खालका हुन्छन् भन्ने कुरालाई देखाइएको छ । युवाहरु प्रायः साथीहरूको लहलहैमा लागेर जिन्दगीमा ठुला ठुला घटना घटाउन पनि पछि पर्दैनन् भन्ने कुरालाई यसरी प्रस्तुत गरिएको छ:
युवा छँदा तातो रगत उम्लिएर जोश आउँथ्यो
बिग्रिएर कामकुरो चिसिदा पो होश आँउथ्यो
साथीभाईको लहैलह स्वीकारेर अघि बढ्दा
जिन्दगीमा कहिलेकाहीँ अनायसै दोष आँउथ्यो

(मुक्तक नंं. ४२)
यस्तै नक्कली डाक्टर शीर्षकको मुक्तकमा मानिस बिरामी हुँदा गाउँघरमा डाक्टर बिना धामीझाँक्रीको भर पर्नु पर्ने बाध्यता रहेको, बिरामी हुँदा भगवानलाई पुकारा गरेर जीवनलाई सुम्पनु परेको तितो यथार्थ छ । सहरबजारमा घरखेत बेचेर पनि बिरामी निको हुन नसक्ने अवस्था छ । न घर खेत रहन्छ, न बिरामी निको हुन्छ । नेपाली जनताहरु जसरी पनि मारमा परिरहेका छन् भन्ने प्रसङ्गलाई यसरी प्रस्तुत गरिएको छ:
गाउँघरमा डाक्टर छैनन् धामीको नि भरै लाग्ने
विमार हुँदा विकल्पमा विश्वास गर्न करै लाग्ने
घरखेत गरी निको हुन अस्पतालमा धाउँदाखेरी
डाक्टर पनि नक्कली छन् भन्दा चाहिँ डरै लाग्ने

(मुक्तक नंं ४५)

‘सुबोध’का मुक्तकमा सामाजिक पक्ष
समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति) आदिलाई सामाजिक भनिन्छ (नेपाली बृहत् शब्दकोश. २०७७) । मानिसका आनीबानी, रहनसहन, चालचलन, भेषभूषा, धर्म संस्कृति सामाजिक पक्ष अन्तर्गत पर्दछन् । प्रस्तुत सङ्ग्रहमा सामाजिक पक्ष अन्तरगत छ वटा मुक्तक समावेश गरिएको छ ।
मागीविवाह शीर्षकको मुक्तकमा परम्परादेखि मान्दै आएको संस्कृति हराउँदै गएको, विकृति विसंगति फैलिदै गएको अवस्थालाई उजागर गरिएको छ । मागी विवाहको प्रचलन हराउँदै गएको र केटाकेटी स्वतःस्फूर्तरुपमा प्रेममा रहने गरेको प्रसङ्गलाई यसरी प्रस्तुत गरिएको छ:
मौलिक धर्म संस्कृतिमा अनायसै घुन लाग्यो
विसंगति झ्यागिंएर सगरमाथै छुन लाग्यो
बिनाप्रेमी कोही नहुने कस्तो बेला आयो कुन्नी
लाटा लाटी बीचमा मात्रै मागी बिहे हुन लाग्यो

(मुक्तक नंं.४५)

‘सुबोध’का मुक्तकमा धनसम्पत्ति
कसैको निजी अधिकारमा रहेको चल वा अचल धन नै सम्पत्ति हो (नेपाली बृहत् शब्दकोश. २०७७) । मानिस सुख प्राप्त गर्ने खोजीमा सम्पत्ति कमाउन थाल्छ । जति कमाएपनि कहिल्यै पनि भरिपूर्ण भएको हुँदैन । जति कमायो, संचित गर्यो उति नै अझै धनसम्पत्ति जोगाउने र कमाउने अभिलाषा रहेको पाइन्छ । सुबोधले प्रस्तुत सङ्ग्रहमा धनसम्पत्ति शीर्षकमा तीनओटा मुक्तक समावेश गरेका छन् ।
धन बिनाको मन शीर्षकको मुक्तकमा मानिसहरुमा आँखाअगाडि काँध थापे जस्तो गर्ने र पछाडिपट्टि खुट्टा तान्ने प्रवृत्ति मौलाउँदै गएको, धनको पछि सर्वस्व छ भन्ने द्रव्यपिचाशहरुको बाहुल्यता हुँदै गएको कारण चोखो माया प्रेम हराउदै गएको, धनसम्पत्ति नहुनेले मायाप्रेम पाउनै नसक्ने तितो सत्य प्रस्तुत मुक्तकका माध्यमबाट गरिएको छ ः
मुखले ठिक्क कामले दिक्क असल नियत चिन्नै गाह्रो
धनको पछि लाग्नेसँग विश्वाश गरी हिन्नै गाह्रो
सुनभन्दानी महँगो छ हिजोआज प्रीतिको फूल
धन बिनाको मन हुनेले चोखो माया किन्नै गाह्रो

(मुक्तक नंं५६)

