प्रेमप्रसादको प्रहार



इमान्दारीका साथ व्यापार–व्यवसाय गरेर बस्छु, यस मुलुकको सेवा गर्छु भन्ने नागरिकको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो । राज्यको नीति, व्यवस्था र आचरणका कारण कुनै नागरिकले आत्महत्या गर्ने अवस्था आउँछ भने यसलाई मुलुककै लज्जाको विषय मान्नुपर्छ । मंगलबार संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दा घाइते भई उपचारका क्रममा मृत्यु भएका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले राज्य र समाज दुवैलाई एकसाथ चोटिलो प्रहार गरेका छन् ।

यतिखेर आचार्यको असामयिक तथा कठोर मृत्युको घटनाले मुलुक तताएको छ । आचार्यलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा बुधबार प्रदर्शन पनि गरिएको छ । यससँगै अन्य व्यक्तिले पनि आचार्य जसरी आत्मदाह गर्नखोज्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।् । इलामको सूर्याेदय नगरपालिका–११, केराबारीका ३६ वर्षीय आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबूकमा ६ हजारभन्दा बढी शब्दको लामो टिपोट लेख्नुभएको छ । ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी….’ भन्दै आरम्भ गरिएको आत्मवृत्तान्तमा ‘यो एक आत्मवृत्तान्त पनि हो र मेरो असफलताको कथा पनि हो’ भनिएको छ । आत्मवृत्तान्तमा सरकारको नीति, त्यसको कार्यान्वयन र सेवाप्रदायकहरुको व्यवहारले आम नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने मार्मिक चित्रण छ । इलाम, फिक्कलको पैतृक सम्पत्ति बेचेर काठमाडांैको बुढानीलकण्ठमा घर बनाएका आचार्य आर्थिक रुपले निम्न–मध्यम वर्गका व्यक्ति देखिनुहुन्छ । ठमेलमा ट्राभल एजेन्सी खोलेका, उधारो बजारले गाँज्न थालेको र पर्यटन व्यवस्थापनमा नीतिगत विचलनका कारण आचार्यले व्यवसाय बदल्नुभयो । इलामका चिया बगानमा काठमाडौंका कलेज र विद्यालयहरुबाट विद्यार्थी भ्रमण गराउने अवधारणाका अभियन्तामध्ये एक आचार्य शिक्षण संस्थाहरुबाट समेत ठगिनुप¥यो । अन्य ढुवानीका काम गर्नुभयो, तर व्यसबाट पनि लुटिनुप¥यो । ‘मेरो देश गर्व गर्न लायक बनोस्, बिदेशिएका लाखौं युवाहरुले यही देशमा केही गर्न सकून् भन्दै यो शरीर बलिदान दिदैछु, अल बिदा’ भनेर आत्मदाह गरेका आचार्यसँग नेपालको उन्नतिका लागि केही गर्ने सोच पनि देखिन्छ । राष्ट्रिय उत्पादनका उपभोग्य वस्तु सहुलियत दरमा उपभोक्ताले पाउनुपर्ने, कृषक र साना उत्पादकले उधारोमा भाटभटेनी र मलहरुमा सस्तोमा सामान बेच्नुपर्ने आदि बाध्यताले साना उद्यमी निर्धन बन्दैगएको आचार्यको चिन्ता छ । आफू मरेपछि श्रीमती र दुई छोरीले दुःख पाउने कुरामा सचेत आचार्यले श्रीमतीलाई न्याय दिन र आर्थिक सहयोग गर्न सबैसँग विनीत अनुरोध पनि गर्नुभएको छ ।

देशमा उद्योग, व्यापार–व्यवसाय चलेन, मुलुक निर्धन भयो भनेर कोकोहोलो गरिरहेका बेला आचार्यको आत्मवृत्तान्तले समस्याको मर्ममै प्रहार गरेको छ । राजनीतिक नेता र अग्रज भनिने व्यक्तिहरुबाट संक्रमित हुँदै बेइमानी, ईश्र्या, आक्रोशजस्ता अमानवीय आचरण आम जनतासम्म पुगेको छ । अपवादलाई छोडेर हरेक व्यक्ति आत्मकेन्द्रित छ, आफ्नो दुनो सोझिए उसलाई पुग्छ, छिमेकीको नाक काटेर आफ्नो तिघ्रो टाल्न उद्दत देखिन्छ आम मानव । टोल–टोलमा भगवानका मन्दिर छन् तर मानवीय धर्मले ओतप्रोत मनहरुको अनिकाल छ । राज्यको नीति र व्यवहारबाट प्रताडित भए तापनि मानवीय धर्मले सिञ्चित मनहरुको उदात्त वातावरण हुन्थ्यो भने आचार्यको यो असामयिक अवसान हुनेथिएन । त्यसैले समाजभित्रका सबै अंगहरु आचार्यको आत्मदाहमा धेरथोर दोषी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्