विश्व सम्पदामा प्रस्तावित पनौती : न नक्सापास न मापदण्ड परिपालना



पनाैती  । 

विश्व सम्पदामा प्रस्तावित पनौती  शहरमा विश्व सम्पदालाई नै चुनौती दिने गरी अनधिकृत भौतिक संरचना घर निर्माण कार्य भइरहेको छ ।

यसको उदाहरणको रूपमा अहिले पनौती नगरपालिका वडा नंं ७ स्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरको मुलढोकाको पश्चिमतर्फ निर्माण भइरहेको घरलाई लिन सकिन्छ ।

यहाँ नक्सा पासको प्रक्रिया समेत थालनी नगरि तथा प्रचलित मापदण्ड विपरीत अनधिकृत संरचना घर निर्माण भैरहदा पनि स्थानीय सरकार मौन छ ।  विगत दुई महिनाका बिचमा स्थानीय सरकारलाई समेत चुनौती दिई निर्माण कार्यलाई निरन्तरता दिइएको छ । राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैर जिम्मेवार पूर्ण रवैयाको कारण पनौती विश्व सम्पदाको सूचीकरणमा जटिलता देखिएको पछिल्लो उदाहरण हो यो ।

पनौती नगरपालिका तथा पुरातत्त्व विभाग, काठमाडौँ समेतले पटक पटक सचेत र   सतर्क गराउँदासमेत उक्त अनधिकृत संरचना निर्माण कार्य नरोकिएको पाइएको हो । पनौतीको विशेषता तथा विश्व सम्पदा सूचीकरणमा नै चुनौती थपिने यो सवाल स्थानीयवासीहरुमा नयाँ चिन्तनको विषय भएको छ । यस विषयमा पनौती नगरपालिकाको नक्शापास शाखामा सम्पर्क राख्दा नगरपालिकाले निर्माण कार्य रोक्न पत्राचार गरिएको जनाएको छ ।

पनौती नगर पालिकाका  प्रमुख रामशरण भण्डारीले पनौतीको सम्पदा संरक्षण र विश्व सम्पदा सुचीमा सूचीकरण गर्न सबैको सहयोग आवश्यक भएको बताउनु हुन्छ । स्थानीय अभियन्ता जयराम कर्माचार्यका अनुसार सम्पदा हाम्रो पहिचान हुन, संरक्षण गर्नुपर्छ भनेर चेतनाको सञ्चार त पुगेको छ, तर के गर्दा संरक्षण हुन्छ भनेर सञ्चार गर्नु चाहिँ महत्त्वपूर्ण हुने बताउनुभयो । आफ्नो पदीय दायित्व, कानुनी दायित्व निर्वाह गर्ने भन्दा पनि आफ्नो उपस्थिति मात्रै देखाउने प्रवृत्तिका कारण विश्व सम्पदा सुचिकरनम थप जटिलता तथा चुनौती थपिएको उहाँ बताउनुहुन्छ ।

फुलको गुच्छा र अबिर होइन प्रश्न र खबरदारी सम्पदा संरक्षणगण अभियानमा निरन्तरता दिई रहने बताउँदै कर्माचार्य भन्नुहुन्छ– हामीले पनौतीको विशेषताका बारेमा समाचार त धेरै सुनियो, तर यो भन्दा पनि सूचीकरणका अवरोधक को को हो ? त्यो न स्मारिकामा निस्कियो, न प्रोफाइलमा निस्कियो न कुनै प्रतिवेदनमा नै सार्वजनिक भयो । स्थानीय निकायको सम्पदा संरक्षणमा सामर्थ्य शक्ति देखाउन ढिला गर्न नहुने उहाँको तर्क छ ।

महत्पूर्ण क्षेत्र वरिपरि अनधिकृत संरचना निर्माण नरोकिएमा आगामी दिनमा विश्व सम्पदा सुचिककरनमा पूर्ण अवरोध हुने भएकोले विश्व सम्पदामा सूचीकरणका लागि पनौती प्रस्तावलाई साकार बनाउन सबैको जिम्मेवारी रहन्छ । यस्ता स्थानीय प्रणाली एवं भवन निर्माण आचार संहिता समेतलाई असर हुने गलत अभ्यासलाई निरुत्साहित गर्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने  स्थानीय समाजसेवी केशव थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्