‘सुबोध’का मुक्तकमा आत्मज्ञान
आत्मा र परात्मा सम्बन्धी ज्ञान नै आत्मज्ञान हो । शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्कृय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रीय र अभौतिक शक्ति आत्मा हो । मानिसमा जब आत्मज्ञान को बोध हुन्छ उसले शान्ति पाउने कुरामा विमति हुँदैन । प्रस्तुत सङ्ग्रहमा आत्मज्ञान शीर्षकमा १५ वटा मुक्तक समावेश रहेका छन् ।
शाधना शीर्षकको मुक्तकमा मान्छेमा सबैभन्दा ठूलो गुण भनेको उसको विश्वास हो । विश्वास दिलाउन सकियो भने मात्र मन जित्न सकिन्छ । मन जित्यो भने ध्यान केन्द्रित गराउन सकिन्छ । कुनै पनि चिज प्राप्त गर्नको लागि निरन्तर साधनारत हुनुपर्ने र स्वार्थरहित भएमा ज्ञान प्राप्त हुने प्रसङ्गलाई यसरी प्रस्तुत गरिएको छ:
विश्वास जित्न सके मात्रै मन जित्न सक्छ मान्छे
मन जित्न सके मात्रै ध्यान खिच्न सक्छ मन्छे
हृदयको आवाज सुनी साधनामा लाग्दालाग्दै
स्वार्थ जित्न सके मात्रै ज्ञान सिक्न सक्छ मान्छे

(मुक्तक नं ६४)

‘सुबोध’का मुक्तकमा जिन्दगी
जन्मेदेखि मृत्युसम्म समय नै जिन्दगी हो (नेपाली बृहत् शब्दकोश. २०७७) । जिन्दगी जिउने आ–आफ्नै तौरतरिका हुने गर्दछन् । जिन्दगीमा कहिले दु:ख, सुख, हाँसो, रोदन लगायत मिलन विछोड हुने गर्दछ । कहिले जिन्दगीदेखी वाक्क लाग्ने त कहिले जिन्दगी जिउन पाएकोमा आनन्दित हुने अवस्था रहन्छ । प्रस्तुत सङ्ग्रहभित्र जीन्दगी शीर्षकमा ८ वटा मुक्तक समावेश गरेका छन् ।
आमा बन्ने रहर शिर्षकमा आमाको महिमागान गाइएको छ । आमाको मातृत्व भाव झल्काइएको छ । आमाभित्र मायाको सागर नै रहेको र देवी भगवती भन्नु नै आमा हुन् भन्ने आशय प्रस्तुत मुक्तकका मध्यमबाट अभिव्यक्त गरिएको छ ः
अर्को जुनीमा मलाई पनि आमा बन्ने रहर छ
आमा भित्र मायाको कुलो हैन नहर छ
मन्दिरभित्र मानवनिर्मित भगवतीका प्रतीक मात्रै
साक्षात देवी आमा नै हुन् भन्ने मेरो ठहर छ

(मुक्तक नंं ७४)

प्राप्तिहरु
नेपाल रानाभाट सुबोधद्वारा लेखिएको समयका स्वरहरु मुक्तक सङ्ग्रहमा राजनीतिक नेतृत्वप्रति तीव्र व्यङ्गय गरिएको, वर्तमान राजनीति संस्कारयुक्त भन्दा पनि बेथितितर्फ उन्मुख हुँदै गएको, राजनीतिका कारणले आफन्त साथिहरु समेत टाढा हुँदै गएको अवस्था पाइयो । संघीयताले सिमित नेताहरुलाई थन्काउने ठाउँ मात्र भएको तर जनताले प्रत्याभूति हुने गरी संघीयताको मर्म अनुसार हुन नसकेको अवस्था रहेको पाइयो । कर्मनिष्ठ व्यक्तिहरु अर्काको लोभ लालचमा परेर आफ्नो इमान बेच्न नहुने, हरेक मान्छे आफ्नो नैतिक धरातलमा रहनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको पाइयो । प्रेमीप्रेमिकालाई एकान्त ठाउँ उपयुक्त हुने, प्रेमीप्रेमिकालाई अँध्यारो रातको प्रतिक्षामा बस्ने गरेको, लोग्ने घरको खुसीका निम्ति परदेश जाने गरेको, घरमा श्रीमती परपुरुषसँग यौनतृप्ति मेटाउन लालायित भएका प्रसङ्गहरु पाइयो । युवाहरुले हतारिएर निर्णय लिँदा फुर्सदमा पछुताउनु परेको अवस्था, मानिस बिरामी हुँदा गाउँमा धामीझाँक्रीको भर पर्नुपर्ने, शहरमा घर खेत गरेर भएपनि उपचार हुन नसक्ने अवस्थालाई देखाइएको छ । चोखो माया–प्रेम धनसम्पत्तिकै कारणले ओझेल पर्ने गरेको, साधनाले नै मानिसलाई पूर्ण बनाउँछ भन्ने सन्देशका साथै आमा नै संसारको सबैभन्दा प्रिय रहेको पाइयो ।

