स्पट म्याच फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न : सीआईबी



काठमाडौं । नेपालमा हालै सम्पन्न टी–२० लिगमा विभिन्न व्यक्ति संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो प्रतियोगितमा ‘स्पट म्याच फिक्सिङ’ भएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

उक्त प्रतियोगिता गर्न नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई जिम्मा दिएको थियो । उक्त प्रतियोगितामा विभिन्न भूमिकामा रहेका व्यक्तिहरू नै संलग्न रहेको भन्दै सीआईबीले खेलाडी, खेल पदाधिकारी तथा आयोजकलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सीआईबीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उक्त म्याचमा ४ नेपाली र ६ विदेशी संलग्न रहेको जानकारी दिएको छ । कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा म्याच फिक्सिङ भएको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले सीआईबीलाई छानबिन गर्न निर्देशन दिएको थियो ।

सीआईबीले नेपाल टी–२० लिगमा म्याच फिक्सिङको मुख्य योजनाकार भारतीय नागरिक जतिन अलुवालिया भएको बताएको छ । अलुवालिया सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक अलुवालिया नेपालबाट भागेर अहिले भारत पुगिसकेको बताइएको छ । उक्त प्रकरणमा सो कम्पनीको कार्यकारी अधिकृत अभिशेख सक्लानी, टिमका विदेशी टिम म्यानेजर, एक खेलाडी, एकजना टिम सपोर्ट कर्मचारी र एकजना ब्रोकर रहेको सीआईबीले दाबी गरेको छ ।

म्याच फिक्सिङमा संलग्न रहेको अभियोगमा प्रहरीले पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका क्रिकेटर आदिल अन्सारीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ । प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय थापाले जानकारी दिनुभयो ।

प्रहरीले गरेको अनुसन्धानमा म्याच फिक्सिङका लागि ५ वटा प्रस्ताव आएकोमा खेलाडीहरूले उक्त कुराको जानकारी एन्टी करप्सन ब्युरोलाई जानकारी गराएका थिए । म्याच फिक्सिङको प्रस्ताव आउँदा खबर नगर्ने दुई खेलाडी पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उक्त म्याच फिक्सिङ प्रकरणमा नेपाल क्रिकेट संघ (क्यान) र खेल आयोजना गर्ने सेभेन थ्री स्पोर्टसका पदाधिकारीको पनि संलग्नता रहेको सीआईबीले दाबी गरेको छ ।

भारतमा केही खेल खेलाएकै भरमा क्यानले नेपालमा लिग चलाउन दिनु कमजोरी रहेको टिप्पणी गर्दै सीआईबीले यसरी लिग सञ्चालन गर्न दिनुअघि नै कम्पनीको पृष्ठभूमि नहेरेको भन्दै क्यानका पदाधिकारीलाई सचेत पनि गराएको छ ।

नेपालमा आयोजना भएको उक्त लिगमा स्पट फिक्सिङ भएको समाचार सार्वजनिक भएपछि आईसीसीको टोली नेपाल आई घटनाको बारेमा जानकारी लिएर फर्किएको थियो ।

सीआईबीले उक्त खेलमा संलग्न रहेका २ जनाबाहेक अन्यको नाम भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्