बलात्कार आरोपी वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि थुनामा 



बारा । 

निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठले किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

आदेशअनुसार प्रहरीले उनलाई मंगलवार वीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताउनुभयो । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानुनी व्यवस्था छ । पहिलो सुनुवाइ हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको उहाँले बताउनुभयो ।

६ नम्बर इजलासकी न्यायाधीश तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरे अनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दै अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेर अभियुक्त तीन महिनादेखि फरार रहेका थिए ।

गत असोज १९ गते छिमेककी १४ वर्षीय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोपमा पीडित किशोरीले असोज २५ मा उनीमाथि किटानी जाहेरी दिएकी थिइन । उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबरजस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार आरोपित श्रेष्ठले बाहिर बस्दा पनि असुरक्षित महसुस गरेर पुस १६ मा आफै प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान थालेको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो । श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रक्रिया टुङ्ग्याएर सोमवार सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमवार अदालतमा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्