निष्कर्ष
नेपाली साहित्यको मुक्तक विधामा धेरै पहिलेदेखि कलम चलाउने, जतिखेर आवश्यक पर्यो त्यतिखेर सिर्जना गर्ने अनि ती रचनालाई संरक्षण नगर्दाको अलिकति दुखेसो मुक्तककारले गरेका छन् । सूचना र प्रविधिको विकास, विस्तार र पहुँचसँगै रचनाहरुलाई केही रुपमा भएपनि सामाजिक सञ्जालमा पोस्ट गरी जतन गर्न लागेको उल्लेख छ । सामाजिक सञ्जाल पनि पूर्ण रुपमा दिगो र सुरक्षित नहुने भएकाले प्रविधिको प्रयोग गर्दा गुगल ड्राइभ तथा हस्तलिखित गरी सुरक्षित गर्नाले पछिल्ला आफ्ना रचनाले मूर्तरूप पाउने देखिन्छ ।

प्रस्तुत समयका स्वरहरु मुक्तक सङ्ग्रहमा राजनीति शीर्षकमा वर्तमान राजनीतिक परिवेशको चित्रण गरिएको छ । जसमा राजनीतिकर्मीले गरेका वा राजनीतिकर्मीबाट जनतामा तिक्तता महसुस भएका मुक्तकहरुले प्रायः स्थान पाएका छन् । यस क्षेत्रअन्तर्गत युवालाई राजनीतिप्रति उत्साहित गराउने र अहिले भएका सानातिना प्रयास र केही राम्रो गर्ने जाँगर भएका राजनीतिकर्मीको व्यवहारलाई थोरै उजागर गरेको भए अझै सुनमा सुगन्ध हुने थियो ।

नैतिकता शीर्षकका मुक्तकहरुमा नैतिकता गुम्यो भने के हुन्छ ? इमान ढाल्नु हुँदैन जस्ता मार्मिक र सन्देशमुलक मुक्तक समावेश छन् । यसपछिका मुक्तकमा इमानजमानले भरिपुर्ण, नैतिकता प्रदर्शन गरेकै कारण सफल भएका प्रसङ्गहरु आउँदा मानिसमा नैतिक भाव अझै संचारित हुने देखिन्छ । प्रेमसम्बन्ध शीर्षकका मुक्तकहरुमा सम्बन्ध, कामवासना र गाउँ घरका कालीहरु मुक्तकहरु प्रेमपूर्ण छन् । प्रेममा आशाको दियो बालेका छन् । प्रेमबिना जीवन अधुरो र अपुरो नै हुन्छ । यस शीर्षक अन्तर्गत प्रेमसम्बन्ध स्थापित भएका मायालु र संयोग श्रृङ्गारलेयुक्त मुक्तकले प्रेमीप्रेमिका रमाई–रमाई मुक्तकको प्रयोग गरी आफ्नो प्रेम अझै गाढा बनाउन सक्ने छन् ।

समय र परिस्थिति, सामाजिक तथा धनसम्पति अन्तर्गतका मुक्तकमा युवा वर्गलाई संयमतापूर्वक अगाडि बढ्न संकेत गरिएको छ । यस्तै हरेक पेशामा आवद्धहरु पेशाप्रति बफादार रहन अनुरोध गरिएको छ । आत्मज्ञान शीर्षकमा आत्मज्ञान प्राप्त हुने अधिकांश मुक्तकहरू रहेका छन ।

जुन मुक्तकहरुलाई बोध गरेर थोरै मात्र व्यावहारमा उतार्न सकियो भने पनि जीवन सार्थक हुने बाटोमा लाग्दछ । जीन्दगी शीर्षकका मुक्तकमा आफ्नो जिन्दगीको अन्तिम अवस्थाका क्षणहरु, यो जुनिप्रति वितृष्णा जागृत भएको, असल सन्तान नभएकोमा चिन्ता प्रकट भएका प्रसङ्गले स्थान पाएका छन् । अन्त्यमा आगामी दिनमा मानव भएर यो जिन्दगी ज्यूँदाखेरिका मजा, खुशि र आनन्दले भरिपूर्ण मुक्तकहरु प्रकाशन होउन् भन्ने कामना छ ।

सन्दर्भ सामग्री:
नेपाली वृहत् शब्दकोश (२०७७) नेपाल प्रज्ञा–प्रतिष्ठान. प्रज्ञा छापाखाना ।
रानाभाट, नेपाल (२०७५) समयका स्वरहरु. नेपाल मुक्तक प्रतिष्ठान ।
रिजाल, नवराज (२०७५) नवप्रज्ञापन. पूर्णाङ्क ८०. इमेज प्रिन्टर्स ।
सम्पादक-संयोजक
गुराँस राष्ट्रिय विविध पत्रिका
गलकोट, बागलुङ

प्रतिक्रिया दिनुहोस्